Saturday, April 9, 2016

एसियाकै शक्तिशाली उद्यमी महिला

दिनेश यादव, काठमाडौं
चैत्र २७, २०७२- सधैं चर्चामा रहने नाम हो, नीता अम्बानी। उनी भारतकै सर्वाधिक धनाढ्य मुकेश अम्बानीकी पत्नी हुन्। फोर्ब्स अखबारले रिलायन्स फाउन्डेसनकी प्रमुखसमेत रहेकी नीतालाई यो वर्ष एसियाकै सर्वाधिक शक्तिशाली महिला उद्यमीमा सूचीकृत गरेको छ। यस क्षेत्रको ५० प्रमुख महिला उद्यमीको सूचीमा उनी शीर्ष स्थानमा परेकी हुन्। अर्बपति मुकेश अम्बानीकी पत्नी भएर मात्रै नीता चर्चामा आएकी होइनन्। उनको अनौठो रुचिले उनलाई चर्चामा ल्याइदिन्छ। 
नीता अम्बानी एउटी फेसन ‘आइकन’ का रूपमा समेत चिनिन्छिन्। कुनै पनि चलचित्र हस्तीभन्दा बढी चर्चामा रहन रुचाउने नीताका बारेमा अघिल्लो वर्षको जुलाईमा एउटा सन्देश यू–ट्युब र हाट्सअपमा भाइरल भएको थियो, जसमा नीताले ४० लाखको साडी लगाएको चर्चा गरिएको थियो। उनले रिलायन्स इन्ड्रस्ट्रिज ग्रुपका कार्यकारी प्रमुख पिरामल नाथवानीको छोराका विवाहमा उक्त साडी लगाएकी थिइन्। उनले यो साडी २०१४ मा समारोहमा लगाए पनि त्यसको एक वर्षपछि मात्रै यो चर्चामा आएको थियो। उक्त साडी भारतका लोकप्रिय आर्ट आइकन राजा रवि बर्माको पेन्टिङबाट प्रेरित थियो।
त्यसमा गरिएको कढाइमा सुनको तारहरू प्रयोग गरिएको थियो। साडीमा हीरा, एमराल्ड ‘रुबी’, पुष्पराज, टोपाज, पर्ल, क्याट आइज र कोरलको प्रयोग गरिएको थियो। चेनाईस्थि काञ्चीपुरमकी ३६ महिला कालिगढले उक्त साडी बनाएका थिए। साडीको तौल आठ किलोको थियो। तयार हुन पूरै एक वर्ष लागेको थियो। साडीमा कुनै पनि मेसिनको प्रयोग गरिएको थिएन। उक्त साडीलाई गिनिज बुक अफ टी वल्र्डमा रेकर्ड गरिएको छ।

 नीता अम्बानीको दिनको सुरुआत जापानको सबैभन्दा पुरो क्रोकरी ब्रान्ड ‘नोरिटेक’ को कपमा चिया पिएर हुन्छ, जसको मूल्य ३ लाख भारतीय रुपैयाँ पर्छ। उनी घडी फेरी–फेरी लगाउनमा रुचि राख्छिन्। यस क्रममा उनले घडीहरूको संग्रह नै गर्न भ्याएकी छन्। उनीबाट संग्रहित घडीहरूमा बुल्गारी, कार्टियर, राडो, गुची, केल्भिन, केलिन र फोसिलजस्ता ब्रान्ड छन्।
नीतालाई स्टाइलिस जुत्ताहरू लगाउन बढी मन पर्छ। यति मात्रै कहाँ हो र? उनले ड्रेस र जुत्ता कहिले पनि दोहर्‍याएर लगाउँदिनन्। आईपीएल टिम मुम्बई इन्डियन्सको को–अनरसमेत रहेकी नीताले यसमा करिब ११ दशमलव २ करोड अमेरिकी डलर खर्च गरेको रेकर्ड छ। उनलाई रिलायन्सको नन–एक्जिक्युटिभ डाइरेक्टरको उपाधि पनि प्राप्त छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार अम्बानी ग्रुपमा उनको कुनै ‘अपरेसनल’ भूमिका छैन। नीता सामाजिक काममा खुलेर सहभागी हुन्छिन्। 

