Sunday, April 10, 2016

वर्षका उत्कृष्ट अभिनेता

अनमोल केसी (ड्रिम्स)
 
अभिनेता भुवन केसीका छोरा अनमोल केसी वर्ष २०७२ मा प्रदर्शन भएका चलचित्रमध्ये सर्वाधिक व्यवसाय गर्न सफल चलचित्र ‘ड्रिम्स’ का अभिनेता हुन् । ‘ड्रिम्स’ ले प्रदर्शनमा आएको तीन सातामा करिब ७ करोड रुपैयाँभन्दा बढीको व्यवसाय गरेको वितरकहरूको दाबी छ । चकलेटी अनुहारका धनी अनमोललाई दर्शकहरूले रोमान्टिक शैलीको भूमिकामा मन पराउँछन् । ‘ड्रिम्स’ को व्यवसाय उत्साहजनक हुनुमा अनमोलको उपस्थितिले प्रमुख भूमिका निर्वाह गर्‍यो । युवतीहरूका प्रिय अभिनेताका रूपमा स्थापित भैसकेका अनमोललाई दर्शकले यसअघि दुई चलचित्र ‘जेरी’ तथा ‘होस्टल’ मा पनि मन पराएका थिए । वर्ष २०७३ को प्रारम्भमै अनमोललाई चलचित्र ‘गाजलु’ मा देख्न सकिनेछ, जहाँ उनले मिस नेपाल–२०१४ सृष्टि श्रेष्ठसँग अनस्क्रिन रोमान्स गरेका छन् । 
प्रदीप खड्का (प्रेम गीत)

अधिकांश दर्शकलाई लाग्न सक्छ, अभिनेता प्रदीप खड््का यही वर्ष नेपाली रजटपटमा पदार्पण गरेका कलाकार हुन् । वास्तवमा प्रदीपले केही वर्षअघि नै दुई भिन्न चलचित्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् । ‘ठूलो मान्छे’ तथा ‘स्केप’ मा अभिनय गरे पनि दर्शकले उनलाई ती चलचित्रका कारण स्मरण गरेनन्, किनभने दुवै चलचित्र व्यवसायिक रूपमा असफल भएका थिए । यो वर्ष उनी चलचित्र ‘प्रेम गीत’ मार्फत दर्शकमाझ आए । चलचित्रले व्यवसायिक रूपमा ठूलै सफलता पायो । चलचित्रको सफलतामा प्रदीपको अनुहार, उनको अभिनय तथा गीत–संगीतले ठूलो भूमिका निर्वाह गर्‍यो । सुदर्शन थापाको निर्देशनमा प्रदीपले आफूलाई रोमान्टिक युवकका रूपमा प्रस्तुत गरेका थिए । चलचित्रको ‘म यस्तो गीत गाउँछु जुन प्रेम गीत बनोस्’ को लोकप्रियतासँगै यी अभिनेता पनि युवा दर्शकको ढुकढुकी बन्न सफल भए । वर्ष २०७३ का लागि प्रदीपले हालसम्म कुनै पनि चलचित्र हस्ताक्षर गरेका छैनन् । 



दयाहाङ राई (कबड्डी–कबड्डी, वडा नम्बर ६, राहदानी, फन्को)
 
अभिनेता दयाहाङ राईले वर्ष २०७२ मा अझ बढी प्रशंसक कमाए । यो वर्ष दयाहाङले अभिनय गरेका चारवटा चलचित्र प्रदर्शन भए । तीमध्ये ‘कबड्डी–कबड्डी’ ले उत्कृष्ट व्यवसाय गर्‍यो । यसअघि नै व्यवसायिक रूपमा सफल भैसकेको चलचित्र ‘कबड्डी’ को यो सिक्वेल चलचित्रले पनि दर्शकलाई प्रशस्त मनोरञ्जन प्रदान गर्‍यो । यो चलचित्रमा पनि दयाहाङ नै केन्द्रीय भूमिकामा थिए । ‘कबड्डी कबड्डी’ बाहेक दयाहाङले ‘वडा नम्बर छ’ बाट पनि प्रशंसा कमाए । अन्य दुई चलचित्रले औसत व्यवसाय गरे । वर्ष २०७३ मा दयाहाङले अभिनय गरेका ‘लालटिन’, ‘हाउ फन्नी’, ‘वीर विक्रम’ सहित आधा दर्जनभन्दा बढी चलचित्र प्रदर्शनमा आउनेछन् । 
आर्यन सिग्देल (क्लासिक, आवेग)
 

