•प्रदीप ज्ञवाली नेपाल यतिबेला अत्यन्तै ठूलो संक्रमणको बीचबाट र अत्यन्तै ठूलो परिवर्तनको मोडबाट गुज्रिरहेको छ । बाह्य सम्बन्ध, राजनीतिक प्रणाली र आन्तरिक राज्य संरचना तीनवटै हिसावले हामीले यति ठूला ठूला परिवर्तन अंगाल्दै छौं जसले केही प्रतिक्रियाहरु उत्पन्न गर्ने, केही त्यसको विरोध हुनु र त्यो प्रक्रियालाई उल्ट्याउने कोसिस हुनु विल्कुल स्वभाविक हो । बाह्य सम्बन्धको सन्दर्भमा नेपाल लामो समयसम्म एकखालको परनिर्भरता, पराश्रय र आफ्नो आन्तरिक राजनीतिका विषयमा समेत सधैंभरी परमुखापेक्षी अवस्थाबाट गुज्रियो । अहिले हामी त्यो सम्बन्धलाई पुनर्परिभाषित गर्दैछौं, पुनर्ररेखाङ्कन गर्दैछौं र इतिहासमा पहिलोचोटी नेपालले आफ्नो सार्बभौम सत्ताको वास्तविक प्रयोग, आफ्नो स्वतन्त्र हैसियतको वास्तविक प्रयोग र अन्तराष्ट्रिय जगतमा आफ्नो प्रभावकारी उपस्थिति अहिले प्रस्तुत गर्दैछ । नेपालले आफ्नो स्वतन्त्र अस्तित्व स्वतन्त्र भूमिका निर्वाह गर्दै जाँदा सधैंभरी नेपालको राजनीतिमा निर्णायक प्रभाव राख्दै आएका बाह्य शक्तिहरु असन्तुष्ट हुनु, त्यसप्रति तरंङग पैदा हुनु र नेपालको त्यो स्वतन्त्र भूमिकालाई फेरि संकुचन गर्ने कोसिस हुनु स्वभाविक हो, अहिले हामी त्यो चरणमा छौं ।
दोस्रो हामीले राजनीतिक प्रणालीको रुपमा ठूलो परिवर्तन गर्यौं, ०६२/६३ को परिवर्तन जसलाई हामीले आफ्नो मौलिक ढंगको पूजिवादी जनवादी क्रान्ति भनेको छौं । यस्तो परिवर्तन सम्पन्न गरेर त्यसका उपलब्धीहरुलाई संविधानमार्फत संस्थागत गरिसकेपछि पुरानो ब्यवस्था र आर्थिक सामाजिक सम्बन्धका पक्षधरमा असन्तुष्टि गुनासो रहनु, यो प्रक्रियालाई उल्ट्याउने र नभए अवरोध गर्ने प्रयास हुनु अस्वभाविक होइन । त्यस्ता केही संकेत देखिएका छन् । अर्काे कुरा हामी आन्तरिक राज्य संरचनामा पनि एउटा वर्ग, एउटा समुदाय विशेषको हातमा रहेको सामाजिक वर्चश्वलाई तोडेर श्रमजीवि वर्गको हातमा वर्चस्व पुर्याउने मोडमा छौं । केही समययता आएर त्यो कुरा बरालिएको पनि छ । अभिजात वर्ग वर्गको हिसावले एक ठाउँमा भए पनि विभिन्न जात, विभिन्न भाषा, विभिन्न संस्कृति विभिन्न धर्ममा विभाजित छ । तर, त्यसको हातबाट श्रमजीवी वर्गको हातमा वर्चश्व ल्याउनको निम्ति एक जातको ठाउँमा अर्काे जातको वर्चश्व, एक भूगोलको ठाउँमा अर्काे भूगोलको वर्चश्व स्थापित गरेर यसलाई दिग्भ्रमित पार्ने कोसिस पनि भइरहेका छन् । तर पनि हामी अभिजात वर्गको वचृश्व तोडेर श्रमिक वर्गको वर्चश्व स्थापित गर्ने दिशातिर अगाडि बढिरहेका छौं । यसलाई स्वभाविक ढंगले अगाडि बढ्न नदिने प्रयास पनि स्वभाविक हो ।
