Tuesday, April 12, 2016

दुर्घटना गरी भाग्नेलाई पछ्याउन प्रहरीका यस्ता बुलेट मोटरसाइकल

चैत्र २९, २०७२- सवारी दुर्घटना गरेर तपाईं भाग्न खोज्दै हुनुहुन्छ ? जहाँ पुगे पनि तपाईंलाई ट्राफिक प्रहरीको मोटरसाइकलले पछ्याउने छ । दुर्घटना गराएर भाग्ने सवारीचालक समात्न उपत्यका ट्राफिक प्रहरी महाशाखाले ‘मोटरसाइकल विशेष ईकाई’ गठन गरेको छ । उक्त ईकाईले सवारी दुर्घटना गरी भाग्ने  चालकलाई पक्रेर कानुनी कारबाहीको दायरामा ल्याउने छ ।
महाशाखाका डीआईजी प्रकाश अर्यालले सडक दुर्घटनालाई न्यूनीकरण यसले सघाउने बताए । ‘उपत्यकामा जति जनसंख्याको चाप बढदै जान्छ, त्यहीअनुसारको सवारीको संख्या बढ्छ, दुर्घटना गराउने र भग्ने क्रम पनि बढ्छ,’ उनले भने, ‘नयाँ विधि र तरिका अपनाएर दुर्घटना न्यूनीकरण गर्न अभियान चलाएका हौं ।’ ‘सुरक्षाका लागि तपाईंको, गति बढदै छ.....’ भन्ने नारासहित अभियान सुरु गर्न थालिएको हो ।
उपत्यका मुख्य–मुख्य चोकमा मोटरसाइकलसहितका ट्राफिक प्रहरीलाई तयारी अवस्थामा राखिने छ । यसका लागि प्रहरी प्रधान कार्यालयले ५ सय सीसीका १७ वटा बुलेट मोटरसाइकल उपलब्ध गराएको छ ।
सडक लेन मिच्नेलाई कारबाहीका लागि पनि मोटरसाइकलको प्रयोग गरिने भएको छ । ‘दुर्घटना गराएर भाग्ने प्रवृत्ति निरुत्साहित गर्न अभियान चलाएका छौं‌,’ उनले भने, ‘नागरिक सुरक्षा दिनु हाम्रो कर्तव्य हो ।’ चैत ८ देखि सञ्चालन भएको लेन अनुशासन कारबाहीमा ६ हजार ४ सय ३५ जना परिसकेको डीआईजी अर्यालले बताए ।

डिग्रीलाई १० लाख, स्नातकलाई ७ लाख र प्लस टुलाई ५ लाख

सत्तारुढ नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउनु पर्ने माग राखेका छन् । अवसर र लगानीको अभावमा दक्ष जनशक्ति विदेश पलायन भएको भन्दै अनेरास्ववियुले प्रमाणपत्र धितो राखेर ऋण पाउनु पर्ने माग राखेको हो । सिंहदरबारमा सोमबार अर्थमन्त्री विष्णु पौडेल ज्ञापनपत्र बुझाउदैं अनेरास्ववियुले आगमी बजेटमा यस्तो प्रबन्ध गर्न माग राखिएको अध्यक्ष नविना लामाले नयाँ पेजलाई बताईन् । स्नातकोत्तर तह उत्र्तीण गरेकालाई रु दश लाख, स्नातक उत्र्तीण गरेकालाई रु ७ लाख र प्लस टु गरेकालाई रु पाँच लाख उपलब्ध गराउन माग राखिएको उनले जानकारी दिइन् । उनले भनिन्,‘यदि यसो गरि दक्ष जनशक्ति नेपालमै बस्नेछन् । र, मुलुक निर्माणमा सहभागी हुनेछन् ।’
nepalistudent
शैक्षिक प्रमाण पत्र राखेर धितो पाउने व्याबस्था जसरी पनि गराउने उनको अठोट छ । उनले भनिन्,‘हामी जसरी पनि यो अभियानलाई जसै सफल बनाउनेछौं ।’ यो अभियानको लागि सबै पक्षसँग समन्वय र छलफल गरिने उनको भनाई छ ।
अनेरास्ववियुले आगामी बजेटमा कम्तिमा पनि २५ प्रतिशत बजेट शिक्षामा छुट्याउन माग पनि गरेको सचिव आरसी लामीछानेले बताए । दक्ष जनशत्ति विना मुलुकको समृद्धि सम्भव नरहेको भन्दै उनले समृद्धिको लागि शिक्षामा लगानी आबश्यक भएको बताए ।
अर्थमन्त्री पौडेलले ज्ञापनपत्र बुझ्दै अनेरास्ववियुको माग सकारात्मक भएको बताए । उनले कार्यान्वयन गर्न पहल गर्ने जानकारी दिएको महासचिव ऐन महरले जानकारी दिए । – नयापेज

मलेसियामा ताताेहावाकाे त्राहिमाम : नेपाली कामदारहरू प्रभावित : सयाैँ बिद्यालयहरू बन्द

क्वालालम्पुर । तातो हावाका कारण मलेसियामा पनि प्रभाव परेको समाचार छ । तातो हावा चलेपछि सडकमा निस्किन निकै गाह्रो भएको बताइएको छ । जसका कारण मलेसियाका सयौं विद्यालय बन्द गरिएको छ । विश्वव्यापी रुपमा बढेको तापक्रमका कारण खाद्य उत्पादनका साथै अन्य जीवनशैलीमा पनि प्रभाव परेको समाचारमा उल्लेख गरिएको छ ।
मलेसियाको पलिएस् र पाहाङ क्षेत्रमा कम्तीमा ३७ डिग्री तापक्रम पुगेको छ । ती क्षेत्रको तापक्रम निरन्तर रुपमा बढ्दो मात्रामा देखिएको छ । जसका कारण ती क्षेत्रका २५० भन्दा बढी स्थानीय विद्यालय बन्द गर्न लगाइएको बताइएको छ । मलेसियाको शिक्षा मन्त्रालयले सो जानकारी दिएको हो ।
मलेसियासो मन्त्रालयले ती क्षेत्रमा रहेका एक लाख भन्दा बढी विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखी उक्त निर्णय गरिएको जनाएको छ । मलेसियाली सरकारी समाचार समिति, बर्नामाले दिएको जानकारीअनुसार ती क्षेत्रमा नागरिकको स्वास्थ्यमा व्यापक मात्रामा प्रभाव परिरहेको छ ।
यसका कारण गहुँको खेती, रबर प्लान्टको उत्पादन र हरियो तरकारीको उत्पादनमा पनि प्रभाव परेको छ । उत्पादनमा कमी आएको र यसले गर्दा तरकारीमा महङ्गी सुरु भएको जनाइएको छ ।
मलेसियाका विभिन्न भूभागमा गएको जनवरी र फेब्रुअरी महिनामा विगतका वर्षहरुको तुलनामा तापक्रममा निकै बृद्धि भएको छ । यसवर्ष ३७ डिग्री सेल्सियस पुगेको सो क्षेत्रको तापक्रम यसअघि कहिल्यै त्यति पुगेको थिएन । यसवर्ष विश्वका अरु पनि कैयौं देशमा एलनिनोको प्रभाव र जलवायुमा भएको अस्वाभाविक परिवर्तनले गर्दा तातोपनामा बृद्धि जारी रहेको छ ।

नयाँ वर्षमा नेपाल टेलिकमको छुट

फोटो :फाइल
काठमाडौँ: नेपाल टेलिकमले नयाँ वर्ष २०७३ को अवसरमा ग्राहकलाई विभिन्न सेसामा विशेष छुट उपलब्ध गराउने भएको छ । टेलिकमले जिएसएम तथा सिडएमए मोबाइल सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएसको महसुल दरमा छुट दिने तयारी गरेको हो ।

चैत ३० देखि २०७३ वैशाख १ गतेसम्म दुई दिनका लागि एसएमएसको विद्यमान महसुल दरमा ५० प्रतिशत छुट उपलब्ध गराउने छ । 
 
जिएसएम प्रिपेड र पोस्टपेड सेवाका ग्राहकलाई ति प्याकेज तीन दिनका लागि चैत ३० देखि २०७३ वैशाख २ गतेसम्म उपलब्ध गराइने टेलिकमका प्रवक्ता प्रतीभा वैद्यले जानकारी दिए । 
 
टेलिकमले डाटा सेवाअन्तर्गत १०० एमबी साइजको डाटा ५० मा खरिद गरी ७ दिनसम्म प्रयोग गर्न सकिने जनाएको छ । रासस 
 

खोटाङबाट काठमाडौं आउदै गरेको यात्रुबस दुर्घटना, १३ जनाको मृत्यु

३० चैत, काठमाडौं । खोटाङबाट काठमाडौं आउदै गरेको यात्रुबस दुर्घनामा परेको छ । खोटाङ महादेवस्थान-१ काभ्रेमा यात्रुवाहक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको खोटाङ प्रहरीले जनाएको छ । दिक्तेलबाट काठमाडौंका लागि छुटेको बा २ ख ६३७६ नम्बरको बस विहान महादेवस्थान-१ काभ्रेको भिरबाट खसेको हो । विहान ५ बजे काठमाडौंका लागि छुटेको यात्रुवाहक बस बाटोबाट झन्डै तीन सय मिटर तल खसेको छ । घटनास्थलमा उद्धारको लागि पुगेको प्रहरी टोलीले १३ जनाको शव निकालेको छ । दुर्घटनामा २१ जना पुरुष र ५ महिला घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनास्थल सदरमुकार दिक्तलबाट ३५ किलो मिटर पश्चिमा पर्दछ । दुर्घटनाकाे कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।विहान ५ बजे काठमाडौंका लागि छुटेको यात्रुवाहक बस बाटोबाट झन्डै तीन सय मिटर तल खसेको प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए। यस्तै घटनास्थलमा उद्धारमा खटिएका प्रहरी जवान खगेन्द्र तोलामीका अनुसार अहिलेसम्म १३ जनाको शव बसबाट निकालिएको छ ।दुर्घटनामा २६ जना घाइते भएका छन् जसमध्ये पुरुष २१ जना र महिला ५ जना रहेका छन् । दुर्घटनास्थल सदरमुकार दिक्तलबाट ३५ किलो मिटर पश्चिमा पर्दछ । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बसमा ४० भन्दा बढी यात्रु सवार थिए। दुर्घटनाको जानकारी पाउना साथ प्रहरीको टोली घटनास्थलमा पुगेको र उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।

