Thursday, April 7, 2016

ज्याेितषाशास्त्र अनुसार यस्ताे छ २०७३ साल आजबाट नयाँ चान्द्रवर्ष

joytish sasthaचन्द्रमासअनुसार आज चैत्र शुक्ल पक्षको प्रतिपदा तिथि हो । आजबाट नयाँ शाके संवत् र नयाँ संवत्सर सुरु हुँदैछ । आजबाट सुरु हुने संवत्सरको नाम सौम्य हो । सनातन हिन्दू धर्मसंस्कृतिका कुनै पनि कर्म गर्दा सङ्कल्प उच्चारण गर्ने प्रचलन छ र सङ्कल्पमा अनिवार्य रूपमा संवत्सरको उच्चारण गरिन्छ । सामान्य अर्थमा संवत्सरको अर्थ वर्षको नाम हो, यस्ता संवत्सर ६० वटा रहेका छन् । साठीवटा संवत्सरमध्ये सौम्य नामक संवत्सर त्रिचालीसौं क्रममा पर्दछ ।
सौम्य संवत्सरको फल यस्तो छ :
सौम्याब्दे निखिला लोकाः बहुसस्यार्घ वृष्टिभिः ॥ विवैरिणो धराधीशाः विप्राश्चाध्वरतत्पराः ॥
यसको अर्थ हुन्छ : यस वर्ष लोकमा प्रशस्त वृष्टि हुन्छ, जनता खुसी हुनेछन्, परस्परमा वैमनस्य हट्नेछ, धार्मिक कृत्यतर्फ सबैको मन जानेछ, तर महङ्गी बढ्नाले जनता मारमा पर्नेछन् र राज्यपक्षले सुशासन र स्थिरतातर्फ ध्यान पुर्याउन सक्ने छैन, त्यसैले जनतामा निराशा र खिन्नता बढ्ने छ ।
चैत्र शुक्लपक्षको प्रतिपदा तिथिका दिन जुन बार पर्छ, त्यस बारको आधिपत्यमा ग्रह परिषद्को गठन हुने गर्छ, त्यसैले आज शुक्रबार परेको हुँदा आगामी वर्ष २०७३ को राजा शुक्र हुनेछ । त्यसैले वैशाख दिन जुन बार पर्छ, त्यसैले प्रधानमन्त्रीको भूमिका निर्वाह गर्ने प्रचलन छ । यस पटक वैशाख १ गते बुधबार पर्ने भएकाले ग्रह परिषद्को मन्त्रीको भूमिकामा बुध ग्रह रहने छ । गत २०७२ सालमा संवत्सरको नाम किलक, राजा शनि र मन्त्री मङ्गल रहेका कारणले जनताले निक्कै शास्ती पाए । भूकम्प लगायतका प्राकृतिक प्रकोप सहनु पर्यो । दक्षिणी छिमेकीको लामो नाकाबन्दीको प्रभाव र मार जनताले सहनु पर्यो, हवाइ र स्थलमार्गमा अनेकानेक दुर्घटना भए । तर अहिले संवत्सर शुभकारक, राजा र मन्त्री दुबै शान्त र सौम्य प्रकृतिका ग्रह रहेकाले आम रूपमा आगामी नयाँ वर्ष २०७३ साल सुखसन्तोष र सम्मृद्धिकारक वर्षकै रूपमा आउने कुराको सङ्केत गर्न सकिन्छ ।
राजा शुक्र रहँदा वर्षको यस्तो फल प्राप्त हुन्छ :
शुक्र राजा भएको समयमा नदी, तालतलैया, पोखरीमा पर्याप्त पानी रहने छ, धान्यादि अन्नको प्रशस्त उत्पादन हुनेछ, फलफूलले रुख झकिझकाउ हुनेछन्, गाईले प्रशस्त दूध दिनेछिन् ।
सामान्यतया शुक्र ग्रहको प्रभाव स्त्री जाति, भोगविलासका साधनहरू, गीतसङ्गीत, कलाकौशल, मनोरञ्जनात्मक क्षेत्र, खेलकुद र कामुकतामा हुने गर्दछ । त्यसैले आगामी वर्ष शुक्र राजा भएकाले राष्ट्रको आर्थिक अभिबृद्धिको सङ्केत देखिंदैछ । भोगविलासको साधन जुटाउन जनता लालायित हुनेछन् । आधुनिक उपकरण र मोटरकारलगायतका सवारीसाधनको कारोबार फस्टाउने छ । कला, सङ्गीत, मेकअप, फेसनडिजाइनका वस्तु, रेडिमेड कपडाको कारोबारमा बृद्धि हुनेछ । सामाजिक जनजीवन, चलचित्र, साहित्य र टेलिफिल्ममा कामुकता र उत्ताउलोपनको दबदबा कायम रहने छ । धान, गहुँ, उखु, मकै आदि वर्षेबालीको उत्पादनमा बृद्धि हुने छ ।