यस्तो चुनौतीपूर्ण अवस्थामा प्रतिपक्षको भूमिका ज्यादै महत्वपूर्ण हुन्छ । लोकतन्त्र संस्थागत र सुदृढ भइसकेको अवस्थामा एउटा सवल प्रतिपक्षको जहिले पनि अपेक्षा हुन्छ र सवल प्रतिपक्ष विनाको लोकतन्त्रको हामी कल्पना पनि गर्न सक्दैनौं । तर, लोकतन्त्रमा जुन कुरामा पनि बलियो प्रतिपक्ष चाहिन्छ भन्ने कुरा निरपेक्ष सत्य होइन । त्यस्तो बेलामा, जतिबेला मुलुक संक्रमणबाट गुज्रिरहेको छ, आन्दोलनका उपलब्धीहरु बलियोगरी संस्थागत भइसकेका छैनन् । त्यो परिवर्तनलाई संस्थागत गर्ने र ब्यवहारमा कार्यान्वयन गर्ने चारणमा हामी जाहाँ छौं त्यहाँ सत्ता र प्रतिपक्षको परंम्पारागत परिभाषा र उनीहरुको परम्परागत पोजिसनिङ् अवस्थितिको बाटोबाट जानु हुँदैन । सत्ता र प्रतिपक्षको एउटा बलियो समझदारी जरुरी हुन्छ ।
नेपालको संविधान निर्माणमा मुख्यतया तीनवटा शक्ति, कांग्रेस, एमाले र एमाओवादीले निर्णायक भूमिका खेले । अन्य दलहरुको भूमिका पनि महत्वपूर्ण छ तर, निर्णायक भूमिकामा यी तीनवटा शक्ति रहे । संविधान कार्यान्वयनको सन्दर्भमा जव हामी छलफल गर्छाैं, कांग्रेसले आफूलाई प्रतिपक्ष भन्न मिल्दैन । संविधान कार्यान्वयनको सन्दर्भमा कांग्रेस पनि सत्तापक्ष हो । हामी जो संविधानका पक्षमा लाग्यौ ती सबै एउटा ठाउँमा उभिनु पर्ने स्थिति छ । यस मामिलामा मधेसका केही दलले आफूलाई प्रतिपक्ष भन्न सक्छन् । किनभने उनीहरु संविधान निर्माणको प्रक्रिायामा थिएनन् र अहिले यसलाई अबरोध गर्न पनि लागिरहेका छन् । अन्यथा संविधान निर्माणमा जुन दलहरुको ५ सय ३७ सभासद्हरुको हस्ताक्षर रह्यो ती दलहरु संविधान कार्यान्वयनको पक्ष हुन्, प्रतिपक्ष होइनन् ।
यस परिप्रेक्षमा अहिलेको प्रतिपक्ष नेपाली कांग्रेसका दुईवटा आयामहरु छन् । संविधान कार्यान्वयनको सन्दर्भमा नेपाली कांग्रेस पक्ष र सरकारका डे टु डे कुराहरुमा उ प्रतिपक्ष हो । दोस्रो हामीले संविधान कार्यान्वयनको जटिलता र संबेदनशीलतालाई मुल्याङ्कन गरेर १६ बुँदे सहमति गरिरहंदा संविधान निर्माण गर्ने अवधीसम्म कांग्रेसको नेतृत्व, त्यसपछि एमालेको नेतृत्वमा सहमतिकै सरकार बनाएर अगाडि बढ्ने समझदारी बनाएका थियौं र त्यो समझदारी देश र जनताको निम्ति अत्यन्तै महत्वपूर्ण थियो । दुर्भाग्यवस कांग्रेस त्यो इमानमा टिक्न सकेन । के पक्षले उसलाई बर्गेल्यायो, के कुराले उसलाई त्यो महत्वपूर्ण अभिभाराबाट बञ्चित गर्यो, त्यो समयक्रममा खुल्दै जाला । तर, जेसुकै भए पनि संविधान कार्यान्वयनको जटिल मोडमा सुशील कोइरालालाई प्रधानमन्त्रीको रुपमा उम्मेदवार बनाउनु, उहाँको संविधान निर्माणमा भएको योगदान अबमुल्यन हुनेगरी र सत्ता लोलुप देखिनेगरी