Saturday, April 9, 2016

​प्रदीप गिरिले बाबुराम भट्टराईलाई भने- अघि बढ्नुस् सहयोग गर्छु -

mainphoto
फाइल फोटो
  • पहिलोपोस्ट-
काठमाडौं :  नयाँ शक्ति नेपालले शुक्रबार काठमाडौंमा गरेको वैकल्पिक राजनीतिक चिन्तन र शक्तिको आवश्यकता विषयक कार्यक्रमका एक वक्ता थिए नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरि।

यसअघिदेखि नै नयाँ शक्ति नेपालले गरेका कार्यक्रममा सहभागी हुँदै आएका गिरिले नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको प्रशंसा गर्दै अगाडि बढ्न शुभकामना दिए। 'म धेरै वर्ष पहिलेदेखि बाबुरामजीलाई चिन्छु। पहिलो पटक भारतमा भेट हुँदा उहाँ राजनीतिक बाटोको खोजी गर्दै हुनुहुन्थ्यो। बाटो पहिल्याउनुभयो, संसार र नेपालले जसलाई सफल भन्छ त्यो पनि हुनुभयो' उनले भने 'नेताहरुले प्रधानमन्त्री हुने बाहेक केही देखेका छैनन् त्यो पनि हुनुभयो।'

त्यसपछि भट्टराईले संविधान निर्माणमा महत्वपूर्ण योगदान गरेको भन्दै गिरिले अहिले पक्डेको नयाँ बाटोको आफूले उच्च मुल्याङ्कन गरेको बताए। 'डा. भट्टराई निश्चित विचारधारा साथ जनताकहाँ जाँदै हुनुहुन्छ। मैले उहाँको यस संकल्पलाई उच्च मुल्याङ्कन गरेको छु।'

गिरिले भट्टराईले नयाँ शक्ति मार्फत ठूलो काम गर्न खोजेको भन्दै सबैले साथ दिनुपर्ने पनि बताए। 'नयाँ शक्तिमा बाबुराम भट्टराईले ठूलो काम गर्न खोज्नुभएको छ। एक्लै गर्न सक्नुहुन्न। नेपाली जनता अगाडि सरेर बाबुरामजीको सही कुरालाई साथ दिएर अगाडि बढ्यौं भने कम्युनिस्ट आन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलनले सही बाटो पाउँछ जस्तो लाग्छ' उनले भने।

गिरिले भट्टराईको अभियानमा आफ्नो सीमा र दायराभित्र रहेर ब्यक्तिगत रुपमा सहयोग गर्ने वचन पनि दिए। उनले नयाँ शक्ति अभियानलाई सत्ताको सिँढीको रुपमा लिने र भोलि आन्दोलन नै विसर्जित हुने अवस्था नआओस् भन्ने कामना पनि गरे।

कार्यक्रमका अर्का वक्ता थिए नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षित। उनले भट्टराईलाई पार्टीमा जथाभावी मान्छे नभित्र्याउन सुझाव दिए। 'तपाइँहरुको पार्टीमा जथाभावी मान्छे नहाल्नुस, सबैभन्दा कुरा बिगार्ने त्यहीबाट हुन्छ। अहिले बाबुराम जी बाबुराम जी भन्छन्, वाह वाह हुन्छ। भोलि साथ दिने कोही हुँदैन' उनले भने 'अहिले प्रचण्डको अवस्था के छ? भोलि तपाइँहरुको अवस्था पनि त्यही हुन सक्छ।'

उनले तत्काल धेरै भोट पाउने अवस्था नभएपनि पार्टी शुद्ध राख्नुपर्ने सुझाव दिए। 'पार्टीमा भ्रष्टाचारको गन्ध नआओस्, नातावाद कृपावाद नहोस्। यो ख्याल राख्नुस्।' दीक्षितले नयाँ शक्ति नयाँ बोतलमा पुरानो रक्सी हुने खतरा पनि रहेकाले सचेत हुन आग्रह गरे।

कार्यक्रममा योगी विकासानन्द, अभिनेत्री करिश्मा मानन्धर, थरुहट तराई पार्टीका गोपाल दहित लगायतले पनि धारणा राखेका थिए। 
- See more at: http://www.pahilopost.com/content/-14990.html#sthash.7tJaAIOz.dpuf

No comments:

Post a Comment