बस्ती नबसाउने सर्तमा तातोपानी नाका खोल्दै चीन


चैत्र ३०, २०७२- चीनले आसपासमा सरकारी भवनबाहेक अन्य बस्ती नबसाउने सर्तमा तातोपानी नाका खुला गर्ने अनौपचारिक जानकारी सरकारलाई दिएको छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार चीन सरकारका प्रतिनिधिले विभिन्न तहमा यस्तो जानकारी गराएका हुन् । तिब्बत सरकारले तातोपानीको विषयमा बेइजिङको निर्देशन आवश्यक पर्ने र त्यहीअनुरूप काम भइरहेको जानकारी सरकारलाई दिएको छ ।
भूकम्पपछि चीनले खासास्थित आफ्नो भन्सार र अन्य कार्यालय हटाएको छ । चिनियाँ सेनाको एक टुकडी र अन्य सुरक्षा निकायले त्यो क्षेत्रको सुरक्षा भने दिइरहेका छन् । चीनले खासाको बजारलाई न्यालोममा लैजाने तयारी गरेको अनौपचारिक जानकारी दिएको छ । खासाबाट १५ किलोमिटर पर रहेको न्यालोम तातोपानीको सुख्खा बन्दरगाहबाट २७ किलोमिटर टाढा पर्छ । चीनले सामानका लागि डिब्बा आवतजावतमा मात्र ध्यान दिने स्पष्ट हुँदा पनि त्योअनुरूप काम नहुनु दु:खद भएको परराष्ट्रका अधिकारीहरू बताउँछन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले पनि तातोपानी नाका खुलाउने विषय कूटनीतिक स्तरमा छलफल भइरहेको जानकारी दिए । ‘भूकम्पले त्यो क्षेत्रको भूभाग र संरचना बिगारेका कारण केही ढिलाइ भएको हो । त्यस्तो ऐतिहासिक नाकालाई चीनले बन्द गर्छ जस्तो लाग्दैन । मोडलहरूमा छलफल हुने र खुल्नेमा दुईमत छैन,’ उनले स्पष्ट पारे ।
परराष्ट्रका एक अधिकारी भन्छन्, ‘तातोपानी नाका नेपाल–चीन सम्बन्धको इतिहास हो, यसलाई बन्द गर्ने योजना चीनको छैन, तर भूकम्पअघिको अवस्था झैं खुला गर्ने पक्षमा पनि चीन छैन ।’

Sponsored
 

भूकम्पका बेलामा रोकिएका सयौं कन्टेनर अहिले पनि खासामा नै अलपत्र छन् । चीनले त्यो कन्टेनर पठाउने प्रक्रिया अघि बढाए पनि स्थानीय अवरोधले आउन सकेको छैन । कतिपय कन्टेनर फर्केका छन् । ल्हासामा महावाणिज्य दूतको जिम्मेवारी सकेर डेढ महिनाअघि फर्केका हरि बस्यालले आफू त्यहाँ रहँदा नाका खुलाउन लगातार प्रयास गरेको र उनीहरूले त्यो नाकालाई अहिलेको भन्दा फरक तरिकाले सञ्चालनमा ल्याउन चाहेको बताए । भूकम्पमा सहयोग गर्न त्यही बाटोबाट आफ्ना सामग्री पठाएको चीनले कन्टेनर भने नपठाउनु पर्नेको कारण पुष्टि हुन नसकेपछि अहिले कन्टेनर पठाउने प्रक्रिया अघि बढेको अधिकारीहरू बताउँछन् ।
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा तातोपानी नाका खुलाउने विषयले प्रवेश पाएको थियो । तर त्यसमा प्रधानमन्त्री चुकेको अधिकारीहरू बताउँछन् । ‘प्रधानमन्त्री सिचुवान र छेन्दु पुगे, तीन दिन घुमे तर नजिकै तिब्बत सरकारलाई भेट्नुपर्छ जस्तो उनलाई लागेन । त्यो कार्यक्रम पनि बनेन,’ परराष्ट्रका एक अधिकारी भन्छन्, ‘तिब्बत सरकार प्रमुखसँग यो विषयमा कुराकानी भएको भए राम्रो हुने थियो । नेपाली पक्षलाई चासो नरहेको भन्दै तिब्बतीहरूले गुनासो गर्ने स्थान पाएका छन् ।’  
परराष्ट्र अधिकारीका अनुसार चीन खासामा बस्ती बसाल्न चाहँदैन । ‘न्यालोममा नयाँ बस्तीको खाका नबनेसम्म त्यो नाका खुल्दैन । त्यसका लागि तिब्बत सरकारले गृहकार्य गरिरहेको छ । नेपालले त्यसमा कत्तिपनि गृहकार्य गरेको छैन,’ ती अधिकारीले भने । भूकम्पको एक वर्षसम्म पनि तातोपानी नाका खुलाउने विषयमा गम्भीर रूपमा छलफल नै अघि नबढ्नु र नयाँ स्थानमा पनि तातोपानीमा जस्तो भन्सार, ड्राइपोर्ट नबन्नुले चीनतर्फ पनि सम्झौता गर्ने तर काम नगर्ने प्रवृत्ति देखिएको उनको भनाइ छ । चीनले अरनिको राजमार्गको प्रसंग उल्लेख हुनेबित्तिकै स्याफ्रुबेसी–रसुवागढी राजमार्गको मर्मत र सञ्चालनमा जोड दिन गरेको छ ।
ल्हासाका लागि महावाणिज्य दूत रहिसकेका पूर्वमुख्यसचिव लीलामणि पौड्यालले पनि तातोपानी नाका खुलाउन सरकार आफैंले पहल गर्ने बताएका छन् । उनले तातोपानीमा स्थानीय बस्ती नबसाएर भए पनि खुला गर्न आवश्यक रहेको बताए । ‘सरकारको ध्यान त्यस्तो विषयमा जान सक्नुपर्छ, त्यो क्षेत्रका नागरिकको अवस्थालाई हेर्ने मात्र होइन, नाका जोड्ने एक विकल्प लाई पनि बेवास्ता गर्न हुँदैन,’ उनले भने ।  
भूकम्पपछि चीनले खासा क्षेत्रका सबै बासिन्दालाई सिगात्सेमा स्थानान्तरण गरेको छ । चीन तिनीहरूलाई खासामा ल्याउन चाहँदैन । चीनले त्यहाँ खुद्रा ब्यवसायभन्दा पनि गोन्जाओका विजनेस हवका शाखा राखेर व्यापार गर्न खोजेको छ । तर त्यो अनुरूपको कामले पनि द्रुतता पाएको छैन । फ्रि तिब्बतको अभियानमा तातोपानीका बासिन्दासमेत लागि परेको अडकल गर्दै आएको चीनले त्यहाँका पुराना बासिन्दालाई राख्न नहुने सर्त राखेको स्रोतको दाबी छ ।


घोंघी र बगिया खाएर हुर्केकी थारु सुन्दरी वर्षा भन्छिन्–‘मैले त गर्ने त राजनीति नै हो’

तराईमधेशकी चेली वर्षा लेखीलाई मिस नेपालको अन्तिम छनौट चरणमा महिला आरक्षणको आवश्यकता र औचित्यका बारेमा निर्णायकले अन्य प्रतिस्पर्धीसँगै प्रश्न गरे । उनले बडो बौद्धिक, कुशल र चातुर्यपूर्ण उत्तर दिए । उनले भने,–‘जबसम्म समता र समानताको स्थितिमा महिलाहरु पुग्दैनन्, त्यतिञ्जेलका लागि आरक्षण चाहिन्छ ।’ उनको यस निर्धक्क, आत्मविश्वासी र ओजिलो उत्तरको केही बेरपछि नै उनी बनिन् मिस नेपाल इन्टरनेशनल । सौन्दर्य र प्रतिभाको राष्ट्रिय मञ्चमा विरलै देखिने यो दृश्यले तराईमधेशका जनतालाई गौरवान्वित मात्र बनाएन, घुम्टो छोट्टिएर साँच्चिकै नेपालको दक्षिणी फाँटका चेलीहरुले आधुनिकता, खुलापन र क्षमताको नयाँ मापदण्ड बनाएर सँसार चियाउन थालेको सन्देश पनि दियो । पूर्वी नेपालको सप्तरी जिल्लाकी लेखी सुन्दर छिन् । उनको विछट्ट आकर्षक जीउडालभन्दा पनि उनको वाकपटुता, समझ र तार्किकताले जो कोहीलाई पनि प्रभावित गर्छ । सञ्चारक नेपाल डटकमका लागि विजयकुमार यादवले मिस नेपाल इन्टरनेशल लेखीसँग कुराकानी गर्दा उनी निकै तिख्खर भएर प्रस्तुत भइन् । प्रस्तुत छ, लेखीसँगको कुराकानीको सारसंक्षेप ।
barsha_lekhi_main

