Saturday, April 9, 2016

‘सेना तपाईकै कन्ट्रोलमा छ ?’

चैत्र २७, २०७२- २०६६ वैसाख २० गते बिहान करीब साढे नौ बजे मेरो मोबाइलमा प्रधानसेनापति (रुक्मागंद) कटवालको फोन आयो । म बागबजारस्थित आफ्नै घरमा थिएँ । उहाँ भन्दै हुनुहुन्थ्यो, ‘मलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएको, भित्र म एक्लै छु । मलाई खतरा हुनसक्छ, सजग हुनू...।’
मैले तुरून्तै बालुवाटारस्थित प्रधानमन्त्री निवासको सुरक्षा टोलीलाई ‘प्रधानसेनापति त्यहाँ भित्र एक्लै हुनुहुन्छ, उहाँलाई केही नहोस्, परेमा तुरून्त रेस्क्यु गरिहाल्ने’ आदेश दिएँ ।
नजिकैको महाराजगन्जस्थित नं. १० वाहिनी (विशेष फौज) लाई पनि त्यस्तै आदेश दिएँ । विशेष फौजकाहरू सिभिल पोशाकमा तुरून्तै प्रधानमन्त्री निवासवरपर पुगे । अरु पनि तयारी हालतमा बसे । म पनि तुरून्तै जंगी अड्डामा आफ्नो कार्यालय पुगिहालेँ र सबै ‘पीएसओज’ लाई बैठककक्षमा बोलाएँ ।
केही क्षणमा महारथी कटवाल आउनुभयो । उहाँका अनुसार, बालुवाटारमा ‘तपाईंले आजसम्म काम गर्नुभयो, त्यसको लागि धन्यवाद छ’ भन्दै एउटा पत्र थमाउन खोजे रे, उहाँले ‘यो के हो ?’ भन्दा अवकाशपत्र भने रे, त्यसपछि उहाँले भन्नुभयो रे, ‘म यहाँ अवकाशपत्र बुझ्दिनँ । उतै पठाउनू ।’
केही बेरमै फेरि पीएसओजलाई बोलाइयो । अनि दाहाल सरकारको वैशाख २० गतेको निर्णयबाट सैनिक ऐन– २०६३ को दफा ११ को उपदफा ३ बमोजिम २०६६ वैशाख २० गतेदेखि नै अवकाश दिइएको पत्र पढेर सुनाइयो । हामी हेराहेर भयौँ । यो अवस्थासम्म पीएसओजमध्येका दोस्रो वरीयताका बलाध्यक्ष रथी कुलबहादुर खड्का थिएनन् ।
केही बेरमा हामी आआफ्ना कार्यकक्षतर्फ लाग्ने क्रममा मैले बैठकमा उपस्थित सबै पीएसओज र अन्यलाई पनि ‘मेरो कार्यालयमा जाऔँ’ भनेँ । सबैजना आएर चिया पिइराखेका थियौँ, चार डिजिटलवाला मेरो आन्तरिक फोन बज्यो । उठाएँ, कुलबहादुरको रहेछ । उनले हामी सबैलाई आफ्नै कार्यकक्षमा बोलाए । आफूले कायममुकायम प्रधानसेनापतिको नियुक्ति लिएर आएको भने र पत्र पढेर सुनाए । अनि भने, ‘मलाई सबैले सहयोग गर्नुपर्छ ।’
हामीले सुनिरह्यौँ । त्यसपछि उनले सबभन्दा पहिला मलाई सोधे, ‘केही भन्नु छ ?’
मैले भनेँ, ‘संविधान र ऐन हेर्नपर्छ ।’
कुलबहादुरले अरुलाई पनि त्यही प्रश्न गरे । कसैले के, कसैले के भने । एकछिनमा हामीले उनको कार्यकक्ष छाडयौँ । सबै पीएसओजलाई प्रधानसेनापति कटवालबाट फेरि बोलावट भयो । बैठकमा कुलबहादुरलाई पनि बोलाइयो । प्रधानसेनापतिले कुलबहादुरलाई सोध्नुभयो, ‘तपाईं कहाँ जानुभएको थियो ? कसको आदेशले जानुभएको थियो ?’
