Saturday, April 9, 2016

अमेरिकामा बिल क्लिन्टनले यसरी कोरिदिए नेपाली विद्यार्थीको भाग्यरेखा !

काठमाण्डाै / अमेरिकाको न्युयोर्कस्थित ह्यामिल्टन कलेजमा स्नातक तहमा अध्ययनरत एक नेपाली विद्यार्थी पूर्वराष्ट्रपति बिल क्लिन्टनले सञ्चालन गरेको क्लिण्टन ग्लोबल इनिसिएटिभ युनिभर्सिटीको उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । ललितपुरका २१ वर्षीय सरीफ श्रेष्ठ ग्रामीण जनताको आर्थिक स्तर सुधारमा स्थानीय जडिबुटी खेतीसम्बन्धी आफ्नो परियोजनाबारे प्रस्तुतिका लागि छानिएका हुन् ।
विश्वभरिका विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ हजार भन्दा धेरै विद्यार्थीहरुमध्येबाट सरिफ उत्कृष्ट पाँचमा पर्न सफल भएका हुन् ।गत अप्रिल १ मा सरिफले क्लिण्टनसहितको उपस्थितिमा युनिभर्सिटीको कार्यक्रम उद्घाटन सत्रमा संखुवासभाको मुढे र चिराईंतेमा आफूहरुले शुरु गरेको जडिबुटी खेतीसम्बन्धी परियोजना र त्यसले गाउँलेको जीवनमा ल्याएको परिवर्तनबारे आफ्नो प्रस्तूति दिएका थिए ।
त्यस अवसरमा सरिफसहित उत्कृष्ट पाँचैजना विद्यार्थीलाई साँढे ६ हजार सहभागिका बीच पूर्व अमेरीकी राष्ट्रपति क्लिन्टनले स्टेजमा परिचित गराएका थिए ।
b2सरीफसहित संस्थापक रहेको परिवर्तनका लागि जडीबुटी (हबर््स फर चेञ्ज) नामक संस्थाले संचालन गरेको कार्यक्रमबाट जिल्लाका मुढे र चिराँईंतेका स्थानीयले आधुनिक तरिकाबाट चिराईतो खेती र त्यसको बिक्रीमार्फत आफ्नो आयस्तरमा ७५ प्रतिशतले बृद्धि गर्न सफल भएका छन् ।
२ वटा चिराईंतो नर्सरीबाट शुरु भएको आफ्नो परियोजनामा हाल २३ जना स्थानीयले रोजगारी पाएको जानकारी दिंदै सरीफले आगामी दिनमा यसलाई अझ बृहत रुपमा अघि बढाइने बताए ।
अघिल्लो वर्ष पनि सोही कार्यक्रमको उत्कृष्ट १५ भित्र पर्न सफल सरीफले पुरस्कार बापत प्राप्त रकम स्थानीयका लागि जडीबुटी आयोजना निर्माणमा खर्च गरेका थिए ।
नेपाल प्राकृतिक श्रोतसाधनमा निकै धनी रहेकाले ग्रामीण स्तरमा पाइने असंख्य जडीबुटीहरुको व्यावसायिक खेती र व्यापारमार्फत त्यस क्षेत्रका जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिने सरीफले आफ्नो खोजमार्फत पुष्टि गरेका छन् ।
कार्यक्रममा सरीफसहित प्रस्तुतिका लागि छानिएका सबै विद्यार्थीहरुलाई युनिभर्सिटीका संरक्षकसमेत रहेका पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिण्टनले बधाई तथा शुभकामना दिएका थिए ।
विश्वभरीका राजनेताहरुबीच पनि विकास र अन्य विषयमा अन्तक्र्रिया गराँउदै आएको क्लिण्टन युनिभर्सिटीले युवा विद्यार्थीहरुबीच पनि यसखाले कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा उत्कृष्ट छनोट भएपछि आफूलाई थप हौसला मिलेको बताँउदै सरिफले आफू अध्ययन सकेर नेपाल फर्किएपछि नेपालका ग्रामीण क्षेत्रका जीविकोपार्जनको स्तर सुधार्न काम गर्ने वाचा गरे ।
क्लिण्टनसहित विश्वका ६ हजार बढी सहभागीमाझ आफ्नो प्रस्तुतिले नेपाल र नेपालीकै गौरव बढाएको सरीफको विश्वास छ । अमेरिकामा छोराको छनौट र प्रस्तुतिबाट सरीफका अभिभावक निकै खुसी भएका छन् ।
उनको सफलताबाट नेपालले समेत गौरव गर्नुपर्ने उनीहरु बताँउछन् । सरीफका पिता वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदीप श्रेष्ठ नेपालमा पनि यस्ता थुप्रै प्रतिभाशाली विद्यार्थीहरु रहेको तर राज्यले उनीहरुको प्रतिभा उजागर गर्न कुनै अवसर नदिएको बताउँछन् ।
सानैदैखि तीक्ष्ण र सीर्जनशील काम गर्न रुचाउने सरीफको सफलताले आफूहरुमात्र नभै देशकै शीर उँचो बनाएइको सरीफकी आमा स्वरुपाको भनाइ छ । आफ्नो अनुसन्धान र परियोजनामार्फत क्लिण्टन युनिभर्सिटीजस्तो अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्थाबाट परिचित हुन पाउने बिरलै भाग्यमानी नेपाली युवामध्ये एक हुन् । काठमाण्डु टुडेबाट

No comments:

Post a Comment