ज्योतिषीय गणनाबमोजिम यस वर्षको राजाको वाहन दर्दूरः अर्थात् भ्यागुतो हो । त्यसैले कतैकतै अत्यधिक वर्षा हुन गई बाढी, पहिरो र भूस्खलनका समस्या देखिने छन् भने कतै खडेरीको चपेटामा जनता आकुलव्याकुल हुने सम्भावना पनि छ ।
आगामी २०७३ सालको ग्रह परिषद्को मन्त्री बुध ग्रह छ । बुध मन्त्री हुँदा निम्नानुसारको फल प्राप्त हुने उल्लेख गरिएको छ :
 शशिसुते शुभमन्त्री समागते स्वपतिना कुरुते मदन क्रियाम् ॥ बहुधनं बहुवारिसमन्वितं यवमसूरिचणान्न महर्घता ॥
चन्द्रपुत्र बुध मन्त्री पदमा बसेको वर्षमा शासकको मुख्य ध्येय मनोरञ्जन र भोगविलास हुनेछ, राज्यसत्ता जनताप्रति जिम्मेबार हुँदैन, यद्यपि राज्यकोष र राज्यवैभव बढ्ने छ, जौ, मुसुरो र चना जस्ता हिउँदे बालीको मूल्यबृद्धि हुनेछ ।
बुध ग्रह शान्त र सौम्य प्रकृतिको ग्रह भए पनि सौखिन र आरामप्रिय तर विद्वान् ग्रह मानिन्छ । ज्ञानविज्ञान र प्रविधिको जानकार ग्रह भए पनि दायित्व र जिम्मेबारीबोध बुध ग्रहमा ढिलो सुरु हुने गर्दछ । बुध मन्त्रीको पदमा आसीन भएकाले पत्रकारिता, लेखन, शिक्षणप्राध्यापन र प्राविधिक सीपसँग जोडिएका व्यक्तिका लागि यो वर्ष उन्नतिकारक र उत्साहवर्द्धक रहने छ, त्यस्तै दैनिक उपभोगका वस्तुको कारोबार गर्ने व्यक्तिका निमित्त आर्थिक सफलता प्राप्त गर्ने वर्ष देखिन्छ । तर राज्यपक्षबाट सोचविचार नगरी महत्त्वाकाङ्क्षी कार्ययोजना बनाउने तर कार्यान्वयनमा खास ध्यान पुर्याउन नसक्नाले जनतामा आगामी वर्ष राहतको अनुभूति हुन पाउने देखिंदैन । जनतालाई दिएको आश्वासनअनुरूप काम गर्नुको सट्टा सरकारी अधिकारीहरू सुखसुविधा जुटाउने होडमा प्रतिस्पर्द्धा गर्नेछन् । विकासनिर्माणमा भन्दा मनोरञ्जनात्मक क्षेत्र, उद्घाटन, शिलान्यास आदि औपचारिक सभासमारोहमा अनियन्त्रित खर्च बढ्ने छ ।
यस पटक कृषि क्षेत्रमा दुई वटा ग्रहको प्रभाव देखिन्छ, वर्षे बालीको जिम्मेवारी ९सस्येश० शनिश्चरले र हिउँदे बालीको जिम्मेवारी ९धान्येश० बृहस्पतिले प्राप्त गरेका छन् । सस्येश शनिश्चरको फल यस्तो छ :
रविसुते यदि धान्यपतौ जनो नृपतिभिः परिपीडितविग्रहः ॥ गदभयं तुषधान्यहरं सदा दुरितवादविवादयुता नरः ॥
धान्येश बृहस्पति भएमा यस्तो फल पाइन्छ :
गुरौ धान्यपतो याति यवगोधूमशालयः ॥ पच्यन्ते सर्वदेशेषु यज्वानो ब्रह्मवादिनः ॥
शनि र बृहस्पतिको कृषिक्षेत्रमा प्रभाव रहँदा जौ, मकै, धान, गहुँ आदि अन्नादिको प्राकृतिक प्रकोपका कारण नोक्सानी हुनेछ र खाद्यान्न महँगो हुनपुग्छ । सरकारले उट्पट्याङ क्रियाकलाप र निर्णय गर्नेछ, त्यसैले कृषिप्रधान मुलुकका आम जनता सरकारका क्रियाकलाप र अदूरदर्शिताको मारमा पर्ने सम्भावना हुन्छ । कृषक समुदायको पीडामा राज्यपक्ष गम्भीर नबन्नाले कृषक वर्ग शासक र सरकारप्रति रुष्ट बन्नेछन् । वर्षान्तमा जनता आन्दोलित बन्नाले सरकार अप्ठ्यारोमा पर्नसक्ने सम्भावना देखिन्छ । एकातिर प्राकृतिक विपत्तिले जनता मारमा पर्ने सम्भावना हुन्छ भने देशका कतिपय भागमा साङ्क्रामक रोगव्याधि फैलने खतरा पनि छ ।