वर्षा लेखी को हुन् ?
म चैँ झट्ट आफ्नो परिचय दिँदा सर्वप्रथम आफ्नो नाउँ नै आउँछ । म चैँ वर्षा लेखी । यसबाहेक दोस्रो कुरो भनेको मैले भर्खरै टाइटल विन गरेँ । सो निश्चितरुपमा म आफूलाई मिस नेपाल इन्टनेशनल २०१६ को रुपमा परिचित गराउँछु । मेरो शैक्षिक पृष्ठभूमि वातावरण विज्ञान हो । त्यसैले क्यारियरको दृष्टिले आफूलाई पर्यावरणविद्को रुपमा भन्न रुचाउँछु ।
वातावरण विज्ञानजस्तो गम्भीर एवं गहिरो विषयमा रुचि नै राख्नु र औपचारिकरुपमा अध्यय्न नै गर्नु र यसभन्दा निकै फरक क्षेत्र सौन्दर्य प्रतियोगिताको हिस्सा हुनु आधारभूतरुपमै अनौठो लाग्छ । कसरी आइपुग्नु भयो सौन्दर्यको संसारमा ?
मिस नेपाललाई हेर्ने हाम्रो दृष्टिकोण एकदम फरक छ । यसलाई हामीले ग्ल्यामरको रुपमा मात्र हेर्छौ । हामीले मोडलिङ, ब्यूटीपेजेन्ट आदिका रुपमा हेर्छौ, त्यो चैँ एकदमै त्रुटीपूर्ण दृष्टिकोण हो । यो ग्ल्यामर, मोडलिङ र ब्यूटी पेजेन्ट आदि मात्र हुन् भन्ने जस्तो मलाई लाग्दैन । ब्यूटीपेजेन्ट एउटा अवसर हो । आफ्नो कमीकमजोरीलाई हटाउनका लागि । आफूलाई सशक्त र सबलीकृत बनाउँदै आफ्नो भविष्यलाई अझै तिखार्ने औसर हो । नेतृत्व क्षमता विकसित गर्ने मौका पनि । मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरन्याशनलको आआफ्नो ठाउँमा छुट्छुट्टै महत्व छ । जस्तै मिस नेपाल वल्र्डले मिस वल्र्डमा गएर आफ्नो ट्यालेन्ट देखाउने हो । मिस अर्थ भनेको वास्तवमा वातावरणसँग जोडिएको हो । जलवायु परिवर्तनको दृष्टिले निकै जटिल र संवेदनशील अवस्थामा हाम्रो देश छ । मिस अर्थमा हुँदाखेरि हामीहरुले यसबारे डक्यूमेन्ट्री बनाउछौं । यसले हाम्रो देशका यस्ता समस्यालाई विश्वस्तरमै वकालत गर्छ । हुन त धेरैले मिस नेपाल मेरो लागि चाइल्ड ड्रीम हो भन्छन् । मिस नेपाल बन्ने बच्चैदेखिको मन थियो भन्छन् । तर मिस नेपाल चैँ मेरो बच्चादेखिको सपना थिएन । चाइल्डहुड ड्रीम थिएन । मैले चैँ भर्खरै जब दुई तीन महिनाअघि फर्म खुल्यो म खाली थिए । मास्टर्सका लागि एप्लाइ गर्न गइरहेकी थिएँ । यो समयलाई सदुपयोग गरेर छिरेको थिएँ वातावरणलाई संरक्षण गरौं भन्ने सन्देशका साथ । किनकी मेरो बुझाइ के थियो भने यस सन्देशलाई एउटी सामान्य केटीका रुपमा मैले भन्दा त्यति प्रभावकारी नहोला तर मिस नेपाल ले भनेपछि मान्छेले अनुसरण त गर्छन् नि त । त्यसैले नै म मिस नेपाल प्रतियोगितामा सहभागी भएँ ।
तपाईंले चिताए झैं कार्यअनुसारको टाइटल नजिक पुग्नुभयो ?
हो, ठ्याक्कै त्यही भयो भनौं न ।
मिस नेपाल इन्टनेशनल भएपछि तपाईंको अपेक्षा पुरा भयो त ?
हुन त मिस नेपालको फर्म भर्नु भनेकै मिस नेपाल टाइटल हात पार्नलाई हो । जित्ने अपेक्षा लिएर नै मिस नेपालको फर्म भरिन्छ । तर जित्नु नै पर्छ भन्ने मेरो पहिलो प्राथमिकता थिएन । किनकी मिस नेपालको छ हप्ताको ट्रेनिङ सेसन्सहरुमा विविधता थियो । खाली हिँडन् र बोल्न सिकाउने मात्र नभएर कन्फिडेन्ट हुने तथा आफूमा भएका स्कील्सहरुलाई अझ निखार्ने खालका थिए । छहप्ताअघि म जस्ती थिएँ , त्यस्तो छैन अहिले । इन्टाइरली डिफरेन्ट भएकी अनुभव गर्दैछु ।
तपाईंको शिक्षादीक्षा र लालनपालन काठमाडौंमा भयो तर पारिवारिक र सामुदायिक पृष्ठभूमि बेग्लै छ । छोरीचेलीलाई भरसक आँगनभित्रै राख्ने संस्कार भएको । कसरी पुग्नुभयो सौन्दर्य प्रतियोगिताको मञ्चसम्म ?
मेरो परिवार एकदमै सर्पोटिभ छ । मेरा मम र ड्याड निकै सहयोगी हुनुहुन्छ । उहाँहरुजस्तो अभिभावक पाएर म धेरै नै खुशी छु । सायद यसैले घुम्टो काढ्ने तराईको थारु भएर पनि यहाँसम्म पुगेँ । त्यस्तो सामाजिक पृष्ठभूमि हुँदाहुँदै पनि मेरो मम र ड्याडले भने एकदमै सपोर्ट गर्नुसँगै प्रेरणा पनि दिनुभयो । थारुहरु धेरै पछाडि छन् र खासगरी ग्ल्यामर फिल्डमा त धेरै नै । शिक्षा पनि बिस्तारै अगाडि बढिरहेको छ । तापनि कति नै छन् र ? मिस नेपालका १९ जनामा म एकली थारु प्रतिस्पर्धी । कति थोरै सहभागिता छ । त्यो पनि पोहोरदेखि बल्ल थारुहरु आउन थाले । पोहोर रेशमा चौधरी थिइन् र यसपाली म । म चैँ के भन्न चाहन्छु भने थारुहरु यति पनि पछाडि छन् त्यसैले म एउटा उदाहरण बन्न चाहेकी छु । मेरो कामले अरु थारुहरुलाई पनि प्रोत्साहन होस् ।
barsha_lekhi2
तपाईंलाई यहाँसम्म पुग्न काठमाडौंको परिवेशले पनि सघायो । हैन ?
जस्तो देश त्यस्तै भेष भन्छन् । त्यसले गर्दा काठमाडौंको प्रभाव पनि होला । तर घरमा बस्दाखेरि म थारु सँस्कृति र परम्पराको प्रभावमा हुर्केकी हुँ । ममीबुबाले थारु संस्कारबाटै लालनपालन गर्नुभयो । घोंघी र बगियाहरु खाएरै हुर्केको मान्छे हुँ म । त्यसैले दुईओटै कुरालाई म मान्छु । मेरो शिक्षा र बसाइँ काठमाडौंमा भएकोले अलिकति कन्फिडेन्ट र फोरवार्ड छु जस्तो लाग्छ मलाई । त्यो हुँदाहुँदै मैले आफ्नो ममीबुबाबाट आफ्नो सँस्कृति र परम्परालाई साथसाथै लग्ने पात्रता पनि पाएकी छु ।
तपाईं सप्तरी त पुग्नुभएको होला नि ?
धेरैपटक । घरै त्यही भए पछि त पुगिहालिन्छ नि ।
तराईमधेशको थारु समुदायलाई कति नजिकबाट चिन्ने प्रयत्न गर्नुभएको छ ?
थारु झापा , मोरङ, सुनसरी र सप्तरीदेखि लिएर कैलाली र कञ्चनपुरसम्म पसारिएका छन् । हामी थारुभित्रै एकदमै विधिता छ के । पूर्व र पश्चिमका थारुबीच पूर्ण भिन्नता छ । मध्य चितवनमा फरक थारु छन् । भाषा, भेष र सँस्कृतिको दृष्टिले । तर त्यति हुँदाहँुँदै पनि म पश्चिमका थारुहरुका चुनौतीबाट एकदमै अवगत छु । जस्तै कमलरीहरु । मिस नेपालको क्रममा कमलरीहरुमै केन्द्रित प्रोजेक्ट बनाएकी थिएँ । पूर्वको मान्छे भए पनि पश्चिमका महिलाहरुका चुनौतीलाई एड्रेस गर्न खोजेकी थिएँ । बट दूर्भाग्यवश मैले मेरो उद्देश्यलाई त पुरा गर्न सकिनँ । तर अहिले गर्न पाइनँ भन्दैमा काम गर्न छोड्नु हुँदैन । म अहिले पनि पश्चिमका कमलरीहरुका लागि काम गर्न चाहन्छु ।
थारुभित्रै एकदमै विधिता छ के । पूर्व र पश्चिमका थारुबीच पूर्ण भिन्नता छ । मध्य चितवनमा फरक थारु छन् । भाषा, भेष र सँस्कृतिको दृष्टिले । तर त्यति हुँदाहुँदै पनि म पश्चिमका थारुहरुका चुनौतीबाट एकदमै अवगत छु । जस्तै कमलरीहरु । मिस नेपालको क्रममा कमलरीहरुमै केन्द्रित प्रोजेक्ट बनाएकी थिएँ । पूर्वको मान्छे भए पनि पश्चिमका महिलाहरुका चुनौतीलाई एड्रेस गर्न खोजेकी थिएँ । बट दूर्भाग्यवश मैले मेरो उद्देश्यलाई त पुरा गर्न सकिनँ ।
तपाई जतिबेला टाइटल हात पार्र्नुभयो त्यतिबेला तपाईंको प्रतिक्रिया के थियो ?
म टपटेनमा आउँछु भनेर एकदमै कन्फिडेन्ट थिएँ । ओभर कन्फिडेन्ट थिएँ भनेर त भनौं तर आफ्नो विश्वास हुन्छ नि । टपटेनबाट जब प्रश्नोत्तर राउण्ड भयो झनै उदेक बढ्दै गयो टपटेनबाट टप फाइभ चैँ हुनैपर्छ भनेर । जब टप फाइभको प्रश्नोत्तर राउण्ड भयो त्यसपछि चैँ टपथ्रीमा आउनुपर्छ है भन्नेजस्तो भयो । उत्साह बढ्दै गयो । जब टप फाइभ भयो , टप थ्री एनाउन्स भइरहेको थियो । हामी पाँचैजना प्रतिस्पर्धी एकअर्काका हात समातेर बसिरहेका थियौं अनि जब टपथ्री एनाउन्स हुन थाल्यो मिस नेपाल इन्टरनेशनल भनेर सङ्गीत गुञ्जिन थालेपछि आँखा मात्र के बन्द गरेकी थिएँ । हुन्छु नि मनमनै प्रार्थना गर्छु नि हे भगवान । हे भगवान भन्न नपाइकनै वर्षा लेखी भन्दिहाल्यो । सो मनमा ढुकढुक हुने मैले टाइम नै पाइनँ । मिस नेपालमा म चैँ त्यो कुरा मिस गर्छु के । सेकेन्ड र फस्र्ट टाइटल जितेका साथीहरुले भन्थे कि मलाई त एकदमै डर लागिरा’ थियो ढुकढुक भइरा थियो । बल्ल मेरो नाउँ एनाउन्स भयो भन्थे । तर मेरो पालाोमा ढुकढुक हुने औसर नै पाएन ।
तपाईंको प्रस्तुति राम्रो थियो तर पनि टपथ्रीको अन्तिममा पर्नुभयो नि ?
म उहाँहरुको परिश्रम र डेडिकेसनलाई मान्छु । मिस नेपालका प्रक्रिया र निर्णयहरु मलाई स्वीकार्य छ । जुन परिणाम आएको छ, यसबाट म पूर्णतया सन्तुष्ट छु । टपथ्री जितेकालाई मात्र नभनौं टपफाइभमा आएकाहरु सबै बराबरको काबिलहरु थिए जस्तो मलाई लाग्छ । र, सबैको छहप्ताको कडा परिश्रमकै नतिजा हो । र, सम्भवतः अन्तिमका स्टेज प्रस्तुतिहरु राम्रा थिए होलान् । उत्तरको क्वालिटी पनि एकदमै राम्रो थियो उहाँहरुको ।
barsha_lekhi1
तपार्इं असाध्यै सुन्दर देखिनुहुन्छ । धेरैले पहिले पनि पछ्याइरहेको थिए होलान् । टाइटल जितिसकेपछिको अवस्था के हुन्छ ?
पछ्याउँदा पनि सकारात्मक र नकारात्मक हुन्छ । म दुवैलाई खुलारुपमा स्वीकार र सराहना गर्छु । कसैले राम्रो भन्छन् होला तर सबै मान्छेले राम्रो भन्नुपर्छ भन्ने छैन । कतिले मन पराउँछन् । कतिले तपाईं एकदमै राम्ररी हुनुहुन्छ भनेर भन्याभन्यै गर्छन् । नराम्रो पनि भन्छन् । तर त्यो कुरालाई मैले एकदमै सकारात्मकरुपमा लिन्छु । उहाँहरुको टिप्पणी र प्रशंसालाई ध्यान दिएर सुधार गर्ने मेरो सोचाइ र धारणा हो । त्यसबाहेक निश्चित नै अहिले हामीलाई देशले धेरै हदसम्म चिन्ने भइसक्यो ।  त्यसैले पछ्याउनेहरु हुन सक्छन् ।
कोही तपाईंसँग नजिकिन खोज्दा तपाईंको प्रतिक्रिया के होला ?
टु एभरी एक्सन देअर इज इक्वल एण्ड अपोजिट रिएक्सन । कस्तो एक्सन हुन्छ त्यसअनुसार नै म नै रिएक्ट गर्छु ।
तपाईंलाई कसैले असाध्यै माया गर्छु भन्न आयो भने के गर्नुहुन्छ ?
डिपेन्ड गर्छ कि कस्तो माया हो । सपोर्टिभ माया हो (लामो हाँसो) एक्ज्याकट्ली डोन्ट नो । एकदमै टिक्री प्रश्न गर्नुभयो । कस्तो लाग्छ भने माया गर्नु भनेको कसैको हक हो । फण्डामेन्टल राइट । राइट टु चुज र राइट टु लभ पनि फण्डामेन्टल राइट हो । तर दवाव र यातना चैँ नहोस् । मन त पराउन पाइहाल्छ नि ।
उसले मन पराओस् तर मैले चैँ मन पराउनुपर्छ भन्ने छैन जस्तो ?
पुरा सिरिइसअली र साइकोटाइपसँग डर लाग्छ ।
यस्तो कोही भेट्नु भएको छ ?
अहँ भेटेको छैन , धन्न ।
माया गर्ने कुरा फण्डामेण्टल हक हो । राइट टु चुज र राइट टु लभ हुनुपर्छ । तर मलाई सिरीयसली लभ गर्ने साइकोसँग डर लाग्छ । धन्न आजसम्म कोही त्यस्ता आएका छैनन् । एउटा पोजिटीभ इनर्जी दिनेखालको माया गर्नेहरु त धेरै छन् मेरो जिन्दगीमा ।
जो अहिले छन् ,साइको छैनन् हो ? 
साइकोभन्दा पनि कसैकसैको पोजिटीभ इनर्जी दिने खालको माया हुन्छ क्या । माया पनि डिफरेन्ट टाइपको हुन्छ नि । यस्तो मायाले धेरै इनर्जी दिइरहेको हुन्छ । यस्ता त धेरै छन् मेरो जिन्दगीमा ।
धेरै छन् ?
माया भन्नेबित्तिकै केटा मात्र हुँदैनन् ।
ब्वायफ्रेन्ड कोही छन् कि छैनन् ?
आइ गेस द दिस इज पर्सनल कोइश्चन ।
सेलिब्रेटी यस्तो भन्नुपर्दा त गौरव मान्छन् नि ?
गौरवभन्दा पनि म यसलाई पर्सनली लिन्छु । त्यसैले म चाहन्न कि उत्तर दिउँ ।
 