कुलबहादुरले भने, ‘मलाई प्रधानमन्त्रीले बोलाउनुभएकोले बालुवाटार गएको थिएँ । त्यहाँबाट कायममुकायम प्रधानसेनापतिको नियुक्तिपत्र लिएर आएको छु ।’
कुरा के रहेछ भने, प्रधानमन्त्री निवास, बालुवाटारमा महारथी कटवाललाई एउटा कोठामा, कुलबहादुरलाई अर्को कोठामा राखिएको रहेछ । महारथी कटवाललाई अवकाशपत्र थमाएपछि कुलबहादुरलाई कायममुकायमको नियुक्तिपत्र दिने योजना रहेछ । कटवालले अवकाशपत्र बुझ्न इन्कार गरेर निक्लनुभएछ । कुलबहादुरचाहिँ कायममुकायमको नियुक्तिपत्र लिएर आएका रहेछन् ।
प्रधानसेनापतिसँगको दोस्रो पीएसओज बैठकबाट बाहिरिएपछि मैले सबै पीएसओज, उपत्यका पृतनापति, राष्ट्रिय सुरक्षा परिषद् सहसंयोजक, उपरथी तहका सबै महानिर्देशक, प्राड विवाक प्रमुखलाई आफ्नो कार्यालयमा बोलाएँ । छलफल शुरु गरेँ । सबैलाई मेरै कार्यकक्षमा राखिराखेँ, कुलबहादुरकहाँ जान दिइनँ ।
यस्तैमा राष्ट्रपतिका स्वकीय सचिव ललित बस्नेतको फोन आयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपतिज्यूले त्यहाँको स्थिति के छ, राइट इन्फर्मेसन के छ भनेर जान्न चाहनुभएको छ ।’
मैले भनेँ, ‘अवकाशपत्र आइसक्यो । प्रधानसेनापतिज्यू माथि आफ्नै अफिसमा हुनुहुन्छ । कायममुकायमको नियुक्तिपत्र ल्याएर रथी कुलबहादुर तल आफ्नै अफिसमा बसेका छन् । अरु सबै पीएसओज, उपत्यका पृतनापति, राष्ट्रिय सुरक्षा परिषद्का सहसंयोजक, सबै उपरथी तहका महानिर्देशकहरू, प्राड विवाक प्रमुख र म मेरै अफिसमा छौँ ।’
ललित बस्नेतले केही बेरमा फेरि फोन गर्नुभयो । ‘के छ ? तपाईंकै कन्ट्रोलमा छ, हैन त ?’
मैले भनेँ, ‘छ । हामी सबै मेरै अफिसमा छौँ । कुलबहादुरलाई भेट्न कोही गएको छैन ।’
ललित बस्नेतसँग भएको संवादबारे मैले सबैलाई जानकारी गराएँ । कुलबहादुरले प्रधानसेनापति कटवालको विरोध गर्दै, मेरो बारेचाहिँ ‘त्यसले सक्दैन’ भन्दै, सबै जर्नेल, कर्णेल, अधिकृत, फौज आफ्नो पक्षमा छ, आफू मात्र सक्षम छु भनेर व्यापक प्रचारबाजी गर्दै आएका थिए । माओवादी सरकारलाई पनि उनले यस्तै विश्वास दिलाएका कारण सेनासँग कम सम्पर्क र कम जानकारी भएका राष्ट्रपति पनि केही अलमलमा हुनु स्वाभाविकै थियो ।
केही समयपछि ललित बस्नेतको फेरि फोन आयो । सोध्नुभयो, ‘राष्ट्रपतिज्यूले केही कदम चाल्नुभयो भने सेनाले थेग्न सक्छ कि सक्दैन ?’
