Tuesday, April 12, 2016

युवाहरुले गुनासो मात्रै गर्ने हैनः मिस नेपाल

  • मिस नेपालसँग गफगाफ
सुशील पौडेल/मधु शाही, काठमाडौं
चैत्र ३०, २०७२- चितवनको टाँडीकी २२ वर्षीया अश्मी श्रेष्ठले गत शुक्रबार सम्पन्न यस वर्षको मिस नेपालको उपाधि जितिन् । १९ प्रतिस्पर्धी रहेको स्पर्धामा बीबीए उत्तीर्ण अश्मीले ‘महिला आरक्षण’ मा निर्णायकलाई चित्तबुझ्दो जवाफ दिएर मिस वर्ल्डका लागि नेपालबाट छनोट भएकी हुन् । नेटबलकी राष्ट्रिय खेलाडीसमेत रहेकी अश्मी मोडलिङमा समेत सक्रिय छिन् । प्रस्तुत छ, प्रस्ट बोल्न रुचाउने अश्मीले मिस नेपालका रूपमा कान्तिपुरसँग गरेको कुराकानीको सम्पादित अंश ।
निर्णायकले त तपाईंलाई मिस नेपाल छाने । तपाईं आफैंलाई चाहिं के कारणले जितें भन्ने लाग्छ ?
मिस नेपाल हुनका लागि निश्चय पनि ब्युटी विथ ब्रेन हुनुपर्छ । बाहिरबाट राम्री देखिएर मात्रै पनि भएन, उत्तिकै इन्टेलिजन्ट र सोसल इस्युलाई बुझेको हुनुपर्‍यो । म्याचोरिटी हुनुपर्‍यो । कन्फिडेन्ट र दृढ संकल्पले नै मलाई मिस नेपाल बनायोजस्तो लाग्छ । हिडन ट्रेजरले मभित्र रहेका जति पनि सीप, क्षमता थिए, त्यसलाई चम्काउन र निखार्नलाई मद्दत गर्‍यो । ट्रेनिङको छ हप्ताको पिरियडमा आफूलाई निकै नै ट्रान्सफर्म गरें । सकारात्मक परिवर्तन ममा आयो । प्रतिस्पर्धा एकदमै टफ थियो । १९ जना नै कोही कसैभन्दा कम थिएनन् । सबैको आआफ्नै पर्सनालिटी, भिन्नभिन्न सीप र पृष्ठभूमिका कारण जोकोही पनि मिस नेपाल बन्ने हैसियत राख्थे ।
क्राउन जित्ने उद्देश्य मात्रै बोकेर मिस नेपालमा सहभागी हुनुभएको थियो वा अरू पनि केही थियो ?
मिस नेपाल जित्नु मेरो लामो समयदेखिको सपना थियो । त्यसैले क्राउन जित्नु त थियो नै । सँगसँगै त्यसपछि आउने रेस्पोन्सिबिलिटी पनि बुझेरै आएकी थिएँ । क्राउन जितेर मात्रै हैन कि त्यो जितेपछि वर्ल्डमा गएर नेपालको प्रतिनिधित्व गर्नुपर्नेछ भन्ने बुझेर नै आएकी थिएँ । माल्भिका (सुब्बा) दिदी मिस नेपाल हुँदादेखि नै मलाई पनि मिस नेपाल हुने इच्छा पलाएको हो ।
मिस नेपालमा अधिकांश नेवारले जितेको भन्दै पछिल्लो समय असन्तुष्टि पनि सुनिन थालेको छ । तपाईं आफैं नेवार पनि, कस्तो लाग्छ ?
(हाँसो) मैले पनि धेरै सुनें । म भएदेखि नै यो कमेन्ट एमदमै नै सुनें । तर हेर्ने हो भने त सबै जातजातिकै मिस नेपाल हुनुभएको छ । सबै हुनुभएको छ, तर, नेवार हुनेबित्तिकै यो इस्यु कहाँबाट निस्कन्छ थाहा भएन । हामीले यहाँ कास्ट वाइज कम्पिटिसन गर्न आएको हैन । त्यस्तो हुन्थ्यो त, नेवार नै नेवार सहभागी हुनुपर्ने हो । सबैजनालाई इक्वेल ट्रिट हुन्छ । यो सबै जजमा भर पर्ने कुरा हो । फेरि सबै जज पनि नेवार त हुनुहुन्न । अझै पनि यस्तो जातजातिको कुरा उठ्छ ? यस्तो मोर्डन एजमा पनि उही पुरानै सोच पालेर कसरी मान्छेहरू रहन्छन् ? फरवार्ड हुनु कता हो कता, सोचाइ पिछडिँदै जानु त हुँदैन नि । नेवार, बाहुन वा दलित भन्ने नै हुँदैन । सबै एउटै हो । यी सब कुरा मान्छेमा भर पर्छजस्तो लाग्छ मलाई त । यस्ता कमेन्ट्समा म विश्वास नै गर्दिनँ । सुने पनि इग्नोर गरिदिन्छु । यो मान्छेको पर्सेप्सन हो । उहाँहरूको पर्सेप्सनलाई मैले कन्ट्रोल गर्न मिल्दैन । मैले सक्ने भनेको म केवल क्राउन वा ग्ल्यामरका लागि मात्रै मिस नेपालमा आएकी हैन भनेर भोलिका दिनमा प्रमाणित गर्दै जानेछु ।

No comments:

Post a Comment