Tuesday, April 12, 2016

भित्रै होटलको सुविधासहित नयाँ संरचनामा बन्दैछ नयाँ बसपार्क


नयाँ बसपार्क व्यवस्थापनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीयले नयाँ बसपार्कलाई नयाँ ढाँचामा बदल्न लागेको छ। 
 
बसपार्कभित्रै होटल तथा मलको सुबिधाका साथ निःशुल्क रुपमा नर्सिङ काउन्सलिङ स्टेशन समेत स्थापना गर्न लागिएको ल्होत्से बहुउद्देश्यीयका अध्यक्ष दिपक कुँवरले जानकारी दिएका छन्। 
 
गत फागुन २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बसपार्कको स्तरोन्नति गर्नको लागि थप गर्न लागिएका संरचना  निर्माणको उद्घाटन गरेका थिए। अहिले नयाँ बसपार्कमा बन्न लागेको ल्होत्से मलको निर्माण कार्य अघि बढाइएको छ।  
 
तर  निर्माण गर्न लागिएको नयाँ भवनको नक्सा पास भने अहिलेसम्म हुन सकेको छैन। कम्पनीका अनुसार नक्सा पास गर्न दिएको छ महिना बित्न लाग्दा सम्म पनि महानगरपालिकाले नयाँ भवनको नक्सा स्वीकृत गरिदिएको छैन। 
 
नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनको लागि काठमाडौंं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच गत साउन २५ गते एक सम्झौता भएको थियो। त्यसै बमोजिम ल्होत्सेले नयाँ संरचनाको नक्सा तयार गरी महानगरपालिकालाई बुझाइसकेको छ। 
 
कात्तिक महिनाबाट निर्माण कार्य थालनी गर्ने भने पनि नाकाबन्दीका कारण कम्पनीले फागुनमा मात्रै निर्माणको काम सुरु गरेको छ।  नयाँ संरचना निर्माण गरी यसको स्तरोन्नति गर्नको लागि काठमाडौं महानगरपालिकाले ल्होत्सेलाई चार वर्षको समय दिएको छ। तर ल्होत्सेले भने तीन वर्षमै यसको निर्माण सम्पन्न गर्ने योजना बनाएको कुँवर  बताउँछन्। 
 
अध्यक्ष कुँवरले भने ‘चार वर्षको समयावधि रहेको भएपनि हामीले तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने योजना बनाएका छौँ।’ अहिले नयाँ बसपार्कमा रहेका टहरालाई भत्काई नयाँ सपिङ कम्प्लेक्स बनाउन लागिएको छ।  जहाँ फिल्म हल, प्ले स्टेशन, फुड कोर्ट, कफी सप, ब्याकेंट हल र विभिन्न पसलहरु  रहनेछन्। 
 
साथै नयाँ बसपार्कमा लकर र सावर रुमहरुको समेत निर्माण गरिने भएको छ। काठमाडौंमा बाहिर जिल्लाबाट आएकाहरुले एक दिनको लागि पनि अहिले गेष्ट हाउसका कोठा भाडामा लिनुपर्ने बाध्यता छ।  
 
तर त्यो बाध्यता हटाउने भन्दै सावर र लकरहरुको व्यवस्था गर्न लागेको  कुँवरले जानकारी दिएका छन्। लकरको ब्यवस्था भएपछि बिहान काठमाडौं आएको मानिस लकरमा सामान राखेर दिनभर आफ्नो काममा जान सक्छ। दिउँसो काम सम्पन्न गरी बेलुका घर फर्कन चाहनेहरुका लागि यो धेरै नै फाइदाजनक हुने कँुवरको भनाई छ। 
 
 कुँवरका अनुसार सामान राख्नको लागि ठूला र साना लकरहरुको निर्माण गरिनेछ भने  उक्त लकर प्रयोग गरे बापतको शुल्क अत्यन्तै न्युन राखिने छ। कहाँको बस कति बेला छुट्छ भन्ने जानकारी दिनको लागि ल्होत्सेले विभिन्न स्थानमा स्क्रिन समेत राख्ने भएको छ। साथै वेटिङ लाउन्जको निर्माण गरी इन्फरमेशन डेस्कबाट विभिन्न सूचना प्रदान गर्ने ल्होत्सेको योजना छ। 
अब नयाँ बसपार्कको कम्पाउण्डमा सुविधा सम्पन्न होटलहरु समेत बन्न लागेका  छन्।  सुुरक्षा सयंन्त्र बलियो बनाउन  भने नयाँ बसपार्कको सवै स्थानमा सिसिटिभी जडान गर्न लागिएको छ । साथै  प्रहरी पोस्टको लागि समेत  ल्होत्सेले नयाँ भवन निर्माण गर्न लागेको छ। 
 
नयाँ बसपार्कमा  शुरक्षा प्रदान गर्न महानगरपालिकाको नगर प्रहरी, नेपाल प्रहरी तथा ट्राफिक प्रहरीको पोष्टको लागि छुट्टै भवन निर्माण गर्न  लागिएको कुँवरले जानकारी दिए।  
सुरक्षा सयंन्त्रको उपस्थिति सँगै नयाँ बसपार्कमा हुने ठगी तथा गेष्ट हाउसका प्रतिनिधीले यात्रुलाई तानातान गर्ने प्रबृतिको समेत अन्त्य गरिने कुवँर बताउँछन्।  
 
त्यस्तै अब पेट्रोल पम्प र रिपेरिङ तथा सर्भिसिङ सेन्टर ल्होत्से आफैले कम्पाउण्ड भित्र सञ्चालन गर्ने भएको छ। ल्होत्सेले नयाँ बसपार्कको व्यवस्थापन गर्न पाउने जिम्मा ३० वर्षको हुनेछ। ३० वर्षपछि ल्होत्सेले नयाँ बसपार्कमा निर्माण गरेको सवै भौतिक संरचना महानगरपालिकाको हुनेछ। 
 
४० वर्षको लागि व्यवस्थापनको जिम्मा पाएको ल्होत्सेले अहिले नयाँ बसपार्कमा विभिन्न भौतिक संरचना भत्काउने तथा नयाँ संरचना थप्न लागेको  हो। ल्होत्से बहुउद्देश्यीय प्रालीले २०५६ सालदेखि नयाँ बसपार्कको व्यवस्थापनको जिम्मा पाएको  छ।

No comments:

Post a Comment