मैले भनेँ, ‘सक्छ ।’
कुलबहादुरले आफ्नो कार्यकक्षमा उच्च तहका पीएसओज, उपरथीहरू आउँछन् कि भनेर दिनभरि कुरे । कोही गएनन् । अपराह्न ५ बजे कार्यालयबाट निस्किए । केही बेरपछि ललित बस्नेतले मलाई फेरि फोन गर्दै भन्नुभयो, ‘हामी तपाईंमाथि भर परेका छौँ । सफल भएन भने राष्ट्रपतिज्यू नैतिक सङ्कटमा पर्न सक्नुहुन्छ ।’
मैले आश्वस्त तुल्याएँ, ‘हामी सक्छौँ ।’
फोनमा १५–१५ मिनेटमा यस्ता कुरा भइरहे । अन्त्यमा, अबेर राति ललित बस्नेतले भन्नुभयो, ‘राष्ट्रपतिज्यूबाट उहाँलाई पत्र आउँछ ।’
मैले पीएसओज, डिभिजन कमान्डर, राष्ट्रिय सुरक्षा परिषद्का सहसंयोजक, महानिर्देशकहरू, प्राड विवाक प्रमुख सबैलाई भनेँ, ‘राष्ट्रपतिज्यूबाट पत्र आउँदैछ । आएपछि म तुरून्त तपाईंहरूकहाँ पठाइहाल्छु । तपाईंहरूले पढ्नुस् ।’
अनि सबैलाई आआफ्ना कार्यकक्ष जान छाडिदिएँ ।
राति १०:३० बजे प्रधानसेनापतिलाई पत्र आइपुग्यो । त्यसपछि मैले तुरून्तै बलाधिकृतको हैसियतले पत्रमा दस्तखत गरी ११:५६ बजे राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, सबै विभाग, सबै पृतना हेडक्वार्टर्स, सबै महानिर्देशनालय, सबै निर्देशनालय, नं. १० वाहिनी (विशेष फौज) अड्डा आदिमा निर्देशन/सन्देश पठाएँ ।
त्यसको आशय यस प्रकारको थियो– ‘सरकारबाट महारथी रूक्मांगद कटवाललाई प्रधानसेनापति पदबाट अवकाश दिइएको सन्दर्भमा सरकारमा सहभागी सबै दलको त्यसमा असहमति रहेको, एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको, नेपालको अन्तरिम संविधानले राष्ट्रपतिलाई संविधानरक्षक तथा नेपाली सेनाका सर्वोच्च परमाधिपति तोकेको अवस्थालाई दृष्टिगत गर्दा, प्रधानसेनापतिको अवकाश तथा नयाँ नियुक्ति संवैधानिक व्यवस्था अनुकूल नभएको र प्रक्रियागत रुपमा पूर्ण नभएकोले त्यसलाई अनुकूल र प्रक्रियागत बनाउन लेखिआएकोले राष्ट्राध्यक्ष र नेपाली सेनाका सर्वोच्च परमाधिपतिको हैसियतले राष्ट्रपतिबाट वर्तमान अवस्थामा यथावत् रुपमा नेपाली सेनाको प्रधानसेनापतिको हैसियतले निरन्तरता दिन निर्देशन भएको छ ।’
त्यतिन्जेल रातको साढे १२ बजिसकेको थियो ।
वैशाख २१ गते अपराह्न टेलिभिजनहरूमा प्रधानमन्त्री पुष्पकमल दाहालको राष्ट्रको नाममा सम्बोधन आयो । त्यो प्रत्यक्ष प्रसारण मैले पनि हेरेँ । उहाँले लामो भनाइपछि आफू नेतृत्वको सरकार छाडेको घोषणा गर्नुभयो । प्रधानसेनापति फाल्छु भनेर लाग्दा उहाँले आफ्नै प्रधानमन्त्री पद छाड्नपर्‍यो ।
प्रधानसेनापति कटवालको फरक रबैया
राष्ट्रपतिबाट प्रधानसेनापतिमा कटवालको थमौतीपछि मलाई बलाधिकृतको अलावा रथी कुलबहादुरको बलाध्यक्षको जिम्मेवारी पनि थप दिइएको थियो । कुलबहादुरलाई कुनै जिम्मेवारी दिइएको थिएन । १० बजे कार्यालय आउँथे, ५ बजे फर्किन्थे । अवकाशअघि लिनुपर्ने घरबिदासम्म लिएनन् । असार ६ गते अवकाश भएपछि घर बसे ।
कुलबहादुर घर बसेपछि चाहिँ महारथी कटवालको रबैया उल्टो देखिन थाल्यो । आउँदो साउन २४ गते एक महिनाको घरबिदा लिएर भदौ २४ गते अवकाश हुने प्रधानसेनापति जस्तो हैन कि, आफ्नो कार्यकालको बीचोबीचमा रहेको प्रधानसेनापति जस्तो ।
राष्ट्रपति र सबै राजनीतिक दल उहाँका पक्षमा, मित्रशक्तिहरू उहाँका पक्षमा, त्यसमाथि माओवादीले सरकार छाड्नपरेको अवस्था– यस्तो नाजुक परिस्थितिमा उहाँको उत्तराधिकारीले काम गर्न सक्दैन, उहाँको पदावधि थप्नैपर्छ जस्ता हल्लाहरू व्यापक हुँदै गए ।
मैले यसबारे सुनिश्चित हुन सेनामा भर्नाकालका मेरा साथी सहायक रथी विष्णुबहादुर गुरूङलाई आफ्नो कार्यालयमा बोलाएर भनेँ, ‘महारथी कटवालले पदावधि थप्न लागेको भन्ने हल्ला छ । उहाँसँग कुरा गरेर बुझ्नुस् न ।’
उनी कटवाललाई भेट्न गए र केही क्षणमा फर्के । विष्णुले सुनाए अनुसार, कटवालसँग केही बेर गफगाफ भएपछि उनले भनेछन्, ‘सर, धेरै समय छैन अब । आफ्नो पदावधि बढाउनेतिर हैन, आफ्नो उत्तराधिकारी छत्रमानलाई ग्रुमिङ गर्नतिर लाग्नुपर्‍यो नि ।’
जवाफमा महारथी कटवालले भन्नुभएछ, ‘एभ्रिबडी वान्ट्स मी टु कन्टिन्यु, ह्वाट क्यान आई डु ?’ (सबैजना मेरो निरन्तरता चाहन्छन् त म के गरुँ?)
