Tuesday, April 12, 2016

दुर्घटना गरी भाग्नेलाई पछ्याउन प्रहरीका यस्ता बुलेट मोटरसाइकल

चैत्र २९, २०७२- सवारी दुर्घटना गरेर तपाईं भाग्न खोज्दै हुनुहुन्छ ? जहाँ पुगे पनि तपाईंलाई ट्राफिक प्रहरीको मोटरसाइकलले पछ्याउने छ । दुर्घटना गराएर भाग्ने सवारीचालक समात्न उपत्यका ट्राफिक प्रहरी महाशाखाले ‘मोटरसाइकल विशेष ईकाई’ गठन गरेको छ । उक्त ईकाईले सवारी दुर्घटना गरी भाग्ने  चालकलाई पक्रेर कानुनी कारबाहीको दायरामा ल्याउने छ ।
महाशाखाका डीआईजी प्रकाश अर्यालले सडक दुर्घटनालाई न्यूनीकरण यसले सघाउने बताए । ‘उपत्यकामा जति जनसंख्याको चाप बढदै जान्छ, त्यहीअनुसारको सवारीको संख्या बढ्छ, दुर्घटना गराउने र भग्ने क्रम पनि बढ्छ,’ उनले भने, ‘नयाँ विधि र तरिका अपनाएर दुर्घटना न्यूनीकरण गर्न अभियान चलाएका हौं ।’ ‘सुरक्षाका लागि तपाईंको, गति बढदै छ.....’ भन्ने नारासहित अभियान सुरु गर्न थालिएको हो ।
उपत्यका मुख्य–मुख्य चोकमा मोटरसाइकलसहितका ट्राफिक प्रहरीलाई तयारी अवस्थामा राखिने छ । यसका लागि प्रहरी प्रधान कार्यालयले ५ सय सीसीका १७ वटा बुलेट मोटरसाइकल उपलब्ध गराएको छ ।
सडक लेन मिच्नेलाई कारबाहीका लागि पनि मोटरसाइकलको प्रयोग गरिने भएको छ । ‘दुर्घटना गराएर भाग्ने प्रवृत्ति निरुत्साहित गर्न अभियान चलाएका छौं‌,’ उनले भने, ‘नागरिक सुरक्षा दिनु हाम्रो कर्तव्य हो ।’ चैत ८ देखि सञ्चालन भएको लेन अनुशासन कारबाहीमा ६ हजार ४ सय ३५ जना परिसकेको डीआईजी अर्यालले बताए ।

No comments:

Post a Comment