अभिनेता आर्यन सिग्देलको आफ्नै स्थान छ । प्राय: रोमान्टिक शैलीका चलचित्रमा रुचाइने यी चकलेटी अभिनेतापछिल्लो समय एक्सन भूमिकामा समेत देखिन थालेका छन् । यो वर्ष आर्यनले अभिनय गरेका दुई चलचित्र प्रदर्शन भए, ‘क्लासिक’ तथा ‘आवेग’ । व्यवसायिक रूपमा सफल चलचित्र ‘क्लासिक’ मा आर्यनको भूमिका मन पराइयो । यो चलचित्रमा आर्यनले आँखा देख्न नसक्ने पात्रलाई जीवन्तता प्रदान गरेका थिए । दोस्रो चलचित्र ‘आवेग’ मा उनी एक्सन हिरोका रूपमा प्रस्तुत गरिएका थिए, जसलाई दर्शकहरूले खासै रुचाएको पाइएन । वर्ष २०७३ मा उनी आफ्नै ब्यानरका चलचित्रमार्फत दर्शकमाझ पुग्ने तयारी गर्दैछन् । 
निखिल उप्रेती (भैरव, लुटेरा)

पुनरागमन गरेर सफल हुने थोरै अभिनेतामा निखिल उप्रेती पनि पर्छन् । झन्डै आधा दशक नेपाली चलचित्रबाट टाढिएका निखिल यो वर्ष चलचित्र ‘भैरव’ मार्फत दर्शकसमक्ष आए । यसपटक उनको आगमन अभिनेताका रूपमा मात्र थिएन, निर्देशकका रूपमा समेत थियो । एक्सन प्रधान ‘भैरव’ व्यवसायिक रूपमा अत्यधिक सफल भयो । चलचित्रबाट निखिलले पनि प्रसस्त प्रशंसा बटुले । देशमा विद्यमान तराई–मधेसका मुद्दामा आधारित यो चलचित्र अझै पनि तराईमा प्रदर्शन गरिएको छैन । निखिलकै मुख्य भूमिका रहेको चलचित्र ‘लुटेरा’ पनि व्यवसायिक रूपमा सफल भयो । वर्ष २०७३ मा उनी चलचित्र ‘संरक्षण’ तथा ‘निर्भय’ मार्फत दर्शकमाझ आउनेछन्् । 

दीपकराज गिरी (वडा नम्बर ६)

हुन त दीपकराज गिरी हास्य अभिनेता तथा निर्देशक हुन् । हास्य श्रृंखला ‘तीतो–सत्य’ मार्फत दर्शकको मन जितेका यी अभिनेता विगत केही वर्षदेखि सानो पर्दाको तुलनामा ठूलो पर्दामा बढी सक्रिय छन् । अघिल्लो वर्ष ‘६ एकान ६’ बाट पाएको सफलताबाट उत्साहित दीपकराजले यो वर्ष ‘वडा नम्बर ६’ तयार पारे । आफूसहित लोकप्रिय हास्यकलाकारहरूको समूहबाट निर्मित उक्त चलचित्रमा दीपकराजको अभिनय मन पराइयो । चलचित्रको कथामात्र नभै ‘सुर्के थैली खै...’ गीतले पनि ऐतिहासक सफलता हासिल गर्‍यो । दोस्रो चलचित्र पनि व्यवसायिक रूपमा सफल भएपछि दीपकराज गिरीको समूह यतिबेला चलचित्र ‘छक्का पञ्जा’ निर्माण गरिरहेको छ । २०७३ सालको दसैंमा प्रदर्शन हुने यो चलचित्र पनि सफल हुने अपेक्षा गरिएको छ । 
सौगात मल्ल (फन्को, कबड्डी कबड्डी)