मैले कटवालको आशय बुझिहालेँ । पदावधि बढाउन उहाँले राष्ट्रपति डा. रामवरण यादवलाई व्यापक जोड गर्नुभएछ । राष्ट्रपतिले जवाफ दिनुभएछ, ‘यस्तो कल्पनै नगर्नुस् । सिस्टम अनुसार चल्नुपर्छ । सिस्टम अनुसार आउँछन्, जान्छन् ।’
प्रधानमन्त्री माधवकुमार नेपाललाई पनि यस विषयमा व्यापक दबाव दिनुभएको तर नमानेको जानकारी पनि मैले पाएँ । आफूकहाँ यो कुरा आउँदा रक्षामन्त्री विद्यादेवी भण्डारीले कटवाललाई भन्नुभएछ, ‘तपाईं एक दिन पहिला अवकाश हुन पनि पर्दैन, एक दिन बढी बस्न पनि मिल्दैन ।’
यही बेला नेकपा एमालेका नेता केपी ओली अचानक दिल्ली जानुभयो । यहाँ हल्ला चल्यो– उहाँ कटवालको पदावधि बढाउनेबारे भनसुन गर्न, लबिइङ गर्न त्यता जानुभएको हो । केही दिनमा फर्किनुभयो । मैले एकजना परिचित पत्रकारलाई यसबारे सोध्न भनेँ । उनले सोध्दा जवाफ पाएछन्, ‘नेपाली सेना वृद्धाश्रम हैन ।’
महारथी कटवालले बुझ्नुपर्ने कुरा के थियो भने, राष्ट्रपतिले नेपाली सेना जस्तो संस्थालाई माओवादी हस्तक्षेपबाट बचाउन ‘कदम’ चाल्नुभएको थियो । माओवादी महत्वाकाङ्क्षा बुझेका अन्य राजनीतिक दल पनि उसलाई साइजमा ल्याउन त्यो परिस्थितिमा प्रधानसेनापतिको पक्षमा लामबद्ध भएका थिए । कुनै व्यक्तिको समर्थनमा हैन कि, नेपाली सेना नामको संस्थाको साख जोगाउन ।
प्रधानमन्त्री नेपालसँग भेट
सरकारले महारथी रूक्मांगद कटवाल साउन २४ गतेदेखि अवकाश पहिलाको एक महिनाको घरबिदा बस्ने र मैले त्यही दिनदेखि कायममुकायम प्रधानसेनापतिको कार्यभार बुझ्ने निर्णय गरिसकेको भनेर मिडियामा आइसकेको थियो ।
तर, मलाई औपचारिक रुपमा केही भनिएको थिएन । त्यसको भोलिपल्ट प्रधानसेनापति कटवालले मलाई भन्नुभयो, ‘जाउँ हिँड, म प्रधानमन्त्रीसँग भेट गराइदिन्छु ।’
हामी सिंहदरबारतिर लाग्यौँ । प्रधानमन्त्री (माधवकुमार नेपाल) सँगको भेटमा कटवालले मलाई औँल्याउँदै भन्नुभयो, ‘म, उ: छत्रमानलाई प्रधानसेनापति बनाउँदैछु ।’
प्रधानमन्त्रीले फिस्स हाँस्दै भन्नुभयो, ‘प्रधानसेनापति सरकारले बनाउने हो, तपाईंले हैन ।’
कटवाल सच्चिनुभयो, ‘हैन हैन, प्रधानसेनापतिको लागि सिफारिस गर्छु भनेको ।’
प्रधानमन्त्रीले भन्नुभयो, ‘हो, त्यसो भन्नुस् न ।’
केही समयपछि हामी जंगी अड्डातर्फै फक्र्यौं ।