त्यसो भए तपाईंलाई ट्राइ नगरे पनि हुन्छ नि ?
ट्राइ वा अनट्राइभन्दा पनि अघि तपाईंले मायाको सन्दर्भ निकाल्नुभयो । म भन्छु कि म साथी र सहयोगी हुन सक्छु ।
तपाईं आफूलाई कतिको खुला मान्नुहुन्छ ?
म आफूलाई एकदम खुला मान्छु । किनकी २१ औं शताब्दीमा पहिलेजस्तो धारणा लिएर हुँदैन । विज्ञान र प्रविधि कताबाट कता पुगिसक्यो । मान्छे अपडेट हुनुपर्छ । पहिलेकै परम्परालाई पछ्याएर हुँदैन । रेसपेक्ट भनेके अर्के कुरा हुन्छ । सबै परम्परा ठिक हुन्छ भन्ने पनि हुँदैन । त्यसैले मोडरनाइजेसन र अहिले जसरी विश्व अगाडि बढिरहेको छ विज्ञानप्रविधिसँग , त्यसअनुरुप नै बढ्नुपर्छ । सोसल मिडिया पनि कहाँबाट कहाँ पुगिसक्यो ।
पहिरनको कुरामा कति आधु्निक हुनुहुन्छ ?
पहिरनको कुरामा म त्यस्तो फेसनेबल मान्छे होइन है । किनभने म के मान्छु भने मान्छेले जे लुगा लगाएको हुन्छ त्यो लुगामा आफू प्रजेन्टेवल वा कम्फर्टेेवल छ भने त्यही हो फेसन । म आफूलाई प्रविधिमा अपडेट त गरेँ तर फेसनमा अपडेट गरेको छुँयन । म चैँ ठयाक्कै उल्टो हुन्छु । बजारमा आइरहेका लुगा किनिरा हुँदिन् । ठयाक्कै उल्टो हुन्छु किनकी कमन हुन्छ के बाटोमा हिन्दाखेरि । त्यही भएर म आफूलाई फेसनेबल पक्कै पनि मान्दिनँ ।
barsha_lekhi_main1
थारु पोशाक लगाउनुहुन्छ ?
एकदम, एकदम । तपाईं मेरो फेसबुक हेर्नुभयो भने प्रायशः थारु पोशाकमै मलाई पाउनु हुन्छ । सोसल मिडियाहरुमा मेरा फोटाहरु थारु पोशाकमै बाहिर आएका छन् । म तपाईलाई के सेयर गर्न चाहन्छु कि मिस नेपालको जुन एप्ल्किेसन फारम थियो नि, त्यसमा एउटा फर्मल ड्रेसअप थियो अर्को र्चैँ साँस्कृतिक । दुबैखालको पोशाकमा भएको फोटो पठाएको थिएँ । म परम्परागत थारु पहिरनलाई लिएर निकै कन्सस छु ।
मिस नेपाल इन्टरनेशनल भएपछि अब जीवनशैली फेरिन्छ होला नि त ?
इमानदारीपूर्वक भन्दा म अहिलेसम्म डिस्को गएकी छुइँन । सायद विज्ञान विषयको विद्यार्थी भएर पनि होला । हुनत यसमा मेरो रुचि पनि कहिल्यै भएन । म नाँच्ने रहर त गर्छु । तर सीमित । घरमा चैँ एकदमै रमाइलो गर्छु ।
अब त परिवेश बदलियो अनि बानीमा पनि परिवर्तन आउँछ होला नि ?
मिस नेपालमा आउने बित्तिकै क्लबहरु जाने, एकदम फेसनेबल लुगा लगाउने, एकदमै ट्रेन्डमा हुनुपर्ने , फोटो खिच्नुपर्ने, मुभी खेल्नुपर्ने र एडरभरटीजमेन्ट गर्नुपर्ने जुन दृष्टिकोण छ त्यस्तो होइन नि मिस नेपाल । त्यो पनि होला तर त्यो मात्र होइन है । त्यही भएर म मिस नेपालको टाइटललाई छिट्टै डिफाइन गर्नसक्छु होला । यति मात्र होइन, हिजोआज सामान्यतया केटीहरु किन डराउँछन् भने मिस नेपालमा गएर पहिरन चैँ जहिले जहिले फेरिराख्नुपर्छ । अप टु डेट हुनुपर्छ । स्टाइलमा बस्नुपर्छ । यो गर्नृपर्छ, त्यो गर्नुपर्छ । र, गाडीमा हिँड्नुपर्छ । त्यो भनेको मिस नेपाल होइन । यो त अवसर हो, जसले नेतृत्व र क्यापिसीटी बिल्ड गर्छ जस्तो लाग्छ मलाई ।
समाजसेवा म कसरी गर्न चाहन्छु भने म राजनीतिमा धेरै रुचि राख्छु । जति पनि सोसलवर्कहरु गरे पनि कुरा गएर ठोक्किने भने पोलिस र गभरनेन्ससँगै हो । बाहिर जतिसुकै अवेरनेस गर्नुस, धर्ना बस्नुस र नारा गर्नुस । आखिर कुराहरु ठोक्किने भनेको पोलिटिक्समै आएर हो । गभर्मेन्ट, पोलिसीज, रुल र एक्टहरुमा आएरै हो । म चाहिँ राजनीतिमा छिरेर राम्रा राम्रा पोलिसीज बनाएर ह्युमनलाई कन्सट्रक्टिभरुपमा सहभागी गराएर अगाडि बढाउन चाहन्छु ।
अबको बाटो के हुन्छ ? 

