Tuesday, April 12, 2016

नयाँ वर्षमा पोखरा घुम्ने हो ? यी ठाउँ नछुटाउनुस्

pokhara-view-from-stupa
नविन अर्याल
२९ चैत, पोखरा । नेपालकै सर्वाधिक लोकप्रिय पर्यटकीय गन्तव्य हो पोखरा । प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखराले स्वदेशी र विदेशी पर्यटकलाई बराबरी लोभ्याउँछ ।
अरु बेला विदेशी पर्यटकहरुको व्यापक चहलपहल हुने पोखरामा नेपाली नयाँ वर्षमा भने स्वदेशी पर्यटक भरिभराउ हुन्छन् । भूकम्प र नाकाबन्दीले सुस्ताएको पोखराको पर्यटन नयाँ वर्षको छेकोमा फेरि बौरिन थालेको छ । आन्तरिक पर्यटकको आगमनसँगै पर्यटन व्यावसायीहरु उत्साहित बनेका छन् ।
के तपाईं पनि नयाँ वर्षमा पोखरा घुम्न आउँदै हुनुहुन्छ ? यदि पहिलोपटक आउँदै हुनुहुन्छ भने पोखरामा घुम्नैपर्ने ठाउँको बारेमा जानकारी नहुन सक्छ । हामीले पोखरामा आएर घुम्न छुटाउनै नहुने केही ठाउँहरुको बारेमा जानकारी गराउने प्रयास गरेका छौं ।
Fewa-Lake,-Talbarahi-Temple
फेवाताल/बाराही मन्दिर
पोखराको पहिलो आकर्षण भनेकै फेवाताल हो । पोखरा घुम्न आउने कोही पनि फेवातालमा बोटिङको मज्जा लिन छुटाउदैनन् । फेवातालको बीचमा रहेको तालबाराही मन्दिरले आकर्षण थपेको छ । डुंगा चढेर मन्दिरमा पुग्नु र पुजा गरेर फेरि डुंगामै फर्किनु आन्तरिक पर्यटकका लागि नियमित प्रक्रिया नै हो ।
fewa-lake-pokhara
डुङ्गा भाडामा लिएर दिनभरि बोटिङ गर्ने युवा जोडी प्रशस्तै हुन्छन् । फेवातालमा माछापुच्छ्रे हिमालको छायाँ देखिन्छ । जुन अत्यन्तै मनमोहक हुने गर्छ । फेवातालमा बोटिङ मात्र नभई फिसिङसमेत गर्न पाइन्छ ।
फेवातालको किनारमा रहेको लेकसाइड बजार आफैमा आकर्षक छ । पोखरा पुग्ने पर्यटक लेकसाइडमै बस्न रुचाउँछन् । पश्चिमी गन्तव्यको आभाष गराउने लेकसाइड रातमा झिलिमिली देखिन्छ । पोखराका अधिकांश होटल तथा लजहरु यहीँ छन् ।
Devid-Falls-patale-Chhango
डेभिड फल्स (पातले छाँगो)
पोखराको अर्को आकर्षण हो, डेभिड फल्स । फेवातालको पानी डेभिड फल्सको गल्छीबाट गुप्तेश्वर गुफा हुँदै सेती नदितर्फ हानिन्छ ।
वर्षामा ठूलो पानीको भेल गल्छीभित्र पस्दा देखिने पानीको फोहोरा र त्यहाँबाट निस्कने बाफ साँच्चिकै लोभलाग्दो ।
गुप्तेश्वर गुफा
guptayshower-gufa
छोरेपाटनमा रहेको गुप्तेश्वर गुफा खाल्डोमा रहेको छ । यहाँ गुप्तेश्वर महादेवको दर्शन गर्न र गुफाभित्र रमाउन सकिन्छ ।
गुफामा रहेको मन्दिरबाट अझै अगाडि बढे डभिड फल्सको पानी देख्न सकिन्छ । एक किलोमिटरभन्दा लामो रहेको गुप्तेश्वर गुफा पुरै अवलोकन गर्नका लागि यो उपयुक्त समय हो ।
सेतो गुम्बा
tourist-taking-pic-of-stupa-white-gumba
फेवातालमाथिको डाँडामा अवस्थित सेतो गुम्बा पनि स्वदेशी विदेशीको आकर्षणको केन्द्र मानिन्छ । पोखरा जानेहरु एकपटक उक्त गुम्बामा पुग्न छुटाउदैनन् ।
यहाँबाट पोखराको शुन्दर दृश्य, फेवाताल, हिमाल, सराङकोटको डाँडालगायतका सुन्दर दृश्यहरु देखिने हुँदा निकै रमाइलो हुन्छ ।
विन्दवासिनी मन्दिर
Bindabasini-pokhara
पोखरामा रहेको विन्दावासिनी मन्दिर नेपालकै चर्चित मन्दिरमा पर्छ । यो मन्दिर दर्शन गरेर सराङकोटतिर जान पायक पर्छ ।
विन्दवासिनी मन्दिरमा भक्तजनको ठूलो भिड लाग्ने गर्छ । अग्लो स्थानमा रहेको मन्दिरबाट पोखराको शहर सुन्दर देखिन्छ । विन्दावासिनी मन्दिर आफैमा पनि सुन्दर र सफा रहेको छ ।
 