रंगमञ्चबाट चलचित्रमा आएर स्थापित भएका अभिनेता हुन्— सौगात मल्ल । नृत्य तथा द्वन्द्वमा भन्दा समग्र अभिनयकै कारण सौगातको प्रशंसा हुन्छ । यो वर्ष उनले अभिनय गरेका चलचित्रमध्ये ‘कबड्डी कबड्डी’ अत्यधिक सफल भयो । यो चलचित्रमा सौगातले यसअघि निर्वाह नगरेको भूमिका निर्वाह गरेका थिए, जसलाई दर्शकले मन पराए । त्यसो त व्यवसायिक सफलता हासिल गर्नबाट चुकेको चलचित्र ‘फन्को’बाट पनि सौगातले प्रसंसा नकमाएका होइनन्, तर सवारी चालकको भूमिकामा प्रस्तुत भएका सौगातले मात्र यो चलचित्रलाई बचाउन सकेनन् । दयाहाङ राई, केकी अधिकारी जस्ता कलाकार भएर पनि उक्त चलचित्रले व्यवसायिक सफलता हासिल गर्न सकेन । वर्ष २०७३ मा सौगातका करिब आधा दर्जन चलचित्र दर्शकले हेर्न पाउनेछन् । 
जीवन लुइँटेल (काफल पाक्यो, जाउँ हिंड पोखरा, रिफ्यूजी, धुन)
 
अभिनेता जीवन लुइँटेलको वर्ष २०७२ मिश्रित रह्यो । स्वदेशको तुलनामा विदेशमा बढी बिताएका जीवनले अभिनय गरेका दुईवटा चलचित्रमात्र यो वर्ष प्रदर्शनमा आए । केही वर्षअघि नै निर्माण भएको चलचित्र ‘जाउँ हिँड पोखरा’ ले राम्रो व्यवसाय गर्न सकेन । चलचित्र ‘रिफ्युजी’ पनि व्यवसायिक रुपमा सफल हुन सकेन । महिला निर्देशक सावित्री खत्रीद्वारा निर्देशित ‘काफल पाक्यो’ बाट भने जीवनले प्रसंसा कमाए । चलचित्रले व्यवसायिक सफलता हासिल नगरे पनि जीवन दर्शकलाई मनोरञ्जन प्रदान गर्न सफल रहे । 
विनय श्रेष्ठ (रेशम फिलिली)
 
विनय श्रेष्ठलाई कम भाग्यशाली अभिनेताका रूपमा चिन्नेहरू प्रशस्त छन् । जब–जब उनका राम्रा चलचित्र प्रदर्शन हुन्छन्, देशमा त्यहि बेला संकट आइपर्छ । ‘पिरतीको छाता ओढाउन...’ गीतको लोकप्रियतापछि विनयद्वारा निर्मित तथा अभिनीत चलचित्र ‘रेशम फिलिली’ बाट दर्शकहरूले प्रसस्त आशा गरेका थिए । वैशाख ११ गते प्रदर्शन भएको यो चलचित्रले प्रदर्शनको पहिलो दिन नै आक्रामक व्यवसाय गरेको थियो तर वैशाख १२ को विनाशकारी भूकम्पले यो चलचित्रको व्यवसायमा प्रत्यक्ष प्रभाव पर्‍यो । केही महिनापछि प्रदर्शन भएको यो चलचित्रले जति व्यवसाय गर्नुपर्ने थियो, त्यति गर्न सकेन तर अभिनेताका रूपमा विनय आफ्नो प्रभाव छाड्न सफल भए । 
सविन श्रेष्ठ (रामप्यारी, सपना तिम्रो मेरो, लक्ष्य, भाग सानी भाग)

अभिनेता सविन श्रेष्ठको अनुहार जति आकर्षक छ, उत्तिकै आकर्षक उनको शारीरिक बनावट पनि छ । आकर्षक व्यक्तित्वका धनी यी अभिनेतालाई नेपाली दर्शकहरू बलिउडका सलमान खानसँग समेत तुलना गर्छन् । यो वर्ष सविनले अभिनय गरेका तीनवटा चलचित्र प्रदर्शन भैसकेका छन् भने एउटा चलचित्र आज शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । संख्यात्मक हिसाबले सविन यो वर्ष सबैभन्दा बढी चलचित्रमा अभिनय गर्ने अभिनेता हुन् । तीमध्ये ‘सपना तिम्रो मेरो’ तथा ‘भाग सानी भाग’ ले औसतभन्दा राम्रो व्यवसाय गरेका छन् । शुक्रवारदेखि प्रदर्शनमा आउने श्रेष्ठ अभिनित चलचित्र ‘रामप्यारी’ व्यवसायिक रूपमा सफल हुने अपेक्षा गरिन्छ । 
प्रकाशित: चैत्र २८, २०७२

No comments:

Post a Comment