Saturday, April 9, 2016

उस्तै, उस्तै र उस्तै

सुशील पौडेल, काठमाडौं
चैत्र २७, २०७२- हरेक कालो बादलमा पनि चाँदीको घेरा हुन्छ । २०७२ सालमा देशलाई महाभूकम्प र नाकाबन्दीका दुई ठूला काला बादलले ढाक्यो । फिल्म क्षेत्र पनि अछुतो रहेन । चार महिनासम्म न हल खुले न फिल्म चले ।
तर यसै वर्ष स्वदेशी फिल्म उद्योगले भने इतिहासकै सुखद व्यापार गर्‍यो । वर्षभर ६७ फिल्म रिलिज हुँदा कम्तीमा आठ फिल्मले नाफा कमाए भने केहीले स्वदेशबाटै लगानी सुरक्षित पारे । वर्षको अन्तिम साता रिलिज भएका ‘रामप्यारी’ र ‘नाइँ नभन्नु ल ४’ को भने नतिजा आउन बाँकी नै छ ।
‘जालमा...’ गीतको भरमा वैशाख ११ मा वर्षको ब्लास्ट ओपनिङ गरेको ‘रेशम फिलिली’ ले भोलिपल्टको महाभूकम्पले देश नै फिलिली पारेपछि दोस्रो रिलिज गर्नुपर्‍यो । देशदेखि विदेशसम्म फिल्मले गतिलो व्यापार र समीक्षा बटुल्यो । फिल्म उद्योगका लागि यस फिल्मले निर्देशक प्रणव जोशी र कलाकार कामेश्वर चौरसियालाई चिनायो ।
महाभूकम्प र सँगैको नाकाबन्दीका कारण चार महिना उद्योग शिथिल बन्यो । यस अवधिमा सात फिल्म त रिलिज भए । तर कहाँ चले, कसले हेरे भन्ने अवस्थामा पुगे । सुरज भुसाल निर्देशित ‘होस्टेल रिटन्र्स’ ले शून्यता भंग गर्दै भदौ ४ मा रिलिजको हिम्मत राख्यो ।
भूकम्पले संरचनासँगै त्राहीत्राही र नाकाबन्दीले आर्थिक संकटमा परेका दर्शक अनपेक्षित रूपमा उर्लेर हलमा आइदिए । त्यसपछि लगत्तै आएको ‘भैरव’, ‘वडा नम्बर ६’ ले हलमा घुइँचो ल्याए ।
दशैंको बिदा फिल्म व्यापारको लागि उत्तम मानिन्छ । त्यसैले पनि यसपटक दसैं छेकोमा चार फिल्म भिडे, ‘अधकट्टी’, ‘परदेशी’, ‘ठमेल डटकम’ र ‘सुश्री’ । तर अन्य फिल्म प्रशान्त तामाङ स्टारर ‘परदेशी’ को व्यापारमा लपेटिए ।
‘परदेशी’ वर्षकै सर्वाधिक कमाइ गर्ने फिल्म बन्यो । तिहारमा निखिल उप्रेती अभिनीत ‘लुटेरा’ ले मध्यम व्यापार गरिरहँदा रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी’ फेरि एकपटक बक्सअफिसमा रौनक थप्न सफल रह्यो ।
कुनै बेला निश्चल बस्नेतको ‘लुट’ ले स्थापित धेरै मान्यतालाई भत्काइदिएर नयाँ बाटो कोरेको थियो । नेपाली फिल्मलाई आधुनिक इतिहासमा प्रवेश गराउन कोसेढुंगा सावित भएको थियो । यस वर्ष त्यस्तै छनक दिएर आयो, ‘पशुपतिप्रसाद’ ।
‘टलकजंग भर्सेस टुल्के’ बाट फिल्मी दर्शकमाझ भर्खर चिनिन थालेका रंगकर्मी खगेन्द्र लामिछानेलाई ‘हिरो’ बनाएर पाशुपत क्षेत्रको आर्यघाटमा कथा र पात्र केन्द्रित गरी सानो बजेटमा बनाइएको उक्त फिल्मले समीक्षकबाट वाहवाही त पायो नै, दर्शक पनि पायो । सही कथा सही ढंगले पस्कन सके फिल्म चल्न बजेट र हिरो नभए पनि हुन्छ भन्ने उदाहरण पेस गरिदियो ।
नेपाली फिल्मका सदाबहार हिरो भुवन केसी अभिनयसँगै निर्माणमा पनि सफल मानिन्छन् । २०७२ मा भने उनले आफूलाई निर्देशकका रूपमा जाँच्न चाहे र ल्याए ‘ड्रिम्स’ । फिल्म मल्टिप्लेक्सदेखि सिंगलस्क्रिन थिएटरसम्म हाउसफुल साथ चल्यो ।
फिल्म चल्नुमा कतिपयले अभिनेता अनमोल केसीको स्टार क्रेजलाई पनि जश दिए । त्यसबाहेक ‘क्लासिक’ र ‘प्रेमगीत’ एकसाथ जुधेर पनि मध्यम व्यापार गर्न सफल रहे ।
को चले ? के चले ?