सराङकोट
sarangkot-pokhara
सराङको पोखराबाट उत्तर-पश्चिममा रहेको अग्लो डाँडा हो । पोखरा पुगेपछि सराङकोट पुग्नैपर्ने ठाउँ हो । यहाँबाट पोखरा र लेखनाथ शहर सिंगै देख्न सकिन्छ । साथै, आँखै अगाडि माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी लगायतका हिमश्रृंखलाहरु प्नि हेर्न पाइन्छ ।
सराङकोटबाट पोखरा आसपासमा रहेको मनमोहक हरियाली वन देखिन्छ । प्याराग्लाइडिङ र जिप फ्लाई समेत सराङकोटबाट नै हुने गर्छ । यहाँ दैनिक हजारौं स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन् । पछिल्लो समय सराङकोट पोखराको मुख्य पर्यटकीय गन्तव्य बनेको छ ।
 
बेगनास र रुपा ताल
begnas-and-rupa-lake-pokhara
लेखनाथ नगरपालिकामा रहेका बेगनास र रुपाताल पनि पोखराको प्रमुख गन्तव्यमा पर्छन् । तालको मिठो माछा खानका लागि बेगनास निकै चर्चित मानिन्छ । डाँडावारी बेगनास र डाँडापरी रुपाताल रहेको छ । बेगनास तालमा पनि डुंगा चढेर रमाइलो गर्न पाइन्छ ।
पोखराबाट अलि टाढा भएपनि बेगनास ताल अवलोकनका लागि छुटाउनै नहुने ठाउँमा पर्छ । शहरी कोलाहलबाट अलि टाढा भएकोले यहाँ पुग्दा आत्मशान्ति मिल्छ । पोखराबाट बेगनासतालमा सार्वजनिक गाडी प्रशस्तै चल्छन् ।
 
महेन्द्र गुफा
mahendra_cave-pokhara
यो पोखराको निकै चर्चित ठाउँ हो । महेन्द्र गुफा नजिकै अर्को चमेरी गुफासमेत रहेको छ । महेन्द्र गुफा पुगेपछि चमेरी गुफा पनि अवलोकन गरेर फर्किन सकिन्छ ।
घना जंगलको छेउमा अवस्थित चमेरी र महेन्द्र गुफा पुग्दा रोमाञ्चकारी अनुभव हुन्छ । गुफाभित्र प्रवेश गर्दा कोही-कोही अत्तालिन्छन् पनि । पोखरा पुग्नेहरुले महेन्द्र गुफा र चमेरी गुफाको अवलोकन गर्न भुल्नु हुँदैन ।
सेती खोँच
Seti-River-pokharaकरिब २ मिटर गहिराईबाट बगेको सेती नदी पोखराको अर्को आकर्षण हो । सेती नदीले धेरै पर्यटकको ध्यान खिच्ने गर्छ । साँघुरो र गहिरो खोँचबाट बगेको हुँदा हिउँदमा पानी देख्न मुस्किल पर्छ । वर्षमा भने पानी माथि आउने हुँदा सहजै देख्न पाइन्छ ।
पोखराको बिचबाट बगिरहेको सेती नदी एकपटक अवलोकन गर्नैपर्ने ठाउँ हो । सेती नदी पुलबाट मात्र हेर्न सकिन्छ । रामघाटमा भने ठूलो बगर भएको हुँदा बाहिरबाटै स्पष्ट रुपमा सेती नदी हेर्न सकिन्छ ।
माटेपानी गुम्वा
matepani-gumba-pokhara
पोखरामा घुम्नका लागि छुटाउनै नहुने ठाउँ हो, माटेपानी गुम्वा । पोखरा क्षेत्रीय हस्पिटलदेखि पूर्वी साइटमा पर्ने माटेपानी गुम्बा निकै आकर्षक रहेको छ ।
अग्लो ठाउँमा रहेको हुँदा यहाँबाट पनि पोखराको शुन्दर दृश्यावलोकन गर्न सकिन्छ । यो गुम्बाबाट लेखनाथ र निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थलसमेत आकर्षक देखिन्छ ।
पृथ्वीनारायण क्याम्पस
मुलुकमै सबैभन्दा बढी विद्यार्थी पढ्ने कलेका रुपमा परिचित छ, पृथ्वीनारायण क्याम्पस । ठूलो क्षेत्रफलमा फैलिएको क्याम्पसबाट सेती नदी बाहिरै बगेको देख्न पाइन्छ । यसको अलवा यहाँबाट मणिपाल हस्पिटल समेत देखिन्छ ।
यहाँ आकर्षक म्यूजियम समेत रहेको छ । आकर्षक विल्डिङहरु रहेको यो क्याम्पसमा विदेशी पर्यटकसमेत पुग्ने गर्छन् । नेपालको राजनीतिक परिवर्तनमा यो क्याम्पसका विद्यार्थीहरुले ठूलो भूमिका खेल्दै आएको हुँदा यसको ऐतिहासिक चिनारीसमेत बनिसकेको छ ।
 
