फोटो :एघार वर्षपछि घर फर्केको कान्छो छोरोसहित कृष्णकुमारी । तस्बिर: मनिष दुवाडी
जोगीमारा (धादिङ): ‘१२ वर्षमा खोलो पनि फर्किन्छ’, भन्ने नेपाली उखान धादिङको जोगीमारा गाउँ विकास समितिकी ६३ वर्षीया कृष्णकुमारी मल्ल ठकुरीको जीवनमा चरितार्थ भएको छ ।
११ वर्ष अघिदेखि खोलो बनेर बगेको उनको आँसु अब भने थामिएको छ । वेपत्ता भएको ११ वर्षपछि छोरो उनको घरमा खुसी लिएर फर्केका छन् ।
वैदशिक रोजगारीको लागि ११ वर्षअघि मलेसिया गएको छोरो घर फर्किने खबर गरेर वेपत्ता भएदेखि कृष्णकुमारीका आँखा कहिल्यै ओभाएनन् ।
गाउँघरमा हिँड्दा आँसु लुकाउने उनी घरमा हुँदा रोएरै बस्थिन् । मलेसियामा हराएको छोराको खोजी गरिदिन भन्दै गाविस र जिल्ला चहार्दा चहार्दै उनको जीवनमा अर्को बज्रपात आइलाग्यो ।
आमाबुवालाई सुखसँग पाल्छु भनेर दुबई गएको माइलो छोराको पनि मृत्यु भएपछि उनी झन् आकुलब्याकुल बनिन् । एकातिर कान्छो छोरो ११ वर्षदेखि मलेसियामा वेपत्ता भएको पीडा अर्कोतिर माइलो छोरोको मृत्यु पीडा । माइलो छोरो गुमाएर शोकमा डुबेका मल्ल दम्पतीको जीवनमा कान्छो छोरो टुप्लुक्क घर आएपछि घाम उदाए सरह भएको छ ।
आँसुमा रुझेर ६६ वर्षीय नीरबहादुर मल्ल र कृष्णकुमारी मल्लको जीवनमा ११ वर्षपछि कान्छो छोराले मलेसियाबाट खुसी लिएर फर्केका हुन् ।
यसरी बेपत्ता भए कुमार मल्ल
दलाललाई लाख रुपैयाँ बुझाएर मलेसिया गएका कुमार मल्लले तीन वर्षसम्म राम्रै काम गरे । बेला बेला घरमा टेलिफोन सम्पर्क र चिठीपत्र आदानप्रदान भइरहन्थ्यो ।
मलेसिया गएको सातौँ महिनामा उनले पत्नीको नाममा एक लाख रुपैयाँ पनि पठाए । तर कुमारलाई मलेसिया गएको सातौँ महिनामा पहिलो झट्का लाग्यो । आफूले पठाएको एक लाखसहित पत्नी भागेपछि उनी विक्षिप्त भए ।
पत्नी भागेपनि उनले मलेसियामै संघर्ष गरिरहे दुई वर्ष १० महिना काम गरेर घर फर्किन २ महिना बाँकी रहँदा उनले घर फर्कने योजना बनाए ।
घर पठाएर बाँकी रहेको दुई लाख ६० हजार रुपैयाँ सँगै काम गर्ने ताप्लेजुङका लाक्पा दोर्जे शेर्पालाई सापटी दिएका थिए । सापटी दिएको रकम उनले घर फर्कनुअघि शेर्पासँग फिर्ता मागे ।
त्यही दिनबाट उनको दशा सुरु भयो । त्यो क्षण सम्झेर भावुक हुँदै कुमारले भने, ‘विदेशमा नेपाली साथीभाइ सम्झेर पैसा सापटी दिनुजस्तो ठूलो गल्ती केही नहुने रहेछ ।’
पैसा फिर्ता माग्दा कुमारले लाक्पासँग झगडा गर्नुपर्यो । झगडाले उग्र रुप लिएपछि केही साथीहरु राखेर पैसा फिर्ता लिन छलफल गर्ने क्रममा लाक्पाले कुमारमाथि आक्रमण गरे ।
कुमारका साथी र लाक्पाबीचको कुटाकुटमा उनले पनि केही मुक्का हाने लाक्पालाई । झडपपछि गभ्भीर अवस्थामा उपचारको लागि अस्पताल लगिएका लाक्पाको अस्पतालमै मृत्यु भयो ।
‘पैसा फिर्ता माग्न भएको छलफलमा पैसाको बदलामा मेरी आमा र बैनीमध्ये एक दिनुपर्छ भनेपछि मैले रिसले आँखा देखिनँ’, उनले भने, ‘कुटिहालेँ, त्यसपछि के के भयो थाहा भएन, मेरो केही गल्ती छैन भनेर भागिनँ ।’
कुमारले जेल परेको क्षण सम्झदै आँखाभरि आसुँ बनाउँदै भने, ‘मलाई पुलिसले पक्राउ गरेपछि त्यहीँ लाक्पाको मृत्यु भएको खबर सुनेँ । त्यसपछि मैले ८ वर्षसम्म जेलको छिँडीमा दिनरात बिताएँ ।
छोरो मलेसियाबाट घर फर्किन २ महिना बाँकी थियो । कान्छो छोराले फोन गरेर घर अउने खबर सुनाएपछि छोरो आउने दिन गनेर बसिन् कृष्णकुमारी । छोराले घर फर्किन्छु भनेर फोन गरेको सम्झिँदै उनले भनिन्, ‘छोरो आउने दिन गनेर बसेको २ महिना बित्यो, २ वर्ष वित्यो तर छोरो फर्किन त के फोन र चिठीसमेत आएन ।’
त्यसपछि छोराको खोजीमा भौतारिन थाले मल्ल दम्पती । दमका रोगी कुमारका बाबु त्यति हिँड्डुल गर्न सक्ने थिएनन् । गाउँका टाठाबाढा, जान्नेसुन्ने मान्छे र सदरमुकाममा छोराको खोजी गरिदिन भन्दै धेरैपटक धाइन् कृष्णकुमारी ।
त्यहीबीचमा घाँस काट्न जाँदा रुखबाट लडेर उनी ओछ्यानै परिन् । एकातिर बाबुआमा नै विरामी अर्कातिर भाइ बेपत्ता भएर खोजी गर्न पनि आर्थिक समस्या भएपछि माइलो छोराले पनि विदेश जाने सुर कसे ।
‘एकातिर कान्छो छोरो ९ वर्षदेखि विदेश गएर फर्किएको थिएन, त्यसैमाथि माइलाले विदेश जान्छु भनेपछि कुन् मनले जा भन्नु’, उनले सुनाइन्, ‘विदेश नजा भनेँ, नमानेपछि रुँदै विदाइ गरेको छोराको लाश घर आइपुग्यो । कान्छोलाई पनि माया मारेका थियौं, तर आज बुढेसकालमा खुसी लिएर फर्क्यो।’
No comments:
Post a Comment