वर्ष २०७२ मा सर्वाधिक चले खगेन्द्र लामिछाने । रंगमञ्चमा कलाकार, लेखक र निर्देशन तीनै विधामा सफलता चाखिसकेका उनी ‘पशुपतिप्रसाद’ मा पुन: एकपटक लेखन र अभिनय दुवै विधा समातेर दर्शकमाझ आएका थिए । त्यसअघि पनि उनले ‘टलकजंग भर्सेस टुल्के’ मा आफूलाई प्रमाणित गरिसकेका थिए ।
पितृको अस्तु सेलाउने मिसनमा लागेको एक गाउँले केटोको पशुपति आर्यघाट संघर्षको कथा पनि फिल्मको पटकथा हुन सक्छ र चरितार्थ गर्न आँट राख्ने खगेन्द्र ‘पशुपति प्रसाद’ मा लगानी गर्ने साहस राखे । अन्तत: प्रसाद पनि उनैले चाख्न पाए ।
‘पशुपतिप्रसाद’ लाई रसिला आँखा लिएर हेर्नुपर्ने बनाउने निर्देशक दीपेन्द्र के खनाल वर्षका अर्का सफल मानिए । झन्डै दुई साताभित्रमा खासै खर्च नगराई सुटिङ सकाएका दीपेन्द्रकै कन्सेप्ट थियो ‘पशुपति प्रसाद’ ।
त्यसलाई प्राण भरेका थिए खगेन्द्रले । ‘चपली हाइट’ जस्तो सेक्स–थ्रिलर होस् वा ‘झोले’ जस्तो लाइट कमेडी, सबै विधामा आफूलाई उत्तीर्ण गराएका दीपेन्द्र ‘पशुपती प्रसाद’ बाट भने बच्चादेखि बूढासम्मका प्रिय बने ।
स्टारडम खस्किरहेका बेला उदाएका नायक हुन् अनमोल केसी । लगालग दुई हिट फिल्म ‘होस्टेल’ र ‘जेरी’ दिएका उनले ‘ड्रिम्स’ बाट सफलतामा ह्याट्रिक मारे । फ्यान फलोइङ दोब्बर पारे । अहिले उनी सर्वाधिक पारिश्रमिक लिने कलाकारमा दरिएका छन् । यही फिल्मबाट आएकी हिरोइन साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि निकै चर्चा बटुलिन् ।
‘लुट’ पछि दयाहाङ राई र सौगात मल्लको जोडी हिट भयो । फिल्मका लागि उनीहरू ‘मह’ जोडीजस्तै थिए । तर वर्ष २०७२ मा दयाहाङले क्याम्प फेरे र लागे नायिका प्रियंका कार्कीतर्फ । वर्षभर यी दुई अभिनीत तीन फिल्म ‘वडा नम्बर छ’, ‘कबड्डी कबड्डी’ र ‘फन्को’ आए । जसमा ‘फन्को’ मात्रै चलेन ।
तर कार्की एण्ड राई जोडी चल्यो । यस वर्ष पनि दुई अभिनीत फिल्मको लाइनै लाग्नेछ ।
वर्ष २०७२ मा कलाकार, निर्देशक र कन्टेन्टसँगै गीत/संगीत पनि चल्यो । ‘रेशम फिलिली’ को ‘जालमा’ गीत यति चल्यो कि कभर सङ र भिडियो बनाउने ह्वीम नै चल्यो । उक्त गीतले संगीतकार कालीप्रसाद बाँस्कोटालाई मेनस्ट्रिममा ल्याइदियो । त्यसैगरी ‘वडा नम्बर छ’ को ‘सुर्के थैली’, ‘परदेशी’ को ‘विछोडको करौंतीले’, ‘प्रेमगीत’ को ‘म यस्तो गीत गाउँछु’ गीत मात्रै चलेनन्, फिल्म चलाउने गतिलो हतियार पनि बने ।
कुन कुन चलेनन् ?
