Saturday, April 9, 2016

प्रि–फ्याबसहित निर्माण सामाग्रीको प्रदर्शनी


बिनाशकारी भूकम्पले क्षति पुर्याएका भौतिक संरचनाको निर्माण कार्यलाई सहयोग पुर्याउने उद्देश्यले नयाँ प्रविधिमा आधारित निर्माण सामाग्रीको प्रदर्शनी सुरु हुँदैछ। 
 
विश्वका विभिन्न देशमा प्रयोग भई प्रमाणित भएका सुरक्षित र भूकम्प प्रतिरोधात्मक नयाँ प्रविधिमा आधारित निर्माण सामाग्रीको बारेमा मेलामा जानकारी लिन पाइने छ।  मिडिया स्पेश सोलुसनको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सोमबारसम्म निर्माण सामाग्री सम्बन्धी बृहत अन्तराष्ट्रिय प्रदर्शनीको हुने भएको हो। 
 
मेला संयोजक श्रीजल भट्टराईका अनुसार प्रदर्शनीमा नेपाल, भारत, बंगलादेश, दुबई, भियतनाम र युरोपियन राष्ट्र बेल्जियमको समेत गरी १ सय भन्दा बढी स्टल रहने छ। 
 
प्रदर्शनीमा आउने अवलोकन कर्तालाई निःशुल्क प्रवेशको व्यवस्था रहेको छ। मेलामा नेपालका ४० भन्दा बढी कम्पनीले आफ्ना उत्पादित निर्माण सामाग्रीको स्टलमार्फत अवलोकन कर्तालाई जानकारी दिने छन्।  
 
६० भन्दा बढी स्टल भने अन्य विदेशी कम्पनीका रहने छन्। । विशेषत यो मेलामा प्रि–फ्याबिकेटरबाट बन्ने घरको बारेको अवलोकनकर्ताले विशेष जानकारी लिन पाउने उनले बताए। प्रि–फ्याबिकेटर घरहरु पूर्णरुपमा सुरक्षित हुने र भूकम्प प्रतिरोधात्मक समेत रहने उनले बताए। कुनै निश्चत ठाउँमा बनाएर अन्यन्त्र लैजान पनि सकिने खालको घरहरु प्रदर्शनीमा राखिने हुँदा निर्माण क्षेत्रमा मेलाले महत्वपूर्ण योगदान पुर्याउने भट्टराईले बताए।
 
उनका अनुसार प्रदर्शनीमा बाथ रुमदेखि बेडरुमसम्म प्रयोग हुने निर्माण सामाग्रीको बारेमा निःशुल्क जानकारी लिन पाइन्छ। मेलामा काठहरुबाट तयार गरिने ल्यामिनेट, फ्लोरिङ जस्ता सामानको बारेका जानकारी लिन पाउनका साथै बुकिङ पनि स्टलमै गर्न पाइनेछ। 
 
 त्यस्तै निर्माणका लागि उपयोगी कच्चा काठहरुको बारेमा जानकारी दिने र काठसँग सम्वन्धित मेसिनरीहरुको बारेमा पनि जानकारी लिन पाउने उनले बताए। मेलामा सिमेन्ट कम्पनीदेखि माटो, ढुङ्गा जस्ता व्यापार गर्ने कम्पनीको समेत स्टल रहने छ।
 
नेपालमा दोस्रो पटक सञ्चालन हुन लागेको यो मेलाले व्यवसायीको व्यापार प्रवद्धन गर्न सहयोग पुग्नेछ। त्यस्तै विदेशी कम्पनीहरुलाई पनि नेपालमा आफ्नो डिलर खोज्दै व्यापार गर्न इच्छुक देखिएको अवस्थामा सर्वसाधारणको चाहना र जिज्ञासाबारे थप सहयोग पुग्ने आयोजकको विश्वास छ। 

No comments:

Post a Comment