सिंचाइ मन्त्रालयको जिम्मेबारी क्रमशः बुध र चन्द्रमाले पाएका छन् । मेघको स्वामित्व बुध र रसको स्वामित्व चन्द्रमाले गर्दैछन् ।
बुध ग्रहले मेघेशको जिम्मा लिंदा यस्तो फल प्राप्त हुन्छ :
अमृतरश्मियुते यदि वारिपे बहुजलं तुषधान्यरसादिकम् ॥ द्विजवराः यजनोत्सुकचेतसा विविभसौख्ययुता धरणी सदा ॥
त्यस्तै चन्द्रमा रसेश हुँदा यस्तो फल हुन्छ :
यदि विधौ रसपे भुवि मानवो नवनवां युवतीं बुभुजे प्रियाम् ॥ जलधरा बहुवारिविधायकाः रसवती धनधान्यवती मही ॥
त्यसैले यस वर्ष पर्याप्त वर्षा हुनेछ । लोकमा आनन्दको सञ्चार हुनेछ, नयाँनयाँ योजनातर्फ सबैको ध्यान आकृष्ट बन्नेछ । सिसा, फलाम लगायतका सामाग्रीहरूको मूल्य बढ्नेछ । फलेश पदमा आसीन मङ्गललाई विचार गर्दा फलफूलहरूको उत्पादनमा मन्दी हुनाले मूल्य बढ्ने छ । मङ्गल ग्रहको रातो रंग भएकाले रातो देखिने स्याउ, अनार आदि फलभने सर्वसुलभ र सस्तो हुनसक्छ ।
शनिश्चर ग्रहले यस वर्ष पदार्थ र धातुको स्वामित्वसमेत पाएको छ । यसरी निरसेश शनि भएमा पाइने फलको उल्लेख यसरी गरिएको देखिन्छ:
त्रपुपिण्डादि लोहानां कृष्णवस्त्रादि वस्तूनाम् ॥ अर्घबृद्धि प्रजायते मन्दे नीरसनायके ॥
यसको भावार्थ हो :  शनि नीरसको भूमिकामा भएकाले धातु र यसबाट बनेको वस्तुको र ऊन, गलैंचा आदि कपडाको मूल्यबृद्धि हुनेछ । उता आर्थिक अधिकार पनि शनिश्चरले पाएको छ । त्यसैले धनी र मालिकप्रति गरीब र कर्मचारी उदासीन देखिने छन् । ठूलठूला उद्योगधन्दा र कलकारखानामा ट्रेड युनियन र सङ्गठनको दबाबमा केही हीतकारी आन्दोलनहरू सफल भए पनि मालिक र कारिन्दाका बीचको दूरी झनझन बढ्ने सम्भावना देखिन्छ । यस वर्षमा सुरक्षा निकायको जिम्मेबारी बुधले पाएको छ । शान्त र सरल प्रकृतिको ग्रह सेनापति बनेको हुँदा देशको आन्तरिक मामिला र सीमा विदेशीको बोलबाला कायम हुनेछ । शान्तिसुरक्षा खलबलिने छ, यौनजन्य आपराधिक क्रियाकलापमा बृद्धि हुनेछ । बाह्यशक्तिको प्रभावमा देशले दूरगामी असर पर्ने सन्धिसमझौता गर्नुपर्ने बाध्यता सिर्जना हुनेछ ।
जगल्लग्न कुण्डलीमा बृश्चिक लग्न छ । लग्नमा मङ्गल र शनिको युतिसम्बन्ध देखिन्छ । दशौं घरमा बृहस्पति ग्रह मित्र सूर्यको घरमा गएर बसेको देखिन्छ । त्यसैले वर्षको सुरुवातमा केही प्राकृतिक उपद्रवको सम्भावना यो वर्षसमेत रहने देखिन्छ, तर यसको प्रभाव पश्चिम र दक्षिणका मुलुकमा बढी पर्ने सम्भावना हुन्छ । नेतृत्ववर्ग र राज्यपक्ष अडिगजस्तो देखिए पनि आयोजनापरियोजनाको कार्यान्वयन पक्ष सफल बन्ने छैन । निकटका शक्तिहरू नै त्यसमा बाधक बन्नेछन् । बृहस्पतिको प्रभाव भने सुखद नै छ । धार्मिक, सांस्कृतिक अतिक्रमणका प्रयास भए पनि सफल हुने छैन । केही राम्रा कामको सुरुवात हुनेछ ।

No comments:

Post a Comment