दिउँसै घरभित्र पसी पैसा, सुनलगायत सामग्री चोरी गर्ने दुई जना महिलालाई प्रहरीले चोरी गरेको केही समयमै पक्राउ गरेको छ। विराटनगर–१५ पिचराका मुकुन्द अधिकारीको घरमा पसेर शनिबार दिउँसो १ बजे चोरी गर्नेहरूलाई केही समयमै प्रहरीले समातेको हो।
मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीका अनुसार पक्राउ पर्नेमा विराटनगर–२२ का अफसना खातुन र अमिना खातुन रहेका छन्।
अधिकारीको घरबाट डेढ तोला सुनको नवरत्न बाला एक थान, बाह्र आनाको सुनको औंठी एक थान, दस आनाको सुनको टप दुई थान, छ आनाको टप दुई थान, छ आनाकै सेतो पत्थरजडित टप दुई थान, सुनको फुली, पत्थर, लेडिज ब्याग र नगद एक लाख तीन हजार तीन सय ७३ रुपैयाँ चोरी गरी भाग्दै गर्दा प्रहरीले घरैअगाडिबाट पक्राउ गरेको हो।
छोरीमात्र घरमा रहेको र उनी बाथरुम छिरेको बेला घरभित्र छिरेर दराजबाट सामान झिकेर उनीहरू भागेका थिए। ‘त्यही घरको बोरामा सामान हालेर भागेका थिए,’ भण्डारीले भने, ‘हाम्रो टोलीले तुरुन्त पक्राउ गर्यो।’
चोरी भएको थाहा पाएपछि हो–हल्ला हुँदा प्रहरी टोली पुगेको थियो। यसअघि पनि प्रहरीले दिउँसै बजारबाट सिक्री लुट्ने समूहलाई प्रहरीले पक्राउ गरेको थियो। चोरी गर्ने महिलाविरुद्ध चोरी अभियोगमा मुद्दा दायर भइसकेको भण्डारीले बताए।
No comments:
Post a Comment