 नीतालाई पहिलोपटक धीरुभाइ अम्बानीले एउटा कलेजमा आयोजित नृत्य कार्यक्रममा देखेका थिए। कार्यक्रम सकिए लगत्तै धीरुभाइले उनलाई फोन गरी भनेका थिए, ‘म धीरुभाइ बोलिरहेको छु।’ यो सुन्ने बित्तिकै नीता रिसाएर फोनै काटिदिएकी थिइन्। आफूले मन पराएको केटीलाई बुहारी बनाउने चाहन्थे, धीरुभाइ।
आफ्नो यो चाहनालाई उनी मिस गर्न चाहेनन्। फेरि फोन गरे। अर्को फोन पाएपछि नीताले धीरुभाइलाई व्यंग्य गर्दै भनेकी थिइन्, ‘म एलिजाबेथ टेलर हुँ।’ यति भन्दै फेरि उनले फोन काटिदिएकी थिइन्। त्यसपछि धीरुभाइ असामन्जसमा परेको बताइन्छ। उनलाई यो जिद्दी र घमण्डी केटीसँग कसरी कुरा गर्ने भन्ने परेको रहेछ। धेरै सोचेर उनले तेस्रो पटक नीताको बुबालाई नै फोन गर्दै भनेका थिए, ‘म वास्तवमै धीरुभाइ अम्बानी हुँ।’ त्यसपछि बल्ल कुरो मिलेको थियो। बुबाले कुरो मिलाइदिएपछि बल्ल सुरु भयो, नीता र मुकेशबीच डेटिङ। डेटिङमा मुकेशले नीतालाई सधैं आफ्नो मर्सडिज कारमा लिएर जान्थे। एक दिन नीताले भनिन्, ‘तपाईले मजस्तै राम्रो बसमा यात्रा किन गर्नु हुन्न? डबल डेकर बसको अग्र भागको सिट सबैभन्दा राम्रो हुन्छ।’ नीताको यो भनाइलाई अस्वीकार गर्नै सकेनन्, मुकेशले। त्यसपछि मुकेसले बसमै यात्रा गर्न थाले। नीतालाई बसको सबैभन्दा अगाडिको सिट मन पथ्र्यो। किनभने त्यहाँ बस्दा उनी समुद्र र त्यसको किनार हेर्न पाउँथिन्। यसो गर्नु उनलाई राम्रो लाग्थ्यो। 

