Saturday, April 9, 2016

उत्पादन सुरु नहुँदै टेस्लाको विद्युतीय कारका लागि १४ अर्ब डलरको बुकिङ


उत्पादन सुरु नहुँदै अमेरिकी उत्पादनकर्ता टेस्लाले सार्वजनिक गरेको नयाँ विद्युतीय कार ‘मोडेल थ्री’ले विश्व अटो बजारमा तहल्का मच्चाएको छ।
‘मोडेल थ्री’ किन्नका लागि ७२ घण्टाभित्र तीन लाख ग्राहकले बुकिङ गरेका छन्।बुकिङका निम्ति प्रतिकार एक हजार डलर जम्मा गर्नुपर्ने नियम अन्तर्गत उक्त कम्पनीले ३० करोड डलर प्राप्त गरिसकेको छ। तीन लाख कार बिक्रीबाट उसलाई जम्मा १४ अर्ब डलर प्राप्त हुनेछ।
आश्चर्यको कुरा त अहिले नै बुकिङ गरे पनि उक्त कार डेढ वर्षपछि मात्र ग्राहकले प्राप्त गर्नेछन्। धेरैले बिक्रीको उक्त रफ्तारलाई आश्चर्यजनक भनी टिप्पणी गरेका छन्। उदाहरणका लागि अमेरिकी उत्पादनकर्ता एप्पलले प्रि-अर्डरमा त्यति नै रकम जम्मा गर्न दुई करोड आइफोन ७२ घन्टाभित्र बुकिङ भइसक्नु पर्नेछ।  
मोडल थ्रीको सुरुवाती मूल्य ३५ हजार डलर रुपैयाँ तोकिएको छ जो टेस्लाकापहिलेका मोडलको तुलनामा आधा सस्तो हो। कर, दर्ता, डेलिभरीलगायत अन्य शुल्क गरेर यसको मूल्य करिब ४८ हजार डलर पुग्ने अनुमान गरिए पनि यो सस्तो नै मानिएको छ।
अहिलेसम्म उत्पादन भएका विद्धुतीय कारहरुमध्ये माेडल थ्री सबैभन्दा उत्कृष्ट मानिएकाे छ। एक पटकको पूरा चार्जमा २१५ माइल (करिब ३४६ किमी)सम्म चल्ने भएकाले यसलाई अाकर्षक मानिएकाे हाे। अमेरिका र विश्वका अन्य देशका राजमार्गमा उक्त कार चार्ज गर्नका निम्ति स्टेशनहरु राखिने टेस्लाले बताएकाे छ।
अर्डरका लागि अन्य कुनै कारले पनि यतिधेरै ध्यानाकर्षण नगराएको विश्लेषकहरुले बताएका छन्। भविष्यमा आउने गाडीका लागि यतिधेरै बुकिङ र रकम जम्मा हुनु कम्पनी विस्तारका लागि कोसेढुंगा हुने कम्पनीले आफ्नो ब्लगमा बताएको छ। 
गत वर्ष टेस्लाले आफ्ना उच्च मूल्यका विद्युतीय कार मोडल एस र मोडल एक्सको ५० हजार एकाई मात्र डेलिभरी गर्न सकेको थियो। तर अब भने कम्पनीले मोडल थ्रीका साथै समग्र उत्पादन नै बढाउने विश्वास लिएको छ।

No comments:

Post a Comment