Tuesday, April 12, 2016

'ट्राफिक प्रहरीले दादागिरी देखाए'

'ट्राफिक प्रहरीले दादागिरी देखाए'
काठमाडौं- बबरमहलबाट बा७०प १७६३ नम्बरको स्कुटरमा आएका अमरराम मल्ल माइतिघरबाट भद्रकालीतर्फको सडकमा मोडिए। माइतिघर मण्डलाबाट स्वास्थ्य मन्त्रालयको पछाडीपट्टीबाट भद्रकाली मन्दिर निस्कन नयाँ खोलिएको उक्त सडकको मुखमै बसेका ट्राफिक प्रहरीले उनलाई समातिहाले।

लेन अनुसासन मिचेको भन्दै डिउटीमा रहेका ट्राफिकले उनको नाममा चिट काटिहाले। चालक अमररामले बबरमहलबाट आउने क्रममा उक्त बाटोमा छिर्न नपाइने विषयमा आफूलाई कुनै जानकारी नै नभएको ट्राफिकलाई बताए। तर, ट्राफिक प्रहरीले उनलाई 'अब थाहा पाउनु भो' भन्दै उनको लाइसेन्स लिए र लाइसेन्स लिनका लागि महाशाखाको कार्यालय बग्गिखानामा एक घण्टाको सचेतना कक्षा लिनुपर्ने जानकारी दिँदै दुई सय रुपैयाँ कारवाहीको चिट थमाए।

पहिलो पटकमै सचेत नै नगरी ट्राफिकले कारवाहीको चिट भिराएपछि अमरराम आक्रोषित भए। 'न कुनै संकेत छ न त कुनै जानकारी नै छ। सोझै पासो थापेर समात्दै कारवाही गर्नु त भएन नी,' उनले आक्रोषित हुँदै भने, 'पहिलोपटक त सचेत गराएर छाड्नु पर्ने हो नी। यो तर सरासर ट्राफिकले चालकलाई अन्याय गरेको हो।' उनले छिर्नै नमिल्ने भए उक्त सडक बन्द गराउँनु राम्रो हुने बताए।

अमररामलाई कारवाहीको चिट कटिरहेकै बेलामा बा३६प ८३१९ नम्बरको अर्को मोटरसाइकल पनि त्यसैगरी डिउटीमा रहेका ट्राफिकले समातिहाले। उक्त मोटरसाइकलका चालकले समेत आफूलाई उक्त विषयमा जानकारी नभएको र पहिलोपटकलाई सचेत गराउन आग्रह गरे। तर, डिउटीमा खटिएका ट्राफिक प्रहरी हरिचन्द्र बानियाँले लाइसेन्स लिएर चिट काटिहाले।

मोटरसाइकल चालकलाई चिट थमाउन नपाउँदै बानियाँले बा१ज ९१३९ नम्बरको भ्यानलाई पनि त्यसैगरी रोक्न भ्याइहाले। सोमबार दिउसो साढे ३ बजेतिरको समयमा उक्त स्थानमा बानियाँसहितका ५ जना ट्राफिक प्रहरीले करिब ३० वटा सवारीलाई लेन अनुसासन मिचेको भन्दै कारवाहीको चिट थमाए।

बानियाँका अनुसार उक्त स्थानमा दैनिक दुई सय भन्दा बढी चालक लेन अनुसासन मिचेकोमा कारवाहीमा पर्ने गरेका छन्। कारवाहीमा पर्ने चालकहरुले भने सचेत समेत नगरी सोझै कारवाही गर्ने ट्राफिक प्रहरीको उक्त कामलाई ट्राफिक प्रहरीको 'दादागिरी'को संज्ञा दिएका छन्।

'चालक भद्रकालि तर्फ छिर्ने बेलामा छेउमा रहेका ट्राफिकले कुनै संकेत नै गर्दैनन्,' एक चालकले भने, 'जब सडकको मुखमा आइपुग्छ अनि समातेर चिट काटिहाल्छन्। यो त उनीहरुले बल्छी थापेजस्तै भो नि।' उनले उक्त सडकमा छिर्न पाइँदैन भन्ने जानकारी दिन पहिला सुचना निकाल्नु पर्ने, ठूलो अक्षरमा देखिने बोर्ड राख्नुपर्ने र कसैले गल्ती गरेको पाइएमा पहिलोपटकलाई सचेत गराएर छाड्नु पर्ने बताए।

