Saturday, April 9, 2016

उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गर्न सक्ने

फोटो :एजेन्सी
एजेन्सी: उत्तर कोरियाले शनिवार अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल रकेटको इन्जिनको सफलतापूर्वक परीक्षण गरेको जनाएको छ। 
 
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उसले अमेरिकासम्म परमाणु आक्रमण गर्ने क्षमताको शनिबार विकास गरेको हो । 
 
उत्तरको यो परीक्षणले कोरियन प्रायद्वीपमा फेरि तनाव बढ्ने अवस्था आएको छ । उत्तर कोरियाले यसै सालमात्रै चार पटक परमाणु मिसाइलको परीक्षण गरिसकेको छ । जसमा एक हाईड्रोजन बम पनि सामेल छ । 
 
उत्तर कोरियाको समाचार एजेन्सी केसीएनएले अन्तरमहादेशीय मिसाइल रकेट इन्जिनको सफलतापूर्वक परीक्षण भएको जानकारी शनिबार दिएको हो । 
 
यस परीक्षणका क्रममा तानाशाह किम जोङ्ग उन पनि उपस्थित थिए । यसअघि उत्तरले दक्षिण कोरया र अमेरिकामाथि परमाणु आक्रमणको धम्की दिँदै आएको थियो । 
 
उत्तर कोरियाको रकेट इन्जिन परीक्षणलाई दक्षिण कोरियाले गम्भीरतापूर्वक लिएको छैन। उसले उत्तर कोरियाक अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइललाई भरपर्दो नरेहको जनाएको हो । उत्तर एक्लैले यो परीक्षण गर्नै नसक्ने दक्षिणको जिकिर छ । 
 
वाशिङ्गटनमा विदेश विभागका प्रवक्ता मार्क टोनरले उत्तर कोरियाको यो दाबीलाई नचाहिँदो गफ र अफबाहको संज्ञा दिँदै यस्तो कामलाई अमेरिका सदैव निरुत्साहित गर्ने पक्षमा रहेको बताए । 
 
उत्तर कोरियाले यस रकेट इन्जिनको सफलतापूर्वक परीक्षण गरेको घोषणापछि अमेरिका र उसका सहयोगी देशहरुले यसलाई आफूहरुलाई युद्धका लागि उकास्ने खेलकारुपमा लिएका छन् । 
 
उत्तर कोरियाले सन् २०१४ मा मध्य दुरीको मिसाइल परीक्षण गरेपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उसमाथि ब्यालिस्टिक मिसाइल परीक्षण गर्नमा प्रतिबन्ध लगाएको थियो।
 
उत्तर कोरिया कोरियन प्रायद्वीपमा अमेरिका-दक्षिण कोरियाबीच पटक पटक भइरहेका संयुक्त सैन्य अभ्यासबाट असन्तुष्ट छ । 
 
उत्तर कोरियाले जनवरीमा हाइड्रोजन बमको सफल परीक्षण गरेको पनि दाबी गरेको थियो । 
 
९ अक्टोबर २००६ मा पहिलो पटक जमीनभित्र उसले परमाणु बम परीक्षण गरेको थियो । यसपछि अमेरिकाले परमाणु युद्धको खतरा आएको चेतावनी दिएको थियो । 
 
२५ मे २००९ मा दोस्रो पटक उसले अर्को परमाणु बमको परीक्षण गरेको थियो । १३ जुन २००९ मा उत्तर कोरियाले यूरेनियम प्लान्ट स्थापना गर्ने जनाएको थियो । यसबाट परमाणु हतियार र प्लूटोनियममा आधारित रिएक्टर बनाउने अनुमान गरिएको थियो । 
 
११ मे २०१० मा न्यूक्लियर फ्यूजन रिएक्टर बनाएको दाबी उत्तरले गरेको थियो । त्यतिबेलै उत्तरले शक्तिशाली बम बनाउने अनुमान गरिएको थियो । 
 
१३ फेब्रुअरी २०१३ मा उत्तरले तेस्रो पटक न्यूक्लियर परीक्षणको दाबी गर्यो । त्यसपछि १० डिसेम्बर २०१५ मा तानाशाह उनले हाइड्रोजन बम बनाउने क्षमताको विकास गरेको दाबी गरेका थिए । 
 
त्यसको दुई महिना नबित्दै उत्तरले ६ जनवरी २०१६ मा हाइड्रोजन बमको सफल परीक्षण गर्यो । त्यसपछि फेब्रुअरी २०१६ मा लामो दुरीको मिसाइल परीक्षण गर्यो । 
 
उत्तरले २ मार्च २०१६ मा लेजर गाइडमा आधारित एन्टी ट्याङ्क मिसाइलको सफल परीक्षण गर्यो । त्यसपछि ४ मार्च २०१६ मा उसले मल्टिपल लन्च रकेट प्रणालीको विकास गर्यो । 

No comments:

Post a Comment