उहाँको छवि बिगरिदिए । ती पक्षहरु जसले नेपालका मुख्य राजनीतिक पार्टीहरुले १६ बुँदे सहमति देखि नै नेपालको स्वतन्त्र हैसियत प्रदर्शन गरे, उनीहरुले आफ्ना स्वतन्त्र फैसलाहरु गर्न थाले र नेपालको स्वतन्त्र आत्मनिर्णयको अधिकार प्रकट हुन थाल्यो भनेर रुष्ट थिए । र त्यो एकतालाई उनीहरु तोड्न चाहन्थे । तिनीहरुलाई रिझाउनेगरी कांग्रेस किन यो निश्कर्षमा पुग्यो, बहसको विषय छ ।
मुलुक नाकाबन्दीको डढेलोमा सल्किरहेको बेला र मधेस आन्दोलनको आगोले पिल्सिरहेको बेला, संविधान कार्यान्वयनको त्यो बिन्दुमा कांग्रेसको पलायन अनपेक्षित थियो । अहिले हामी कांग्रेसले त्यो भूल सुधार गरोस् भन्ने चाहन्छौं । अहिले पनि राष्ट्रिय सहमतिको सरकारका साथ जाने, त्यसका कांग्रेस सरकारमा सहभागि हुने र हाम्रा अगाडि जति पनि कामहरु छन् सयौं नयाँ कानुनहरु बनाउनु छ, सयौं पुराना कानुनहरुलाई पनरावलोकन गर्नु छ । प्रदेशको सीमा मिलाउनु छ, प्रदेश राजधानी तय गर्ने, प्रदेश प्रमुखहरु निक्र्याैल गर्ने र सर्बाेपरी रुपमा संविधानको कार्यान्वयनको सुनिश्चितता सहित भूकम्पपछिको पुनर्निर्माण र आर्थिक समृद्धिका साझा एजेण्डामा मिलेर जानु जरुरी छ ।
नेपालले स्वतन्त्र हैसियत प्रयोग गर्दा त्यसको अभ्यास गर्दा त्यसबाट उत्पन्न तरंगहरुलाई हामीले अनुभुत गरिरहेका छौं । अर्थात् हाम्रो राष्ट्र स्वयं साच्चै नै सार्बभौम बन्ने प्रक्रियामा अगडि बढ्दा उत्पन्न हुने ब्यवधानसँग जुझिरहेको अवस्था छ । यस्तो बेला नर्मल अवस्थाको जस्तो सत्ता र प्रतिपक्षको अवस्थामा हामी जान सक्दैनौं । ४६ सालको अनुभवले पनि हामीलाई त्यही भन्छ– सत्तापक्ष र प्रतिपक्षको तिक्त सम्बन्ध र तिब्र धु्रवीकरणले १२ वर्षमै खोलो फर्काएको शिक्षालाई हामीले भुल्नु हुँदैन । त्यसैले हामी अहिले पनि नेपाली कांग्रेससँग सहमतिको पक्षमा छौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनपछि नेतृत्व परिवर्तन भएको छ, शेरबहादुर देउवा पार्टी सभापति हुनु भएको छ र उहाँ भारी मतका साथ संसदीय दलको नेता पनि निर्वाचित हुनु भएको छ । एउटा बलियो नेतृत्वका रुपमा शेरबहादुरको नेतृत्व उदाइरहेको छ । कांग्रेसले सफलतापूर्वक महाधिवेशन गरेकोमा, स्वस्थ विधिबाट नेतृत्व चयन गरेकोमा हामी खुशी छौं बधानई पनि दिन चाहन्छौं । शेरबहादुरजीले आफ्नो इमेजलाई सुधार्ने अबसर पनि हो यो । नेपालीमा एउटा उखान छ बाघको मुख खाए पनि रातै नखाए पनि रातै भन्ने । नामै शेरबहादुर भएको हुनाले उहाँको नेतृत्व चयनसँगै धेरै मान्छेका मनमा कांग्रेस के सत्ताभन्दा बाहिर रहीरहन सक्ला भन्ने प्रश्न उत्पन्न भइरहेको छ । हिजो त एक पटक चुक्यो चुक्यो, संविधान कार्यान्वयनको चुनौतीपूर्ण बेला कांग्रेसको पलायनले हिजो गल्ती गर्यो गर्यो । अव फेरि सत्ताको खेलमा लाग्ने र अस्थिरताको कारक बन्ने हो कि भन्ने आशंका मान्छेको मनमा छ ।
