Monday, April 11, 2016

नयाँ पोसाकप्रति प्रहरीको असन्तुष्टि


‘यस्तो ड्रेस लगाएर ड्युटीमा खटिन सहकर्मीहरू इच्छुक छैनन् । हामी त बैंकका गार्डजस्ता पो देखियौं ।’
चैत्र २९, २०७२- गत वर्षदेखि लागू भएको नयाँ पोसाकप्रति जिल्लाका तैनाथ प्रहरीले असन्तुष्टि जनाएका छन् । यसअघिको टाटेपांग्रे कम्ब्याटलाई विस्थापित गर्दै प्रहरी मुख्यालयले गाढा निलो रङको पोसाक प्रचलनमा ल्याएको हो ।
आगामी वैशाखदेखि देशभरका प्रहरी अनिवार्य सोही पोसाकमा देखिनुपर्ने छ । मुख्यालयले एक वर्षअघि पोसाक परिवर्तनको निर्णय गरेको थियो । नयाँ पोसाकबारे प्रहरीकै उच्च अधिकारी असन्तुष्ट हुँदासमेत निर्णय पुनरावलोकन भएको छैन ।
सशस्त्र प्रहरीसँग मिल्दोजुल्दो भएको र नागरिकमैत्री नभएको भन्दै तत्कालीन गृहमन्त्री बामदेव गौतमका पालामा पोसाक परिवर्तनको निर्णय भएको हो । नयाँ पोसाक पूरै निलो रङको छ । छिट्टै खुइलिने र असाध्यै धुलो टाँसिने भएकाले नयाँ पोसाक प्रहरीले नरुचाएका हुन् ।
जिल्ला प्रहरीका एक अधिकृतले फेरिएको चुस्ता राम्रो नभएको र यसले प्रहरीको मनोबल घटेको बताए । ‘पुनर्विचार गर्न धेरै सुझाव गएको हो । हेडक्वार्टरले सुनेन,’ उनले भने, ‘यस्तो ड्रेस लगाएर ड्युटीमा खटिन सहकर्मीहरू इच्छुक छैनन् । हामी त बैंकका गार्डजस्ता पो देखियौं ।’ चुस्तादेखि सबै असन्तुष्ट हुँदा पनि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले निर्णय पुनर्विचार नगरेको आरोप छ । नागरिकमैत्री प्रहरी बनाउने बहानामा हेडक्वार्टरले सिंगो संगठनकै मनोबल कमजोर बनाएको स्थानीय स्तरमा गुनासो छ । सर्वसाधारणले पनि प्रहरीभन्दा सुरक्षा गार्डको पोसाक धेरै गुणा राम्रो रहेको प्रतिक्रिया दिएका छन् । नयाँ चुस्ता एक महिना नबित्दै खुइलिएको गुनासो पनि छ ।
‘पोसाक चित्त बुझदो भएन । सबै प्रहरीले कामै नलाग्ने छ भन्छन्,’ सामुदायिक सेवा केन्द्रका एक पदाधिकारीले भने, ‘तत्काल यसलाई परिवर्तन गर्नु उचित होला ।’ दैलेख काँडाचौरका जनक न्यौपानेले नयाँ पोसाकले प्रहरी कि पाले हुन् भनेर नागरिकलाई पनि ठम्याउन गाह्रो भएको बताए ।
पोसाक परिवर्तनमा व्यापक भ्रष्टाचार भएको हुन सक्ने जिल्लावासीको टिप्पणी छ । जिल्ला प्रहरी प्रमुख डीएसपी वीरबहादुर ओलीले जनतासँग प्रत्यक्ष काम गर्नुपर्ने भएकाले प्रहरीलाई नागरिकमैत्री बनाउन कम्ब्याट ड्रेस हटाइएको हुन सक्ने बताए । हाल प्रहरीका दुई किसिमका पोसाक छन् । औपचारिक पोसाक आकासे निलो रङको सर्ट र गाढा निलो पाइन्ट तथा अपरेसनका बेला लगाइने सादा गाढा निलो रङको छ ।


No comments:

Post a Comment