वर्ष २०७२ आर्यन सिग्देलका लागि खासै जमेन । उनका ‘क्लासिक’ र ‘आवेग’ दुई फिल्म रिलिज भए । नम्रता श्रेष्ठसँगको उनको ‘क्लासिक’ प्रदीप खड्का र पूजा शर्मा अभिनीत ‘प्रेमगीत’ सँग जुध्यो ।
नोटिस हुन नपाएका प्रदीप र चल्न नसकिरहेकी पूजाको जोडीअघि आर्यन–नम्रताले समेत घुँडा टेके । आर्यनका लागि झन् अप्रिय अनुभव भने ‘आवेग’ मा रह्यो । एक्सन अवतारमा देखाइएका आर्यनको उक्त फिल्मसँगै रिलिज दयाहाङ राई अभिनीत ‘राहदानी’ भन्दा तल पर्‍यो । त्यसो त ‘राहदानी’ पनि दयाहाङका कारण भन्दा ‘मन्त्री रोएको फिल्म’ भनेर बढी चिनियो ।
ठूलो हल्लाखल्ला, बिग ब्यानर र कलाकारका कारण रिलिज अगावै चर्चा पाएका केही फिल्म भने बक्सअफिसमा डुबे । बिग बजेट भनिएको ‘चंखे शंखे पंखे’ होस् राजेश हमालको कमब्याक भनेर हल्लीखल्ली मच्चाइएको ‘बागमती’ कुनैले दर्शक साथ पाएनन् भने ‘कबड्डी कबड्डी’ सँग जुधाउन ल्याइएको रेखा थापा अभिनीत ‘जाऊ हिँड पोखरा’ ले हल त धेरै पायो तर दर्शक पाएन ।
प्रचारमा खरो उत्रिने भनेर तारिफ गरिएका दिनेश डिसीको ‘फुलैफूलको मौसम तिमीलाई’, ऋचा शर्माको भिन्न गेटअप र चरित्र रहेको ‘को आफ्नो’ वा केकी अधिकारीको लिड रहेको ‘भाग सानी भाग’ कुनै चलेनन् ।
‘चकलेट’ नचलेपछि निमात्री पुजना प्रधानले त फेसबुकमै रोईकराई गरिन् । मल्टिस्टारर ‘फन्को’ र शिल्पा पोखरेल मुख्य भूमिकामा रहेको ‘फागु’ ले पनि निर्मातालाई खुसी दिन सकेनन् ।
वर्षका १० चर्चित
१. दीपेन्द्र के खनाल
२. खगेन्द्र लामिछाने
३. दयाहाङ राई
४. अनमोल केसी
५. रामबाबु गुरुङ
६. साम्राज्ञी राज्यलक्ष्मी शाह
७. प्रियंका कार्की
८. निखिल उप्रेती
९. सौगात मल्ल
१०. कामेश्वर चौरसिया
१० सफल फिल्महरू
१. परदेशी
२. ड्रिम्स
३. कबड्डी कबड्डी
४. पशुपति प्रसाद
५. वडा नं ६
७. भैरव
८. होस्टेल रिटन्र्स
९. रेसम फिलिली
१०. लुटेरा
प्रकाशित: चैत्र २७, २०७२


No comments:

Post a Comment