Saturday, April 9, 2016

मिस नेपाल विजेता अश्मी भन्छिन्,'नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा चिनाउनेछु'


शुक्रबार राति ‘मिस नेपाल वल्र्ड –१६’ घोषित भएकी अश्मी श्रेष्ठ देशकी २२ औँ मिस नेपाल हुन्। नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता सुरु भएकोमा रुबी राणाले पहिलो उपाधि जितेकी थिइन्। त्यसपछि ९५ मा सुुमी खड्का, ९६ मा पुनम घिमिरे मिस नेपाल भइन्। 
 
सन् १९९७ मा ‘मिस नेपाल’ र ‘मिस नेपाल वल्र्ड’को स्वरुपमा दुई पटक यो प्रतियोगिता भएको थियो। सोअन्तर्गत मिस नेपालको उपाधि निलिमा गुरुङले जितेकी थिइन्। सोही वर्षदेखि मिस वल्र्डमा भाग लिने अवसर आएपछि पुनः मिस नेपाल वल्र्ड प्रतियोगिता भएको थियो जसको उपाधि झरना बज्राचार्यले जितिन्। जितेसँगै उहाँले नेपालको तर्फबाट मिस वर्ल्डमा भाग लिने अवसर पाइन्। 
 
त्यस्तै, १९९८ मा मिस नेपालको उपाधि ज्योति प्रधानले जितिन्। तर उनले उत्तरदायित्व बहन गर्न नसकेको भन्दै उपाधि खोसेर ‘फस्ट रनरअप’ निरु श्रेष्ठलाई दिइएको थियो। त्यसैगरी, १९९९ को मिस नेपालको उपाधि स्वेता सिंहको पोल्टामा गयो भने २००० को उपाधि उषा खड्गीले जितिन् र २००१ मा भने यो प्रतियोगिता कारणवश हुन सकेन। 
 
प्रतियोगितालाई पुनः निरन्तरता दिँदै २००२ मा माल्भिका सुब्बा, २००३ मा प्रिती सिटौला, २००४ मा पायल शाक्य, २००५ मा सुगारिका केसी क्रमशः मिस नेपाल भए। सन् २००६ मा पुन प्रतियोगिता हुन सकेन। अर्को वर्ष अर्थात २००७मा भएको प्रतियोगिताको उपाधि शिताष्मा चन्दले जितिन्। तर पुनः २००८ मा केही मानिसले गरेको विरोधको कारण देखाउँदै प्रतियोगिता रोकियो। 
 
त्यसपछि अर्को वर्षदेखि पुनः निरन्तर सुरु भएको प्रतियोगिताको उपाधि क्रमशः २००९ मा जेनिशा मोक्तान, २०१० मा सदिक्षा श्रेष्ठ, २०११ मा मलिना जोशी, २०१२ मा सृष्टि श्रेष्ठ, २०१३ मा इशानी श्रेष्ठ, २०१४ मा सुविन लिम्बु र २०१५ मा इभाना मानन्धरले जिते। 
 
शुक्रवार राति सम्पन्न मिस नेपालको उपाधि विजेता अश्मी चितवनकी हुन्। उनीसमेत हालसम्म चितवन क्षेत्रबाट उपाधि जित्ने दुई जना भएका छन्। यसअघि २०१२ मा मिस नेपाल भएकी सृष्टि श्रेष्ठ चितवनकै हुन्। 
 
क्षेत्रगत हिसाबले हेर्दा उपाधि जित्नेमा हालसम्म राजधानी उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर)का सुन्दरीको बर्चस्व छ। राजधानी उपत्यकाबाट १२ जना मिस नेपाल भएका छन्। त्यस्तै, धरानबाट र वीरगञ्जबाट दुई÷दुई, पोखराबाट एक जना र बाँकी नयाँ ठाउँबाट प्रतिनिधित्व गर्ने छन्। 
 
काठमाडौँको अन्नपूर्ण होटलमा भएको प्रतियोगितामा अन्तिम स्पर्धामा रहेका १९ प्रतिस्पर्धीलाई पछि पार्दै २२ वर्षीय अश्मी ‘मिस नेपाल वल्र्ड’ बन्न सफल भइन्।  त्यस्तै, प्रतियोगितामा ‘मिस नेपाल इन्टरनेशनल’(फस्ट रनरअप) ललितपुरकी रोशनी केसी तथा ‘मिस नेपाल अर्थ’ (सेकेन्ड रनरअप) सप्तरीकी वर्षा लेखी भए। त्यसैगरी, सिर्जना रेग्मी र नम्रता श्रेष्ठ पनि अन्तिम पाँचमा परेका थिए।  
 
प्रतियोगितामा ‘मिस इन्टेलेक्चुअल’, ‘मिस फोटोजेनिक’ र ‘बेस्ट इभिनिङ गाउन’ उपाधि पनि आफ्नो पोल्टामा पार्न सफल भएकी अश्मीले यसै वर्ष इन्डोनेसियामा हुने ‘मिस वल्र्ड–२०१६’मा नेपालको प्रतिनिधित्व गर्नेछिन्। 
 
उपाधि जितेपछि आँशु रोक्न नसकेकी उनले भनिन्,'म अहिले खुसीले यति भावुक भएकी छु की भन्नलाई कुनै खास शब्द छैन, तर यति भन्न सक्छु नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा चिनाउने प्रयास गर्नेछु।' रासस 

No comments:

Post a Comment