महानगरिय ट्राफिक प्रहरी महाशाखाले भने उक्त स्थानका विषयमा धेरै पटक जानकारी गराइसकेको, सडकमा छिर्न नमिल्ने संकेत तथा सडक मार्किङ गरिएको दोहोरो लाइन राखिएको बताएको छ। महाशाखाका डिएसपी राजेन्द्र भट्टका अनुसार लेन अनुसासनमा कडाई गर्दै आएकाले पहिलो पटक वा पटक पटक पर्ने सबैलाई कारवाहीको दायरामा ल्याउने गरिएको छ।

'चालकले सडकमा राखिएको संकेत बोर्ड तथा मार्किङलाई ख्याल गर्नुपर्छ,' उनले भने, 'उक्त स्थानमा बबरमहालतर्फबाट आउने चालकले मोडिन नमिल्ने लाइन तथा संकेत स्पष्ट राखेको छ।' उनले बबरमहलतर्फबाट आउने जोसुकै पनि त्यहाँबाट छिरेमा कारवाहीको दायरामा आउने बताए। उनका अनुसार थापाथलीबाट आएकाहरुले मात्र भद्रकालीतर्फ जाने उक्त सडकको प्रयोग गर्न पाउने छन्।

महाशाखाले उक्त सडक सञ्चालनमा आएको केही बिबरमहल र थापाथली दुबैतर्फका सवारीलाई चल्न दिए पनि सवारी व्यवस्थापनमा समस्या आएपछि बबरमहलबाट आउनेलाई जान निषेध गर्न सुरु गरेको भट्टले जानकारी दिए।

उनका अनुसार पछिल्लो तीनसाता यता उक्त स्थानमा निगरानी बढाउँदै कारवाहीलाई तिव्र बनाइएको हो। महाशाखाले गत चैत ८ गतेदेखी उक्त स्थानसँगै उपत्यकाभरको लेन अनुसासनमा कडाई गर्दै आएको छ। चैत ८ गतेयता उपत्यकामा झण्डै ८ हजार चालक कारवाहीमा परिसकेका छन्। तिमध्ये ६० प्रतिशतभन्दा बढी माइतिघरबाट भद्रकाली छिर्नेस्थानमा नै परेको पाइएको छ।

चालकले लेन मिच्दै जथाभावी सवारी गुडाउन थालेपछी दुर्घटना बढेको साथै सवारी व्यवस्थापनमा समस्या बढेको भन्दै कडाई गर्न सुरु गरेको भट्टले जानकारी दिए। लेन अनुशासन मिच्ने चालकले दुई सय रुपैयाँ जरिवाना सहित मापसेको जस्तै अनिवार्य रुपमा एक घण्टा ट्राफिक नियमसम्बन्धी कक्षामा बस्नुपर्ने हुन्छ।

महाशाखाले उपत्यकाका सडकमा रहेको सिसिटिभीको सहयोगमा र हालै ल्याइएको एक्सन क्यामेराको सहयोगमा समेत समेत लेन अनुसासन मिच्नेलाई निगरानीमा राख्दै कारवाही गरीरहेको छ। लेन मिच्ने चालकको संख्या दैनिक पाँच सयभन्दा बढी पाइएपछि महाशाखाले सचेतना कक्षको संख्यामा समेत वृद्धि गरेको छ।

तथ्यांक अनुसार लेन अनुशासन मिच्नेमा ९० प्रतिशत मोटरसाइकल चालक र त्यसपछि माइक्रो र ट्यांकरका चालक रहेका छन्। अन्य ठुला सवारीहरुले थोरै मात्र लेन मिच्ने गरेको पाइएको छ। महाशाखाले लेन मिच्ने चालकलाई सचेतना कक्षामा लेन मिच्दा भएका दुर्घटनाका भिडियो, लेन मिच्दा हुने जाम, तीव्र गतिले हुने दुर्घटना, सहचालकले बसबाहिर टाउको देखाउन नहुने, जेब्रा क्रसिङमा सवारी रोक्नुपर्ने, चालकले मोबाइल प्रयोग गर्न नहुने, सिट बेल्ट र हेल्मेट लगाउनुपर्ने, मोटरसाइकलमा दुई जनाभन्दा बढी चढ्न नपाइने, सवारी जधाभावी रोक्न नपाईने लगायतका कुराहरु सिकाइन्छ।

No comments:

Post a Comment