Saturday, April 9, 2016

मिस नेपालमा आरक्षण बहस

चैत्र २७, २०७२- मिस नेपाल–२०१६ को फाइनल राउन्डमा मुख्य निर्णायक साहित्यकार राजेन्द्र थापाले टप फाइभ प्रतियोगीलाई सोधे– ‘नेपालमा महिला आरक्षण सम्बन्धी तीनथरी धारणा छन्, एकथरीले चाहिन्छ, अर्काथरीले चाहिँदैन र केहीले थोरै समयको लागि चाहिन्छ भनिरहेका छन्। यी तीनमध्ये तपाईंलाई कस्तो लाग्छ र किन?’
ओपनिङ र प्रि–जजिङ राउन्ड फेस गर्दै टप फाइभमा पुगेका अश्मी श्रेष्ठ, वर्षा लेखी, रोशनी खत्री, नम्रता श्रेष्ठ र सिर्जना रेग्मीले पाँच मिनेटभित्र सबैको अघिल्तिर लिखित जवाफ तयार पारे।
काठमाडौंकी २२ वर्षीया अश्मीको जवाफ थियो– ‘मेरो विचारमा महिलालाई आरक्षण हैन अवसर चाहिन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीदेखि सभामुख र प्रधानन्यायाधीशसमेत गरी मुलुकको तीन उच्च ओहदामा महिला नेतृत्व छ। अवसर दियो भने महिला आफैं अघि बढ्न सक्छन्भन्ने यो उदाहरण हो ।’
यसअघिको राउन्डमै दि काठमान्डु पोस्ट मिस इन्टेलेक्चुअल, मिस फोटोजेनिक र बेस्ट इभिनिङ गाउन गरी तीनवटा सब–टाइटिल अवार्डसमेत हात पारेकी यिनै सुन्दरी यस वर्षको मिस नेपाल बनिन्।
नेटबलकी राष्ट्रिय खेलाडीसमेत रहेकी र श्रीलंकामा सम्पन्न आठौं एसियन च्याम्पियनसिपमा सहभागी भइसकेकी यिनी ताज थाप्दै गर्दा भने तेजिली र आत्मविश्वासी अनुहार बनाउन खोज्दाखोज्दै पनि रोइन् ।
दोस्रो स्थान अर्थात् मिस नेपाल अर्थ बनेकी ललितपुरकी २० वर्षीया रोशनीचाहिँ केही समय आरक्षण चाहिने पक्षमा उभिइन्। समय र संविधान बदलिए पनि मुलुकका विभिन्न कुनामा अझै संस्कारको नाममा महिला विभेद कायम रहेको मत दिँदै उनले तिनीहरूको अवस्थामा बदलाव ल्याउन थोरै समय भए पनि महिलालाई आरक्षण चाहिने विचार दिइन्।
मिस नेपाल इन्टरनेसनलको ताज पहिरेर तेस्रो स्थान हासिल गरेकी २२ वर्षीया वर्षा लेखीचाहिँ पूर्ण रूपमा आरक्षणको पक्षमा उभिइन्। उनको मत थियो– ‘आरक्षणले महिला सशक्तीकरणमा सघाउँछ।’ द हिडेन ट्रेजरले गर्दै आएको मिस नेपालमा यसपटक सामाजिक/सांस्कृतिक र समसामयिक विषयलाई निर्णायक मण्डल सदस्यहरूले प्रश्नका विषय बनाए।
सञ्चारकर्मी तथा लेखिका बबिता बस्नेतले ‘महाभारत’ का पात्र गान्धारी र धृतराष्ट्रबीचको सम्बन्धलाई उदाहरण दिँदै आजका महिला गान्धारीको ठाउँमा भए के गर्छन् होला? भन्ने प्रश्न
सोझ्याइन्।
केहीअघि मात्रै अनेरास्ववियु अध्यक्ष जितेकी नविना लामाले नयाँ नेपाल निर्माणका लागि कस्तो शिक्षा चाहिन्छ भन्दै नीतिगत प्रश्न तेर्स्याइन् ।
‘धेरैले फाइनल राउन्डको प्रश्नको सराहना गरिरहेका छन्,’ निर्णायक प्रमुख थापाले प्रतियोगिता लगत्तै भने, ‘नयाँ पुस्तालाई यस्ता मुद्दातिर पनि चेतनशील बनाउनुपर्छ भनेर प्रश्न सोधेको हुँ।
पक्ष विपक्षमा जवाफहरू आउँदा एक किसिमको बहसजस्तै महसुस हुँदो रहेछ।’ निर्णायक मण्डलमा अभिनेता जीवन लुँइटेल, गायिका इन्दिरा जोशी, लेखिका तथा सञ्चारकर्मी संगीता श्रेष्ठ, ओलम्पियन स्नेहलक्ष्मी राणा, नेसनल ट्रस्ट फर नेचर कन्जरभेसनका गंगाजंग थापा, सञ्चारकर्मी लक्ष्मण हुमागाईं, व्यवसायी सचिन श्रेष्ठ, अश्मी राणा लगायत थिए।
यो निर्णायक मण्डलले छानेको तीनैजना विजेताले क्रमश: मिस वर्ल्ड, मिस अर्थ र मिस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्दै भाग लिनेछन्। प्रतियोगितामा मिस फ्रेन्डसिप अंशु केसी, बेस्ट फेसिनो आश्मा केसी, मिस पपुलर च्वाइस आयुश्मा श्रेष्ठ भए।
मिस स्कलर र मिस ब्युटिफुल स्किनको सब–टाइटिल अवार्ड प्रेरणा अधिकारीले पाइन् भने मिस ट्यालेन्ट सिर्जना रेग्मी, मिस ब्युटी विद पर्पस प्रतिभा दवाडी भइन्।


No comments:

Post a Comment