लोकतन्त्रमा सरकार परिवर्तन सामान्य विषय हो । तर अहिले हामी जुन परिस्थिति छौं, यसबेला सरकार परिवर्तनका खेलसँग संविधानको स्थायित्व कार्यान्वयनको प्रश्न जोडिन्छ । त्यसैले कांग्रेसको नयाँ नेतृत्व र सभापति शेरबहादुर देउवाले शेरबहादुर भन्ने वित्तिक्कै सत्ताको खेलमा लाग्ने, त्यसको निम्ति हुने नहुने सबै गर्ने ब्यक्ति हो भन्ने इमेजलाई बदल्न र अत्यन्तै जिम्मेवार र परिपक्व लोकतान्त्रिक नेता हो भन्ने स्थापित गर्न जरुरी छ । र हामी त्यो अपेक्षा गर्छाैं । चौथो नेपाली कांग्रेसका साथीहरुलाई आजका समस्याका कारण के हुन् भलिभाँती थाहा छ । यो सरकार बन्ने बेलामै मधेस आन्दोलन ५५ दिन पुरानो भइसकेको थियो, ४५ जनाको ज्यान गइसकेको थियो । भारतीय नाकाबन्दी तीन हप्ता भन्दा लामो भइसकेको थियो ।
सेवा र वस्तुको आपूर्तिमा भयानक अभाव र हताहतीको स्थिति थियो, हामी दशैंको मुखमा थियौं । भूकम्प गएको ६ महिना वितेको थियो र प्राधिकरण सम्बन्धी अध्यादेश अलपत्र अवस्थामा थियो । अर्थात् वर्तमान सरकार अघिल्लो सरकारका पालामा सिर्जित, कति मानव निर्मित कति प्रकृति निर्मित संकटको बीच्मा बनेको थियो । वर्तमान सरकार आइसकेपछि ती समस्याहरुलाई आधारभूत रुपले सम्बोधन गर्नका निम्ति उल्लेख्य प्रगति भइरहेको छ । नाकाबन्दी जस्तो चुनौतीलाई हामीले सामना गरेका छौं र त्यो अन्त्य भएको छ । मधेस आन्दोलन मत्थर भएको छ । कांग्रेस सरकारकै पालामा अगाडि बढाइएको संविधान संशोधन बिधेयक पारित भएको छ र मधेसका कतिपय दलहरुले उठाएका माग सम्बोधन भएका छन् । सीमाङ्कनका विषयमा राजनीतिक समिति बनाउने निर्णय भएको छ । नेपालको अन्तराष्ट्रिय सम्बन्ध नयाँ उचाईमा विकास भएको छ ।
अरु बेला भए इयुले एउटा वक्तब्य दिने वित्तिक्कै हाम्रा सारा अनुदान खोसिने भए भनेर नेपाल चुप लागेर बस्ने स्थिति हुन्थ्यो, विगतमा हामीले त्यो देखेका छौं । तर, जबर्जस्ती ब्यापारिक स्वार्थमा परेर इयुले अनपेक्षित टिप्पणी गरेपछि नेपाल सरकारले कडा प्रतिक्रिया ब्यक्त गर्यो र २४ घन्टा वित्दा नबित्दै इयु आफ्नो गलत कदम सच्याउन र नेपालको संविधानलाई आफ्नो पूर्ण समर्थन छ भन्ने ठाउँमा आइपुग्यो । एउटा स्वतन्त्र राष्ट्रले आफ्नो हैसियत प्रकट गरेर आफ्ना समस्या समस्या समाधान गर्न सकिंदो रहेछ । यो ढंगले हाम्रो राष्ट्रिय हैसियत विकसित भइरहेको छ । कमजोरीहरु छैनन् भन्ने होइन सरकारका । कांग्रेसलाई पुरापुर अधिकार