Saturday, April 9, 2016

फूलमाला लगाएर विदा भएका श्रीमान बाकसमा फर्किदा, श्रीमतीले रुदैँ भनिन्, काम त गाह्रो छैन भन्नुहुन्थ्यो

चैत २७, धन कमाउन भनि साउदी अरव गएका धनुषाको रम्दैया भवाहीका दिपेन्द्र यादवको ढोकाले च्यापिएर मृत्यु भएको छ । 

घरको अवस्था राम्रो बनाउने सल्लाह गरेर विदेश गएका दिपेन्द्रलाई बाकसमा लिएर फर्किनु पर्दाको पीडा बयान गर्ने सक्दैनन् उनका दाजु अजय ।

साउदी अरेवियाको इष्टर्न रिक्रुटमेण्ट कम्पनीमा गएका दिपेन्द्रको कामको टुंगो थिएन । कम्पनीले जहाँ खटायो त्यहिँ, अनि जेमा खटायो त्यही काम गर्नुपर्थ्यो ।

त्यसै क्रममा कम्पनीले उनलाई अल्खुवरमा रहेको एउटा पाँच तारे होटलमा खटायो । होटलमा उनले क्लिनरको काम गर्थे । काम एकदम राम्रो छ भन्थ्यो अजयले भने त्यही भएर ५ महिनामा २ लाख रुपैयाँ पठाउछु भनेको थियो ।

धन कमाउने आशमा गएका दिपेन्द्रलाई धन कमाउन भाग्यले साथ दिएन । होटलमा काम गर्न थालेको ५ महिनामा ढोकाले च्यापिँएर उनको मृत्यु भयो । दिपेन्द्रसँगै काम गर्ने मनोज चौधरीले फोहोर फ्याँक्न ढोका बाहिर जाने क्रममा च्यापिएर दिपेन्द्रको मृत्यु भएको बताए ।

उनका साथीको भनाई उदृत गर्दै अजयले भने आफैं स्वीच थिचेर ढोकाले च्यापेपछि चिच्याउँदा साथीले थाहा पाएको र प्रहरीलाई बोलाएर च्यापिएको ठाउँबाट उनलाई उद्धार गरिएको हो ।

प्रहरी आएर उद्धार गरुञ्जेल दिपेन्द्रको सास बाँकी नै थियो, तर ल खुवार अलमनान अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषित गरे । भाइको ज्यान गएको खवर सुन्दा दाजु अजय कतारमा थिए । भाईको मृत्युको खबर सुनेपछि उनि नेपाल फर्किए ।

उनले भाइलाई काठमाडौंको त्रिभुवन विमानस्थलमा भेटे । तर यो भेट निक्कै फरक थियो । फूलमाला लगाएर विदा भएका भाइलाई उनले बाकसमा बेरिएर आएको अवस्थामा भेटे । अनि त्यही लास लिएर घर पुगे ।

श्रीमान सधैंका लागि विदा हुँदाको पीडाबाट केही ओभाउन लागेका फुलकुमारीका आँखा उनको कुरा कोट्याउने वित्तिकै फेरि रसाउँछन । विदेश जाँदै गर्दाको श्रीमानको हँसिलो अनुहार पनि उनको आँखाबाट हटेको थिएन तर अव न त्यो याद बाँकी रह्यो न त श्रीमान नै ।

फुलकुमारीका आँखाबाट आँसु झार्दै भनिन् काम त्यति गाह्रो छैन भन्नुहुन्थ्यो तर के गर्ने । दिपेन्द्रका लागि विदेश नयाँ थिएन । तर पीडा त दिएकै थियो ।

१ लाख ५० हजार रुपैयाँ बुझाएर मलेसिया गएका दिपेन्द्रको काम गर्ने क्रममा बायाँ हातको चोर औला काटिएपछि ७ महिनामै नेपाल फर्किएका थिए । अनि त्यही पैसामा एजेण्टले उनलाई साउदी अरव पठाएको थियो ।

No comments:

Post a Comment