अरु बाटोभन्दाखेरि मेरो लाइफको दुईओटा गोल छन् । एउटा आफ्नो क्यारियर बनाउने अर्को समाज सेवा । वातावरणशास्त्रमा स्नातकोत्तर गर्ने । त्यो भनेको आर्थिक जीवनलाई सुरक्षित र दिगो बनाउने हो ।
कहिले प्रवेश गर्दै हुनुहुन्छ पोलिटिक्समा ?
छिटै नै । हुन त मैले त्यस्तो बाटो चाहिँ कोरिसकेको छैन । भर्खरभर्खर भिजन राख्दैछु । छिट्टै नै होला सायद् ।
राजनीतिको जटिलता त बुझ्नु भएको छ नि ?
एकदमै एकदमै गाह्रो छ । त्यही भएर म भन्छु कि नक्सा चैँ कोरिसकेको छैन छिटै नै अब हुन्छ । हेरौँ ।
अरु थप केही भन्नुपर्ने छ ?
म एउटा मिस नेपाल इन्टरनेशनल २०१६ को रुपमा म एउटा सन्देश चाहिँ सबैलाई के बाड्न चाहन्छु भने हाम्रो पर्यावरणलाई संरक्षण गर्ने कुरामा सजग। सचेत र सक्रिय हुनुपर्छ । हाम्रो देश प्राकृतिक स्रोतको एकदमै धनी हो तर पनि हामीले यसको फइदा उठाउन सकिरहेका छैनौं । वनजन्य उत्पादन, हाइड्रोपावर आदि कति धेरै प्राकृतिक स्रोतहरु छन् हामीसँग हामी धेरै पछाडि छौं । पर्यावरणीय र पारिस्थितिकीय प्रणालीलाई जगेर्ना गर्दै यसलाई उपयोग गर्नसके हामी समृद्ध हुनसक्छौं ।
चुरेसंरक्षणका लागि पनि तपाईंको कुनै योजना छ ?
चुरेक्षेत्रको विनासले तराईमधेशको जीवनअस्तित्व नै सङ्कटमा छ । पर्यावरणीय क्षयीकरणको एउटा प्रमुख कारण हो । त्यहाँको पर्यावरणीय संरक्षणमा अहिले सरकारी र गैरसरकारीस्तरमा निकै चासो लिइएको छ । तराईमधेशकी छोरी भएकी नाताले स्वाभाविकरुपमै यसको संरक्षणका लागि योगदान पुर्याउनु पर्छ भन्ने मलाई लाग्छ ।
एउटा औपचारिकता पुरा गरौं अन्तिम प्रश्न गरेर कोही न कोही एकदमै विश्वास पात्रका रुपमा होलान् नि । विहाबारी गर्ने योजना छ कि तत्काल ?
तत्काल त नभनौं । म त लक्ष्यलाई पछ्याउने र दृष्टि भएको मान्छे । तर यस वर्षमा भन्ने चाहिँ छैन । म मास्टर्स सकाएर आत्मनिर्भर भएपछि चाहिँ अवश्य पनि गर्नेछु ।
 पोलिटिक्समा प्रवेश गर्नुभन्दा पछि कि अघि ?
पोलिटिक्स भनेको त लाइफमा जहिले पनि चल्छ  । औपचारिक पोलिटिक्स चाहिँ सुरु गरिसकेको छैन  । फ्युचर  कसैले डिफाइन गर्न त सक्दैन हैन तर पनि यस मैले भनिहाले नि करियर बिल्ड गरिसकेर विवाह गर्नेछु ।

७ अभिनेत्री जो बिहेपछि बलिउड फर्केनन्


माइक्रोम्याक्स मोबाइलका संस्थापकमध्येका एक राहुल शर्मासँग बिहे गरेकी असिनले अभिनय छोड्ने निर्णय गरेकी छन्। उनले सामाजिक संजालबाट हाल आफूले कुनै फिल्म गर्न नलागेकोमा स्पष्ट हुन सबैमा आग्रह गरेकी छन। आफ्नो कामप्रतिको लगनशिलताका लागि चिनिने आसिनले बिहेपछी यो निर्णय किन लिइन भन्ने ठोस उत्तर त पाइएको छैन् तर, बिबाहपछि बलिउड छोड्ने उनी पहिलो अभिनेत्री भने होइनन्।
असिन अगाडी पनि थुप्रै चर्चित अभिनेत्रीहरूले बिहेपछि बलिउड छाडेका छन्:
संगिता बिजलानी:
९० को दशकमा आफ्नो सुन्दरता र अभिनयका लागि चर्चित संगिता २० वर्षको उमेरमा सन् १९८० मा मिस इन्डिया बनेकी थिइन्। 'कातिल' फिल्मबाट चलिउडमा डेब्यू गरेकी संगीताले सन् १९९६ मा भारतीय पूर्व क्रिकेट कप्तान मोहम्मद अजहरूद्दीनसँग बिहे गरिन। त्यसपछि उनी बलिउडमा फर्किनन्। हाल उनको सम्बन्ध विच्छेद भइसकेको छ।
मिनाक्षी शेषाद्री: घायल, दामिनी, घातक जस्ता सुपरहिट फिल्मकी अभिनेत्री रहेकी मिनाक्षीले करियरको उच्चतम लयमा रहेको बेलामा बैंकर हरिश मैसुरसँग बिहे गरिन् र बलिउडबाट बिदा भइन्।
किमी काटकर: 'हम' फिल्मको चुम्मा चुम्मा' बोलको गीतका लागि विशेष चर्चित किमीले बलिउडमा 'टार्जन' फिल्मबाट डेब्यू गरेकी थिइन्। सेलिब्रेटी फोटोग्राफर शान्तनु शौरीसँग बिहे गरेपछि उनले पनि फिल्म छाडिन्। हाल उनी अष्ट्रेलियामा बस्छिन्।
नम्रता शिरोड्कर: मिस इन्डिया समेत रहेकी नम्रताले दक्षिण भारतिय स्टार महेशबाबुसँग बिहे गरेपछि बलिउडमा फर्किनन्।
ट्विङ्कल खन्ना: सुपरस्टार अभिनेता राजेश खन्नाकी सुपुत्री जान, जब प्यार किशी होता है, मेला, जोरूका गुलाम जस्ता फिल्ममा अभिनय गरेकी छन्। सन् २००१मा अभिनेता अक्षयकुमारसँग बिहे गरिन् र घरपरिवारमै व्यस्त भइन्।
गायत्री जोशी: शाहरुख खानको जोडी बनेर 'परदेश' फिल्मबाट बलिउडमा डेब्यू गरेकी गायत्रीले व्यापारी विकास ओवरोयसँग बिहे गरेपछि कहिल्यै बलिउडमा फर्किनन्। 'परदेश' उनको पहिलो र अन्तिम फिल्म भयो।
अमृता अरोडा: सन् २००२ मा 'कित्ने दुर कित्ने पास'बाट बलिउडमा डेब्यू गरेकी अमृताको बलिउड यात्रा सुखद् रहेन्। सन् २००९ मा बिहे गरेपछि उनले बलिउडलाई फर्केर हेरिनन्।

प्रधानन्यायाधीश सिफारिसमा सभामुखको आपत्ति

फोटो :सुमेरु अस्पतालमा उपचाररत सभामुख ओनसरी घर्ती ।
अमानवीय तरिकाले भएको निर्णयमा हस्ताक्षर गर्दिन सभामुख
 
काठमाडौं : सभामुख ओनसरी घर्ती मगरले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि आइतवार साँझ बसेको संबैधानिक परिषद्को बैठकको निर्णयमा आफूले कुनै हालतमा हस्ताक्षर नगर्ने घोषणा गरेकी छन् ।
 
ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा अन्नपूर्णसँग कुरा गर्दै सभामुख घर्तीले आफू विरामी भएर आपतकालीन अवस्थामा उपचाररत रहँदा रहँदै आफ्नु पनि सहमती भनी प्रचार गरेर राखिएको सो बैठक अमानवीय भएको पनि बताइन् । उनले भनिन्,‘म अस्पतालमा छु र यो कुरा प्रधानमन्त्रीज्यूलाई पनि थाहा छ तर पनि बैठक राखियो, मानवीय संवेदनाको रत्तिभर ख्याल गरिएन त्यसैले यो अमानवीय तरिकाले गरिएको निर्णय हो, यसमा मैंले हस्ताक्षर गर्ने वा सहमती जनाउने कुरै हुँदैन ।'
 
प्रधानमन्त्रीले भेटेर सहमती लिई बैठकबाट निर्णय गरिएको भन्ने प्रकाशित समाचारप्रति असहमती जनाउँदै उनले प्रधानमन्त्रीलाई केही दिनका लागि बैठक सारिदिन आग्रह गरेको बताइन् । उनले भनिन्,‘उहाँ(प्रधानमन्त्री) मलाई भेट्न आउनु भएको थियो, उहाँलाई मैंले केही दिन बैठक सारिदिन आग्रह गरेकी थिएं, सहमती दिएको होइन । एमाओवादीका नेता नारायणकाजी श्रेष्ठ पनि उहाँसंगै हुनुहुन्थ्यो र श्रेष्ठले पनि केही दिन सारिदिऊं न त भन्नु भएको थियो तर प्रधानमन्त्रीले ढिला भइसक्यो भनेर निस्कनु भएको थियो ।'
 
सभामुख घर्तीले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियाप्रति आफ्नो असहती रहेको पटक पटक दोहोर्‌याइन् । उनले भनिन्,‘सुशीला कार्कीलाई प्रधानन्यायाधीश बनाउने ऐतिहासिक निर्णय गर्दा म आफैं सहभागी हुन चाहान्थे तर मलाई सहभागी गराइएन ।'
 
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने संबैधानिक परिषद्मा सभामुख, प्रधानन्यायाधीश, उपसभामुख र विपक्षी दलका नेता सदस्य रहने संबैधानिक व्यबस्था छ । कानुनअनुसार कुनै एकजनाको अनुपस्थिति भएमा कोरम नपुग्ने भएकाले सो बैठकले निर्णय गर्न सक्दैन । सभामुख घर्तीको असहमतीका कारण आइतवार सांझ भएको नयांप्रधानन्यायाधीशको नियुक्ति सिफारिस विवादमा परेको छ ।

भित्रै होटलको सुविधासहित नयाँ संरचनामा बन्दैछ नयाँ बसपार्क


नयाँ बसपार्क व्यवस्थापनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीयले नयाँ बसपार्कलाई नयाँ ढाँचामा बदल्न लागेको छ। 
 