कटवाललाई आखिर सरकार वा अन्य कसैबाट सहयोग भएन । उहाँको केही लागेन । केही दिनपछि साउन २४ गतेदेखि उहाँ घरबिदा बस्ने र मैले त्यही दिनदेखि कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने सरकारी निर्णयको पत्र आयो । तर, उहाँले मलाई कार्यभार साउन २५ गतेको अपराह्न ५ बजेमात्र बुझाउनुभयो ।
शशि भवनमा डिनर
पूर्वप्रधानसेनापतिहरुसँग चिनाजानी, वर्तमान परिस्थितिबारे कुराकानी तथा जानकारी लिन प्रधानमन्त्री माधवकुमार नेपालले इच्छा गर्नुभयो । मैले २०६६ चैत १९ गते साँझ ७ बजेको लागि कार्यक्रम मिलाएँ ।
प्रधानमन्त्री नेपालले चिसो पेयपदार्थ र अरुले ड्रिङ्क्स लिनुभयो । पूर्वप्रधानसेनापति महारथी रूक्माङ्गद कटवालचाहिँ निकै ढिलो, करीब पौने एक घण्टापछि आउनुभयो । उहाँ प्रधानमन्त्री नेपालनजिकै बस्नुभयो ।
उहाँहरु दुई जनाबीच निकै बेर कुरा भइरह्यो । कटवालको स्वरचाहिँ चर्को हुँदै गयो । प्रधानमन्त्री नेपाल भने बिस्तारै शिष्ट तरिकाले नै बोलिराख्नुभयो । पछि कटवालको बोली यति चर्को हुँदै गयो, सबै पूर्वप्रधानसेनापतिहरुले चुपचाप त्यतै हेर्न थाल्नुभयो ।
कटवालले चर्को स्वरमा भन्दै हुनुहुन्थ्यो, ‘गट्स (आँट) चाहिन्छ, गट्स चाहिन्छ ।’
प्रधानमन्त्री नेपालचाहिँ नरम र शिष्ट भाषामा बोल्दै हुनुहुन्थ्यो, ‘संविधान, ऐनले मिल्दै नमिल्ने काम कसरी गर्न सकिन्छ ?’
अनि कटवालले त्यही टोनमा भन्नुभयो, ‘त्यति नभए पनि तीन महीनामात्र भए पनि मेरो म्याद थपिदिएको भए म गरेर देखाइदिन्थेँ ।’
वातावरण असहज हुँदै गइराखेको थियो । सबै वाल्ल पर्‍यौँ । प्रधानमन्त्री नेपालले नमज्जा मान्नुभयो । त्यसैले हिँडी पनि हाल्नुभयो । तल गाडी चढ्ने ठाउँसम्म म र कमला पुर्‍याउन गयौँ । मैले माफ मागेँ ।
यसभन्दा पहिला कटवालले म्याद थपेर आफैँ प्रधानसेनापति भइरहन खोजेका विभिन्न कुरा मैले अरुका मुखबाट सुन्दै आएको थिएँ । उहाँ आफैँले भनेको चाहिँ यसअघि सुनेको थिइनँ । कटवाल आफैँले भन्नुभयो, प्रधानमन्त्री र पूर्वसेनापतिहरुकै सामुन्ने ।
सैनिक ऐनले प्रधानसेनापतिको कार्यकाल तीन वर्ष वा ६१ वर्ष उमेरको हद तोकेको छ । त्यही अनुसार उहाँले तीन वर्ष पूरा खानुभयो । तीन वर्षमा नगरेको कुनचाहिँ काम ‘तीन महीनामा गरेरै देखाइदिन्छु’ भन्नुभएको थियो, बुझिएन ।
(पूर्वप्रधानसेनापति गुरुङको प्रकाशोन्मुख पुस्तक ‘जनताको छोरो’ को सम्पादित अंश)


No comments:

Post a Comment