नीतालाई पढ्न र पढाउन खुबै मन पथ्र्यो। मुकेशसँग विवाहपछि उनले एउटा स्कुल पनि खोले। यसो गर्नुको कारण थियो, नीता आफ्नो जीवनको बाँकी समय बालबालिकालाई पढाएर बिताउन चाहन्थिन्। उनले प्राथमिक विद्यालयका बालबालिकाहरूलाई पढाएर शिक्षण पेसा सुरु गरेकी थिइन्। विवाहको आठ वर्षपछि उनी आमा बनिन्। नीताले यो समयलाई सबैभन्दा राम्रो मान्छिन्, यसका लागि ईश्वरलाई धन्यवाद पनि दिइन्। किनभने उनलाई एउटी आमाको भूमिकामा रहन औधी मन पर्छ। तर, उनलाई आफ्नो सन्तानसँग खिचिएको तस्बिर अरूलाई देखाउन मन पर्दैन। त्यसैले उनले आफ्नो सन्तानको फोटो कहिले पनि सामाजिक सञ्जालमा सेयर गरिनन्। यसबारे उनी भन्छिन्, ‘संसारले मेरो सन्तानलाई तिनीहरूको आफ्नै नामले चिनून्, आमाबुबाको नामले होइन।’ नीताले आफ्नो सन्तानसँग धेरै कुरा सिकेको बताउँछिन्। भन्छिन्, ‘एकपटक जब म स्कुलको रुटिन बनाइरहेको थिएँ, हरेक विषयका लागि एक घण्टाको समय निर्धारण गरेकी थिएँ।
 रुटिन बनाइरहेकै बेला ईशा र आकाश नीताको नजिकै आएर भने, ‘कुनै पनि विषयलाई ४० मिनेटभन्दा बढी नराख्नुस् किनभने बाँकी २० मिनेट समय अन्यत्र मोडिने गर्छ, विद्यार्थीलाई अल्छी लाग्न थाल्छ।’ नीताले आफ्ना सन्तानको यो कुरामा सहमत हुँदै ४० मिनेट नै निर्धारण गरिन्। नीतालाई मानिससँग भेटघाट गर्न मन पर्छ। तर, उनका श्रीमान् मुकेश धेरैसँग भेटघाट गर्न रुचाउँदैनन्। नीता हरेक दिन ७ बजे उठ्छिन्। नृत्य अभ्यास र चियाको चुस्कीपछि उनले आफ्नो दैनिकी सुरु गर्छिन्। नीताका लागि नृत्य एउटा मेडिटेसनजस्तै बनेको छ। नृत्यलाई आफ्नो भगवान् ठान्छिन्। नीताको कुनै फिक्स अफिस नै नभएको भन्नेहरू पनि छन्। किनभने उनी स्कुलमा हँुदा त्यहीँबाट अफिस सञ्चालन गर्छिन्, जब उनी आईपीएलमा हुन्छिन्, त्यहीँ उनको कार्यालय हुन्छ। अस्पतालमा हुँदा उनको सबै मिटिङ त्यहीँ हुने गर्छ। 

नीता अम्बानीको जन्म १ नोभेम्बर १९६४ मा मुम्बईको एक मध्यम परिवारमा भएको हो। उनका बुबा बिरलाको एक कम्पनीमा उच्च अधिकारी थिए। नीतालाई सानैदेखि भारतीय क्लासिकल नृत्यमा रुचि थियो। त्यसैले उनी यसमा आफ्नो करियर बनाउन चाहन्थिन्। तर, उनकी आमा भने छोरीलाई चार्टर्ड एकान्टेड (सीए) का रूपमा हेर्न चाहिन्थन्। उनको भाग्यमा भने भारतकै सबैभन्दा धनाढ्यकी पत्नी बन्ने लेखेको पो रहेछ। नीताको उच्च शिक्षा मुम्बईको प्रसिद्ध नरसी मोंजी कलेज अफ कमर्स र इकोनमिक्सबाट भएको हो। जहाँसम्म उनको करियरको कुरो छ, उनले २००३ ले धीरुभाइ अम्बानी इन्टरनेसनल स्कुलबाट करियर सुरु गरेकी हुन्। यो स्कुल मुम्बईको नाम चलेकै विद्यालय हो। 

भारतमा इन्टरनेसनल बेक्केलरेट कार्यक्रम सञ्चालन गर्ने ३७ विद्यालयमध्ये उनको स्कुल पनि एक हो। सन् २००५ मा उनलाई इन्टरनेसनल वुमन डेमा भारत नारी शक्ति संगठनले समाज सेवा विश्व भूषणले पुरस्कृत गरेको थियो। सन् २०१२ मा एआईएमएबाट कर्पाेरेट सिटिजन अफ दि इयरको पुरस्कार प्राप्त भएको थियो। यो वर्ष उनले ‘एसियाको ५० शक्तिशाली उद्यमी महिला’ को उपाधि हात पारेकी छन्। नीता र मुकेशका तीन सन्तानहरू ईशा, अनन्त र आकाश छन्। 
(एजेन्सीहरूको सहयोगमा) 


http://bit.ly/1VG50Hb

No comments:

Post a Comment