बसपार्कभित्रै होटल तथा मलको सुबिधाका साथ निःशुल्क रुपमा नर्सिङ काउन्सलिङ स्टेशन समेत स्थापना गर्न लागिएको ल्होत्से बहुउद्देश्यीयका अध्यक्ष दिपक कुँवरले जानकारी दिएका छन्। 
 
गत फागुन २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बसपार्कको स्तरोन्नति गर्नको लागि थप गर्न लागिएका संरचना  निर्माणको उद्घाटन गरेका थिए। अहिले नयाँ बसपार्कमा बन्न लागेको ल्होत्से मलको निर्माण कार्य अघि बढाइएको छ।  
 
तर  निर्माण गर्न लागिएको नयाँ भवनको नक्सा पास भने अहिलेसम्म हुन सकेको छैन। कम्पनीका अनुसार नक्सा पास गर्न दिएको छ महिना बित्न लाग्दा सम्म पनि महानगरपालिकाले नयाँ भवनको नक्सा स्वीकृत गरिदिएको छैन। 
 
नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनको लागि काठमाडौंं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच गत साउन २५ गते एक सम्झौता भएको थियो। त्यसै बमोजिम ल्होत्सेले नयाँ संरचनाको नक्सा तयार गरी महानगरपालिकालाई बुझाइसकेको छ। 
 
कात्तिक महिनाबाट निर्माण कार्य थालनी गर्ने भने पनि नाकाबन्दीका कारण कम्पनीले फागुनमा मात्रै निर्माणको काम सुरु गरेको छ।  नयाँ संरचना निर्माण गरी यसको स्तरोन्नति गर्नको लागि काठमाडौं महानगरपालिकाले ल्होत्सेलाई चार वर्षको समय दिएको छ। तर ल्होत्सेले भने तीन वर्षमै यसको निर्माण सम्पन्न गर्ने योजना बनाएको कुँवर  बताउँछन्। 
 
अध्यक्ष कुँवरले भने ‘चार वर्षको समयावधि रहेको भएपनि हामीले तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने योजना बनाएका छौँ।’ अहिले नयाँ बसपार्कमा रहेका टहरालाई भत्काई नयाँ सपिङ कम्प्लेक्स बनाउन लागिएको छ।  जहाँ फिल्म हल, प्ले स्टेशन, फुड कोर्ट, कफी सप, ब्याकेंट हल र विभिन्न पसलहरु  रहनेछन्। 
 
साथै नयाँ बसपार्कमा लकर र सावर रुमहरुको समेत निर्माण गरिने भएको छ। काठमाडौंमा बाहिर जिल्लाबाट आएकाहरुले एक दिनको लागि पनि अहिले गेष्ट हाउसका कोठा भाडामा लिनुपर्ने बाध्यता छ।  
 
तर त्यो बाध्यता हटाउने भन्दै सावर र लकरहरुको व्यवस्था गर्न लागेको  कुँवरले जानकारी दिएका छन्। लकरको ब्यवस्था भएपछि बिहान काठमाडौं आएको मानिस लकरमा सामान राखेर दिनभर आफ्नो काममा जान सक्छ। दिउँसो काम सम्पन्न गरी बेलुका घर फर्कन चाहनेहरुका लागि यो धेरै नै फाइदाजनक हुने कँुवरको भनाई छ। 
 
 कुँवरका अनुसार सामान राख्नको लागि ठूला र साना लकरहरुको निर्माण गरिनेछ भने  उक्त लकर प्रयोग गरे बापतको शुल्क अत्यन्तै न्युन राखिने छ। कहाँको बस कति बेला छुट्छ भन्ने जानकारी दिनको लागि ल्होत्सेले विभिन्न स्थानमा स्क्रिन समेत राख्ने भएको छ। साथै वेटिङ लाउन्जको निर्माण गरी इन्फरमेशन डेस्कबाट विभिन्न सूचना प्रदान गर्ने ल्होत्सेको योजना छ। 
अब नयाँ बसपार्कको कम्पाउण्डमा सुविधा सम्पन्न होटलहरु समेत बन्न लागेका  छन्।  सुुरक्षा सयंन्त्र बलियो बनाउन  भने नयाँ बसपार्कको सवै स्थानमा सिसिटिभी जडान गर्न लागिएको छ । साथै  प्रहरी पोस्टको लागि समेत  ल्होत्सेले नयाँ भवन निर्माण गर्न लागेको छ। 
 
नयाँ बसपार्कमा  शुरक्षा प्रदान गर्न महानगरपालिकाको नगर प्रहरी, नेपाल प्रहरी तथा ट्राफिक प्रहरीको पोष्टको लागि छुट्टै भवन निर्माण गर्न  लागिएको कुँवरले जानकारी दिए।  
सुरक्षा सयंन्त्रको उपस्थिति सँगै नयाँ बसपार्कमा हुने ठगी तथा गेष्ट हाउसका प्रतिनिधीले यात्रुलाई तानातान गर्ने प्रबृतिको समेत अन्त्य गरिने कुवँर बताउँछन्।  
 
त्यस्तै अब पेट्रोल पम्प र रिपेरिङ तथा सर्भिसिङ सेन्टर ल्होत्से आफैले कम्पाउण्ड भित्र सञ्चालन गर्ने भएको छ। ल्होत्सेले नयाँ बसपार्कको व्यवस्थापन गर्न पाउने जिम्मा ३० वर्षको हुनेछ। ३० वर्षपछि ल्होत्सेले नयाँ बसपार्कमा निर्माण गरेको सवै भौतिक संरचना महानगरपालिकाको हुनेछ। 
 
४० वर्षको लागि व्यवस्थापनको जिम्मा पाएको ल्होत्सेले अहिले नयाँ बसपार्कमा विभिन्न भौतिक संरचना भत्काउने तथा नयाँ संरचना थप्न लागेको  हो। ल्होत्से बहुउद्देश्यीय प्रालीले २०५६ सालदेखि नयाँ बसपार्कको व्यवस्थापनको जिम्मा पाएको  छ।