छ सरकारको कमी कमजोरीका बारेमा आलोचना गर्ने । तर, आफ्नो नेतृत्वको सरकारका पालामा उत्पन्न समस्याको भारी यो सरकारले बोक्नु पर्यो त्यो समाधान गरे बापत धन्यवाद पनि नभन्ने र कमीकमजोरी मात्रै औंल्याउने त्यो जिम्मेवार प्रतिपक्षी भूमिका हुन सक्दैन । सारमा हामी पहिलो त हामी संविधान कार्यान्वयनको सन्दर्भमा कोही पनि प्रतिपक्षमा नरहेको स्थितिको अपेक्षा गर्छाैं । त्यसको निम्ति कांग्रेसलाई यो सरकारमा आएर राष्ट्रिय सहमतिको स्वरुप दिन आग्रह गर्छाैं । आफ्नै कारणले कांग्रेसलाई अहिले सरकारमा आउन अप्ठेरो छ भने संविधानको कार्यान्वयनको मामिलामा म प्रतिपक्षी होइन भन्ने जिम्मेवारी बोधका साथ प्रस्तुत हुन आग्रह गर्छाैं । सरकारका कमीकमजोरीको बारेमा आलोचना स्वीकार्य छ त्यो प्रतिपक्षीको दायित्व नै हो । तर, नेपाली कांग्रेस अस्थिरताको कारक नबनोस् । शेरबहादुरजीको छवि सधैं सत्ताको वरिपरी र सत्ताकै खेलमा लाग्ने ब्यक्तिका रुपमा नदेखियोस् । उहाँको छवि नधमिल्याउने काम उहाँको वरिपरीका मान्छेले नगरुन् । सभापति भइसकेपछिका उहाँका अभिब्यक्ति परिपक्व लागेका छन् । हामीलाई सरकारमा जाने हतारो छैन, सरकारमा जाने भन्दा पनि रचनात्मक प्रतिपक्षको भूमिका खेल्छौं । उहाँको त्यो जिम्मेवार भनाई नै हो । कांग्रेसभित्र सधैंको एउटा सनातनी चरित्र र प्रबृत्तिको रुपमा रहंदै आएको छ कि संसार बदलिएर कहाँबाट कहाँ पुग्यो, तर, उहाँहरु अहिले पनि शीतयुद्धकालीन चस्मा लगाएर बामपन्थीहरुलाई हेर्नुहुन्छ । नेपालले यति ठूलो राष्ट्रिय स्वाभीमान प्रकट गर्यो र सानो देशले पनि सही अडान लिने हो भने ठूला देशका अनुचित दवाव झेल्न सक्दो रहेछ भन्ने प्रमाणित भयो । तर, कांग्रेसका कतिपय नेतामा अहिले पनि समानतामा आधारित आफ्नै शक्तिमा भर परेर होइन, बाह्य शक्तिलाई रिझाएर कतिपय अनुचित कुरा स्वीकार गरेर भए पनि जानु पर्छ भन्ने मानसिकता देखियो । अस्ती इयु भारतको संयुक्त वक्तब्य आएपछि कांग्रेसका एकजना नेताको प्रतिक्रिया हेरेर मलाई लज्जाबोध पनि भयो । यतिसाह्रो आत्मसम्मान नभएको पनि नेता हुन्छन् भन्ने लाग्यो ।
उग्र कम्युनिस्ट विरोधी पूर्वाग्रह, बाह्य शक्तिसँगको अनावश्यक लसपस वा समर्पणभाव यी कुराहरुले गर्दा र तेस्रो कुरा सत्ताकै आडमा मात्रै पार्टी सञ्चालन गर्ने बानी परेकाले गर्दा कतिपयलाई सत्तामा जाने हतारो परेको पनि देखिन्छ । त्यसको निम्ति विभिन्न खालका अनुचित गठबन्धनहरु या सम्पर्कहरुमा पनि कतिपय ब्यक्तिहरु लागेको देखिन्छ । त्यसबाट मुक्त भएर कांग्रेस संविधान कार्यान्वयनको सहयोगीका रुपमा आओस् भन्ने हमी चाहन्छौं
No comments:
Post a Comment