प्याराग्लाइडिङ
Paraglading-at-pokhara
चरोजस्तै आकाशमा उड्न कसको मन हुँदैन र ? प्याराग्लाइडिङमा उडेर मज्जा लिनका लागि ठूलो संख्यामा स्वदेशी-विदेशी पोखरा आउँछन् । पछिल्लो समय प्याराग्लाइडिङ पोखराको मूख्य आकर्षण बनिरहेको छ ।
पोखरा घुम्न जाने जो कोहिले प्याराग्लाइडिङ गर्न छुटाउनु हुँदैन । साहसिक खेलका रुपमा रहेको प्याराग्लाइडिङमा उड्दै पोखरा, हिमाल र आसपासको क्षेत्र हेर्नुको मज्जा बेग्लै हुन्छ । सराङकोटबाट उड्ने प्याराग्लाइडिङ फेवातालको किनारामा ल्यान्डिङ हुन्छ ।
 
अल्ट्रालाइट फ्लाइट
Pokhara from Ultra Flight_650 (2)
पोखराको अर्को आकर्षण हो, अल्ट्रालाइट फ्लाइट । अल्ट्रालाइटमा उडेर पोखरा शहर तथा हिमश्रृंखला हेर्न पाइन्छ ।
खानपिनमा रकम कटौती गरेर भएपनि अल्ट्रालाइटमा उडेर प्राकृतिक सुन्दरताको मज्जा लिनुपर्छ ।
बञ्जीजम्प
bungy-jump-2साहसिक पर्यटनमा रुची राख्नेहरुका लागि बञ्जीजम्म जस्तो रोमाञ्चकारी अरु के होला ?  पोखराको हेम्जामा टावरसहितको बञ्जीजम्म सञ्चालनमा आइसकेको छ ।
तुलनात्मक रुपमा भोटेकोशीको बञ्जीजम्प भन्दा आधा होचो भएपनि यहाँबाट फाल हाल्दा पनि बेग्लै मज्जा महशुस हुन्छ । पोखरा पुग्ने धेरै पर्यटक बञ्जी गरेर फर्किने गर्छन् ।
जीप फ्लाई
tourist-enjoying-zip-flyerसराङकोटबाट हेम्जासम्म जीप फ्लाई गराइन्छ । एक पटकमा दुईजनाले गर्न सकिने जीप फ्लाई युवायुवती र नयाँ जोडीका लागि आकर्षण बनेको छ ।
जीप फ्लाई पोखराको महत्वपूर्ण पर्यटकीय प्रोडक्ट बनिसकेको छ । साहसिक खेलमा पर्ने जीप फ्लाई गर्दा थ्रिल महशुस हुन्छ । जीप फ्लाई गर्दा हेम्जाको सुन्दर गाउँ, आसपासको घना जंगल र हिमश्रृंखला अवलोकन गर्दै सराङकोटबाट हेम्जा झर्न पाइन्छ ।
पामे (फेवाताल किनार)
Pame-pokhara
फेवातालको पश्चिम किनारमा रहेको पामे पोखरा पुग्ने पर्यटकले पुग्नैपर्ने ठाउँ हो । यहाँ सराङकोटबाट उडेको प्याराग्लाइडिङ ओर्लने गर्छन् । फेवातालको किनारै किनार पुगिने पामेमा राम्रो होटल तथा लजहरु सञ्चालनमा आइसकेका छन् ।
फेवातालका गतिविधिहरु अवलोकन गर्दै माछाको स्वाद चाख्नका लागि पामे प्रख्यात रहेको छ । यहाँबाट फेवाताल ठूलो देखिन्छ । यहाँ स्वदेशी विदेशी पर्यटकको भिड लागेको देखिन्छ ।
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय
पोखरा पुगेपछि हेर्नेपर्ने अर्को ठाउँ हो, अन्तर्राष्ट्रिय प्रर्वतीय संग्रहालय । यहाँ पर्वतीय पर्यटनसँग जोडिएका कला, संस्कृति, भेषभुषा र वस्तुहरु प्रर्दशनीमा राखिएको छ ।
यसको अलवा पोखरामा थुप्रै घुम्न जाने ठाउँहरु रहेका छन् । माटेपानी गुम्वा, अन्य तालहरु, पामे लगायतका ठाउँमा पुगेर पनि मज्जा लिन सकिन्छ ।
पोखरा माथिल्लो मुस्ताङ, मुक्तिनाथ, पुनहिल, अन्नपूर्ण वेस क्याम्प, गुरुङहरुको सुन्दर वस्ती रहेको घान्द्रुक लगायतका विभिन्न स्थानमा ट्रेकिङका लागि प्रवेशद्वार समेत हो ।
तस्वीरः सुदर्शन रञ्जित र उमेश पुन/अनलाइनखबर
- See more at: http://www.onlinekhabar.com/2016/04/413171/#sthash.uVXzezOi.cs7R5Veu.dpuf

No comments:

Post a Comment