वि. सं. २०७३ मा कति बलियो तपाईको भाग्य ? (बार्षिक राशिफल)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ  )
नयाँ वर्षले मिश्रित परिणामहरू प्रदान गर्ने योजना बनाएको छ, तीमध्ये कुनै लाभकारी हुन्छन् भने कुनै हानिप्रद । पारिवारिक दायित्व र जिम्मेबारी पूर्ण गर्ने सिलसिलामा केही कठिनाइ आइलाग्न सक्छन्, तर अत्तालिई हाल्नु पर्ने परिस्थिति छैन, प्रयास गर्दा परिस्थितिलाई सम्हाल्न सकिन्छ । आर्थिक दृष्टिले यो वर्ष लाभदायक र आशावादी परिणाम प्राप्त हुने सम्भावना छ, यद्यपि नयाँ लगानीको प्रतिफल प्राप्त हुन केही ढिलो हुनसक्छ । बन्दव्यापारमा नयाँ निवेश र लगानीका लागि उपयुक्त समय छैन, तर गरिआएको कारोबारबाट लाभ नै हुनेछ । उता अनावश्यक खर्चमा पनि नियन्त्रण गर्नु पर्छ । वित्तीय कारोबार र सेयर मार्केट पक्षमा रहने देखिंदैन । घरायसी सम्बन्ध विस्तारका लागि समय निकाल्नु राम्रो हुन्छ, प्रेम र स्नेहको वातावरण बनाउनु पर्दछ । यो वर्ष प्रेम र भावनाको कदर हुने वर्ष हो । पति वा पत्नीका साथमा धेरै समय खर्चनु राम्रो हुन्छ, नत्र आपसी समन्वयको अभावमा अनपेक्षित दुर्घटना हुने सङ्केत छ । अगस्ट महिनापछि बृहस्पति छैठौं हुने भएकाले केही नकारात्मकता देखा पर्न सक्छ, त्यसपछि वर्षभरि सतर्कता अपनाउनु पर्छ । समग्रमा मेष राशिका जातकले समुज्वल भविष्यका निमित्त वर्षको पूर्वार्द्धमा खट्नु नै परिणामदायक देखिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बृष राशिका जातकका लागि नयाँ वर्ष  पूर्ण रूपले आफ्नो पक्षमा रहने छ । सँगीसाथी, सहयोगी र पति÷पत्नीको सहयोग र प्रेरणाले व्यापार÷व्यवसाय र दैनन्दिनीको क्षेत्रमा सघाउ पुुग्नेछ । यस प्रेरणाले कुनै कठिन र अप्ठ्यारो परिस्थितिबाट बाहिर निस्कन वा ती परिस्थितिको सामना गर्न मद्दत गर्नेछ । दाम्पत्य जीवन, रतिराग, प्रेम÷प्रणयसम्बन्ध आदि क्षेत्रमा भरपूर आनन्द प्राप्त हुनेछ । जसले नयाँ व्यवसाय वा नोकरी थाल्नुभएको छ, तिनलाई वर्षको पूर्वार्द्धमा केही कठिनाइ हुनसक्छ, तर वर्षको उत्तरार्द्ध भने अनुकूल नै हुनेछ । यो वर्ष रिस, राग, आवेश, उत्तेजना र कामुकतामा नियन्त्रण राख्नुपर्ने वर्ष हो, अन्यथा बेकारको झन्झटमा फँस्न सक्नुहुन्छ । आर्थिक दृष्टिले यो वर्षको सम्पूर्ण समय आफ्नै पक्षमा रहने छ । आफूले गरेको मिहिनेतको राम्रो परिणाम प्राप्त हुने वर्ष हो, यो । पाँचौं राहुले पाचनप्रणाली र नसाको रोग बल्झाउने सम्भावना छ, छोराछोरीको क्रियाकलाप पनि सन्तोषजनक रहने छैनन् । उता सातौं शनिश्चरले दाम्पत्यकलहको सम्भावना औंल्याउँदै छ, सचेत रहनु होला । समग्रमा नयाँ वर्ष २०७३ लागि खुसी, उमङ्ग र हर्ष लिएर आएको छ, तर मात्तिनु र पात्तिनु हुन्न, नत्र यो वर्ष सङ्कटको वर्ष पनि बन्नसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भनिन्छ जीवनको अर्को नाम संघर्ष हो, मिथुन राशिका जातकका लागि यो वर्ष यिनै पंक्तिले बताएका कुरा लागु हुनेछन् । वर्षको केही समय कठिनाइको सामना गर्नुपर्छ भने अर्कोतर्फ कुनै पल यति महत्त्वपूर्ण बन्नेछन्, जुन सधैंसधैं स्मरणयोग्य हुनेछन् । दाम्पत्यसम्बन्धमा सुमधुरता कायम हुनेछ, तर समग्र पारिवारिक स्थिति भने सन्तोषजनक हुँदैन । त्यसैले यस वर्ष जीवनसाथीलगायत घरपरिवारका अन्य सदस्यहरूसित पनि तालमेल बनाउनु आवश्यक छ । स्वास्थ्यमा केही उतारचढाव देखा पर्नेछ, नियमित व्यायाम र संतुलित आहारप्रति सजग हुनुपर्छ । कुनै किसिमको ऋण लिनु वा दिनु राम्रो हुँदैन । आयमा कमी आउने सम्भावना छ, अतः जतिसक्दो खर्चमा नियन्त्रण गर्नु राम्रो हुन्छ । उता बन्दव्यापारमा लागेका हरूले राम्रो मुनाफा कमाउने छन्, तर कुनै अवैध वा गैरकानुनी मानिने वस्तुप्रतिको आकर्षणले धोका दिनसक्छ । यो वर्ष आफ्ना प्रियतमसँग बितेको समय पछिसम्म यादगार रहन सक्छ । भ्रमण, पर्यटन र घुमघाममा समय र धन खर्च हुने सङ्केत छ । सरकारी कामकाज र राज्यपक्षका काममा सफलता हासिल हुनेछ । वैदेशिक रोजगारीबाट लाभ लिन सकिने छ । केही छिटपुट विषयलाई नलिने हो भने समग्रमा यो वर्ष निमित्त राम्रो र असल वर्ष साबित हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भनिन्छ प्रयास गर्नेले कहिल्यै हार मान्नु पर्दैन । कर्कट राशिका जातकका लागि याे बर्ष थोरै कठिनाइ र झन्झट लिएर उपस्थित भएको देखिए पनि लगनशीलता, मिहिनेत र परिश्रमका बलमा तिनले जीवनका विविध आयाममा सफलता प्राप्त गर्न सक्नेछन् । दाम्पत्यसम्बन्धमा सुधार हुनेछ र निजी जीवनको भरपूर आनन्द प्राप्त हुनेछ । अलिबढी अन्तर्मुखी र व्यक्तिवादी हुने भय भएकाले घरपरिवारका सबै सदस्यसित सामञ्जस्य स्थापना गरी व्यवहार गर्नु राम्रो हुन्छ । स्वास्थ्यप्रति ध्यान दिनुपर्छ । आर्थिक दृष्टिले यो समय सुझबुझ र समझदारीमा निर्भर रहने समय हो । जोसुकैसित आँखा चिम्लिएर विश्वास गर्नु लाभकारी हुन्न, सञ्चित धन नाश हुने खतरा छ । बन्दव्यापारमा साझेदारप्रति सशङ्कित हुनुपर्छ, तपाईंविरुद्ध षड्यन्त्रको योजना बन्नसक्छ । नोकरीमा संलग्न व्यक्तिहरूले उन्नतिका निमित्त प्रशस्त अवसर प्राप्त गर्नेछन् र नवीन पेसा वा रोजगारीको राम्रो अवसर प्राप्त हुनेछ । अविवाहित हुनुहुन्छ भने कुनै विशेष व्यक्तिप्रति प्रेम जागृत हुनसक्छ तथा विवाहित हुनुहुन्छ भने दाम्पत्यसम्बन्धमा प्रगाढता आउने छ । दाजुभाइ र माइतीपक्षबाट सुखद समाचार प्राप्त हुने सम्भावना छ । वर्षको सुरुमा रहेको चौथो मङ्गलले मातापिता र अभिभावकवर्गको स्वास्थ्यप्रति सचेत रहने सङ्केत गर्दछ । समग्रमा सुझबुझ र मिहिनेतको बलले आफ्नो पक्षमा ल्याउन सकिने वर्षको सुरुवात भएको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ वर्षले केही विशेष उपहारहरू साथमा लिएर सिंह राशिका जातकहरूलाई स्वागत गर्दैछ । जीवनका विविध आयाम र क्षेत्रबाट खुसी र प्रसन्नताका लक्षणहरू प्राप्त हुनेछन् । पारिवारिक सम्बन्ध र मित्रताको भरपूर आनन्द प्राप्त हुनेछ । निजी जीवनमा खुसीको वर्षा हुनेछ र जीवनसाथीले भरपूर सहयोग प्रदान गर्नेछन् । सामान्यतया स्वास्थ्यस्थिति सकारात्मक नै रहने छ, तर चिल्लोचापिल्लो, मिठाइ र माछामासु जस्ता गरिष्ठ आहार र मदिरापानबाट जोगिनु राम्रो हुन्छ । नत्र रोगव्याधिले सताउन सक्छ । उता राहुले मुखमा निवास गरेको हुँदा मुखलाई नियन्त्रणमा लिनु राम्रो हुन्छ, कहिलेकाँही आफ्नै मुखका कारण बन्न लागेको काम पनि बिग्रिने सम्भावना अत्यधिक छ । आर्थिक पक्ष सन्तुलित नै रहने छ, मूलधनमा निरन्तर बृद्धि भइ रहने छ । पेसा, व्यवसाय र बन्दव्यापार गर्नेका लागि पनि लाभप्रद समय छ । कार्यक्षेत्रमा साख यथावत रहने छ, हाकिमले कामधन्दा र प्रयासको प्रशंसा गर्नेछन् र यश, सम्मान र जस पाउनुका साथै पुरस्कार समेत प्राप्त हुनेछ। प्रेमसम्बन्धका साथै दाम्पत्य सुखको भरपूर आनन्द प्राप्त हुनेछ । वर्षको पूर्वार्द्धमा अविवाहितको विवाह, बेरोजारको रोजगारी, बेकामेले काम पाउने ग्यारेन्टी दिन सकिन्छ, तर वर्षको उत्तरार्द्धमा बृहस्पति आठौं भावमा जाने भएकाले बढी आशावादी हुनु राम्रो हुँदैन ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ वर्षले मिश्रित प्रभाव पार्ने सङ्केत छ । वर्षको सुरुमा केही नकारात्मक र तनावग्रस्त परिस्थितिको सिर्जना हुनसक्छ, तर उत्तरार्द्ध भने प्रतिष्ठा अभिबृद्धि गर्ने समय रहने छ । सुरुमा प्रेमी वा जीवनसाथीसितको सम्बन्धमा तिक्तता आउनसक्छ, अन्य परिवारजनसित समेत विवाद हुनसक्छ । क्रोध र अहङ्कारलाई त्यागेको बेस हुनेछ । यस अवधिमा आफ्नो स्वास्थ्यप्रति समेत सचेत रहनुपर्छ । राशिमा विचरणशील राहुले किसिमकिसिमका समस्या प्रदान गर्नेछ । वर्षको सुरुमा राशिस्वामी बक्री भएकाले सफलता प्राप्तिमा ढिलाइ हुनसक्छ, तर दूरदराज वा वैदेशिक प्रयोजनका रोजगारी वा बन्दव्यापारबाट लाभ मिल्नेछ । त्यस्तै बृहस्पति बाह्रौं घरमा अवस्थित छ, जसले आर्थिक सङ्कटको सङ्केत गर्दैछ, तर अगस्टदेखि आफ्नै राशिमा बृहस्पति आउनाले हाँकेका, ताकेका र इच्छाएका परिणाम प्राप्त हुनेछन्, त्यसैले वर्षको उत्तरार्द्धमा बेरोजगारले रोजगारी, अविवाहितले दाम्पत्यसुख, बृद्धबृद्धाले तीर्थाटनको लाभ र बेकामेले काम पाउने सङ्केत छ । बन्दव्यापारमा लागेका व्यक्तिले अगस्टभन्दा पहिले निकै तनाव झेल्नुपर्छ । तर त्यसपछि वर्षको सुरुमा देखिएका कमीकमजोरी र घाटालाई पूर्ति गरी उन्नति गर्ने अनुकूलता आउने छ । समग्रमा कन्या राशिका जातकका लागि वर्षको सुरु आफ्नो पक्षमा नरहे पनि वर्षको अन्तिम चरणले खुसी, उमङ्ग र उत्साह सिर्जना गर्ने सङ्केत देखिंदैछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ वर्ष  महत्त्वाकांक्षा पूर्ण गर्ने अवसरका रूपमा आएको छ । स्वतन्त्र व्यवसाय गर्ने एवं सानो परिवारमा बस्ने तुला राशिका जातकले यो वर्ष राम्रै उपलब्धी हासिल गर्नु हुन्छ । तर ठूलो साझेदारीमा कारोबार गर्न र संयुक्त परिवारका दायित्व निर्वाह गर्न भने यो वर्ष कष्टकर हुने सङ्केत छ । त्यसैले ठूलो साझेदारीमा काम गर्दै हुनुहुन्छ वा संयुक्त परिवारमा बस्नुहुन्छ भने यो वर्ष निकै सावधान हुनुपर्छ । सन्ततिपक्षका समस्यामा केही समय खट्नु पर्नेछ । नोकरी र बन्दव्यापारमा लागेकाहरूले वर्षकोे प्रारम्भमा गरेको प्रयासबाट राम्रो लाभ लिन सक्नुहुन्छ । अगस्टपछि बृहस्पति बाह्रौंमा जाने भएकाले परिस्थिति प्रतिकूल बन्नसक्छ । शनिको साढेसातीको अन्तिम चरणमा रहनु भएकाले मुखलाई नियन्त्रण गर्नु राम्रो हुन्छ, झैझगडा र मुद्दामामिलामा सरिक हुने स्थिति आउनसक्छ । पुराना रिनसापटी चुक्ता गर्न वर्षको उत्तरार्द्धमा झन् गाह्रो हुने भएकाले सुरुको ७ महिनाभित्रै प्रयास गरेको जाति हुन्छ । प्रेम र प्रणयप्रसङ्गमा शुभ सङ्केत छ, प्रियतमसित नै लामो समय व्यतीत हुनेछ, आपसी समन्वयको कमी रहने छ । शारीरिक सुख र स्वास्थ्यस्थितिमा सुधार आउने छ, वर्षको अन्त्यमा धार्मिक, सामाजिक र माङ्गलिक काममा धन खर्च हुने सम्भावना छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बृश्चिक राशि हुने जातकका लागि नयाँ वर्ष व्यापक रूपमा अनुकूल हुने सङ्केत छ, तर धैर्यता, संयमता र अनुशासनको पालना गर्नु अनिवार्य छ । जीवनसाथीसित कहिलेकाँही उथलपुथल र तीतोमीठो हुनसक्छ, त्यसैले सामञ्जस्य स्थापनाका लागि परिस्थिति विपक्षमा रहेको अनुभूति हुनासाथ धैर्य र हिम्मतका साथमा अघि बढ्नु राम्रो हुनेछ । त्यसो घरपरिवारमा अभिभावक वर्ग एवं मातापिताको सहयोग प्राप्त हुनेछ । बरु सन्ततिपक्षमा केही समस्या देखिनसक्छन्, पठनपाठन र सुस्वास्थ्यका लागि धनलगानी गर्नुपर्छ । अल्छीपन र आलस्यले डेरा जमाउन सक्छ, बन्दव्यापार र नोकरीका क्षेत्रमा उत्साह र स्फूर्तिको कमीले काम बिग्रने सम्भावना छ । व्यापारीहरूले अगस्टभन्दा पहिले धननिवेश गर्नु त्यत्ति राम्रो हुँदैन, तर त्यसपछि राज्यस्थानमा बृहस्पति जाने भएकाले पूँजी निवेश र लगानीको राम्रो वातावरण प्राप्त हुनेछ । उता शनिश्चर तपाईंको राशिमा छ, त्यसैले ज्यादा महत्त्वाकांक्षा देखाउनु पनि राम्रो हुन्न । कार्यक्षेत्र, घरपरिवार र आन्तरिक समस्यामा धेरै समय व्यतीत हुनाले उन्नतिप्रगतिमा बाधा पुग्नसक्छ । घरायसी जीवन र प्रेम तथा प्रणयप्रसङ्गमा धैर्यता र संयमताको खाँचो छ, फकाउने फुल्याउने काममा धेरै अल्मलिनु पर्ने सङ्केत छ । जोखिमयुक्त र गैरकानुनी कामभन्दा टाढा बसेको नै जाति हुन्छ, नत्र ठूलो षड्यन्त्रमा समेत फँस्न सक्नुहुन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नववर्ष  को सम्पूर्ण समय धनु राशिका जातकका लागि मिश्रित परिणाम प्राप्त हुने समय हो । राशिपति बृहस्पतिले वर्षभरि भाग्यभाव र कर्मक्षेत्रमा विचरण गर्दैछ । बाह्रौं शनिश्चर भएकाले स्वास्थ्यसम्बद्ध केही समस्या देखिन सक्छन्, साथै बन्दव्यापार र कारोबारमा आर्थिक कठिनाइ हुनसक्छ, तर अत्तालिनु पर्दैन । करकुटुम्ब र साथीसँगीसित विवाद र मनमुटावको सङ्केत छ, सचेत रहनु होला । घरवरिपरिको पर्यावरण र खाद्यान्नको सरसफाइ एवं ताजगीप्रति सचेत हुनु राम्रो हुन्छ, यो वर्ष पाचनप्रणाली र संक्रमणका कारण रोगग्रस्त हुने सम्भावना छ । नवीन पेसा वा रोजगारीका लागि गरेको प्रयास सफल हुनेछ । देशपरदेशको भ्रमणबाट लाभ नै हुनेछ । कार्यरत कर्मचारीको पदोन्नति र तलबसुविधामा बृद्धि हुने सम्भावना छ । बन्दव्यापारमा राम्रै छ, तर धोखाधडी र जालसाजीबाट जोगिनु पर्छ । आर्थिक हैसियत राम्रै हुनेछ, तर ऋणसापटी र लेनदेनमा सतर्क रहनु राम्रो हुन्छ । पूँजी निवेश र लगानीका लागि वातावरण राम्रो छ, तर नयाँ मानिस, नयाँ ठाउँ र नयाँ कम्पनीमा कारोबार नगर्नु राम्रो हुन्छ । कानुनी झमेलाबाट टाढा रहनु पर्छ । समग्रमा धनु राशिका व्यक्तिहरूले यो वर्ष सचेत र संयम भई काम गर्दा राम्रो लाभ प्राप्त गर्न सक्नेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
याे बर्ष मकर राशिका जातकले व्यक्तिगत स्वास्थ्यस्थिति र पारिवारिक जीवनका केही समस्याबाहेक समग्रमा राम्रै परिणाम प्राप्त गर्ने सम्भावना देखिन्छ । जीवनसाथी र परिवारजनमा असन्तुष्टि र खटपट यथावत रहने छ । समस्या समाधानका लागि अत्यन्त सावधान हुनुपर्छ, किनभने व्यक्तिगत समस्यालाई बल्झाउन घरपरिवारकै र नजिकैका मानिसहरू सक्रिय देखिएका छन् । बोलीवचनमा संयमता अपनाउनु होला । कामको चाप र तनाव बढ्ने छ, तर चिन्तित हुनु र असंयमित हुनु लाभप्रद हुँदैन, उल्टै मानसिक सन्तुलन गुम्ने डर हुन्छ, टाउको दुख्ने समस्या बल्झिन सक्छ । उता पाचनप्रणालीमा पनि राम्रो सङ्केत छैन । वर्षको सुरुमा आठौं बृहस्पति रहेकाले पितामाताको स्वास्थ्यप्रति समेत सचेत हुनुपर्छ । तर आफूमुनिका नातेदार र छोराछोरीका तर्फबाट खुसीको समाचार सुन्न पाइने छ । यसबाहेक बन्दव्यापार र नोकरी गर्नेका लागि यो वर्ष केही राम्रा परिणाम प्राप्त हुनेछन् । कार्यक्षेत्रमा प्रशंसा पाइने छ । व्यापारीले सरकारी कारोबारबाट लाभ पाउने छन्। वैदेशिक क्षेत्र, आयातनिर्यातका कारोबारबाट उन्नति हुनेछ । अगस्टपछि बृहस्पति भाग्यभावमा आउने र राशिको मालिक शनिश्चरको वर्षभरि पूर्णदृष्टि रहने भएकाले अत्तालिने परिस्थिति छैन, धैर्य, संयम र नियन्त्रित भई व्यवहार गर्न सकेमा सबै पक्षमा राम्रो प्रतिफल पाउन सकिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशिका जातकका लागि नयाँ वर्ष को सुरुको सात महिना अत्यन्त शुभ सङ्केत लिएर उपस्थित भएको छ । जीवनका विविध आयाममा महत्त्वपूर्ण उपलब्धी र सुखसम्मृद्धि प्राप्त हुनेछ । वर्षको सुरुमा केही समय आठौं घरमा बक्री बृहस्पति हुने भएकाले केही कठिनाइ र झन्झट आइलाग्न सक्छन्, तर समग्रमा समय असल नै रहने छ । गृहस्थी जीवनमा नयाँ वर्षमा सामान्य संवेदनशीलता अपनाए हुन्छ । वर्षको अधिकांश समय बृहस्पति सातौं भावमा हुने भएकाले प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा सुमधुरता प्राप्त हुनेछ । वैदेशिक क्षेत्रका कामबाट लाभ मिल्ने सम्भावना छ । स्वास्थ्य सबल नै छ, तर यौन, गुप्ताङ्ग वा पाचनशक्तिका समस्याले दुःख दिने सम्भावना भने देखिन्छ । आर्थिक पक्ष बलियो बन्नेछ, वित्तीय कारोबारबाट लाभ मिल्नेछ । सँगीसाथी र घरपरिवारका सदस्यहरूले सकेको सहयोग गर्नेछन् । नयाँ ठाउँमा लगानी वा पूँजी निवेशको सम्भावना देखिन्छ । यो वर्ष तपाईंको लगनशीलता, मिहिनेत र परिश्रमको परीक्षणको समय हो । नोकरी र बन्दव्यापारमा लागेकाहरूका लागि अझ धेरै राम्रो छ । पदोन्नति र आर्थिक लाभ हुनेछ । समग्रमा नयाँ वर्षले तपाईंको परिश्रमको सम्पूर्ण शुभ परिणाम प्रदान गर्ने सङ्केत छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशिका जातकका लागि नयाँ वर्ष ले मानसम्मान र इज्जतप्रतिष्ठा प्रदान गर्ने सङ्केत छ । सामान्यतया सबै क्षेत्रबाट मिश्रित परिणाम प्राप्त हुनेछन् । तर राशिमा विचरणशील केतुका कारण केही अप्ठ्यारा र उल्झन यथावत रहने छन् । वर्षको सुरुमा राशिको मालिक बक्री हुने र अधिकांश समय छैठौं घरमा बस्ने भएकाले घरगृहस्थी सञ्चालनमा केही समस्याहरू देखिन सक्छन् । उता बन्दव्यापार र व्यापारिक प्रतिष्ठानमा पनि केही विवाद र समस्या देखिन सक्छन् । अप्रत्याशित ढंगले खर्चको मात्रा बढ्नसक्छ । स्वास्थ्यप्रति सचेत हुनुपर्छ, आन्द्रा, कलेजो र मिर्गौला यस वर्षका लागि कमजोर अङ्ग हुनेछन् । तर अगस्टपछि एकाएक समय तपाईंको पक्षमा आउने छ । परिवारमा खुसीको वातावरण सञ्चरण हुनेछ, कारोबारमा गतिशीलता आउने छ । नयाँ उद्योगधन्दा र प्रतिष्ठानतर्फ ध्यान केन्द्रित हुनेछ । नोकरी र बन्दव्यापारमा लागेकाहरूले प्रारम्भका केही समय सामान्य विघ्न र बाधा ब्यहोर्नु पर्छ, तर दिन बित्दै जाँदा परिस्थितिमा सुधार हुँदै जान्छ । समग्रमा यो वर्षको सुरुमा केही उल्झन, तनाव र अप्ठ्यारा भोगेर अगस्ट महिनापछि सबै पक्षमा सुधार हुनेछ । प्रेमसम्बन्ध, पेसा वा व्यवसाय, नोकरी, शिक्षादीक्षा, घरपरिवार सबै पक्षमा वर्षको उत्तरार्द्धमा शुभफल प्राप्त हुने सङ्केत छ ।