Monday, April 11, 2016

सास्तीभित्रको सुख

  • अपांगता भएका सन्तान हुर्काउने अभिभावकहरु
२२ चैतको धुम्म परेको साँझ हामी कार्यविनायक–११, जावलाखेल बसपार्कस्थित सरिता तामाङको डेरामा पुग्दा ताल्चा ठोकिएको रहेछ । हामीलाई देख्नासाथ अलि परबाट सरिता दगुर्दै आइपुगिन्, ढोका खोलिन् । हुनलाई त त्यो एउटा सानो कोठा थियो तर सरिताका लागि सिंगो घर । किनभने, त्यही कोठामा पाँच जनाको उनको परिवार अटाएको छ । सुत्ने पलङ र किचेन र्‍याकको दूरी तीन पाइला पनि छैन । त्यही साँघुरो खाली ठाउँचाहिँ उनको कान्छो छोरो रमेश तामाङ, १२, को संसार हो । उनी खाने, बस्ने, खेल्ने, सुत्ने र रुने ठाउँ त्यसबाहेक अन्त कतै छैन । सानैमा मानसिक पक्षघातको सिकार भएका उनी त्यहाँबाट निस्कनै सक्दैनन् ।

बन्द कोठा, त्यसभित्र पनि मैलो तकियाले बारिएको चौघेरा । रमेश त्यही चौघेराभित्र टाउको भुइँमा जोतेर भित्तातिर फर्केका थिए, पिडुलाचाहिँ भुइँतिर । हामीलाई देखेपछि सामान्य चलमलाउनुबाहेक कुनै प्रतिक्रिया जनाएनन् । उदास अनुहार, खुजमुजिएको कपाल, लुला हातखुट्टा अनि निर्दोष आँखा । चंगाझैँ उड्ने उमेरका रमेशलाई त्यो हालतमा देख्दा मुखबाट शब्दै खसेनन् । बरू सरिता आफैँले मौनता तोडिन्, “छोरालाई कोठाभित्र थुनेर म कता गएको जस्तो लागेको होला तपाईंहरूलाई । उसको पालनपोषणका लागि म चोकमा पानीपुरी र चटपटे बेच्छु ।” अशक्त छोराका खातिर सडकको धूलो खाँदै सरिताले पानीपुरी बेच्न थालेको वर्षौं बितिसकेछ ।

कोठाको कुनामा बडो जतनसाथ राखिएको रमेशको ह्वीलचेयर त्यही पसिनाको प्रतिफल हो । छोराकै सुविस्ताका लागि उनले २० हजार रुपियाँ खर्चेर ह्वीलचेयर किनिन् । ज्यामी काम गर्ने उनका पति विम्बबहादुर सबेरै निक्लन्छन्, रात परेपछि मात्र फर्कन्छन् । अत्यन्त निम्न आयस्तर भएका तामाङ दम्पतीले रमेशलाई उपचार गर्न र हुर्काउन पीडाको अग्लो पहाड छिचोलिरहेका छन् रातदिन । 
रमेशलाई जन्माउँदा सरिता धादिङ, बैरेनीस्थित पुख्र्यौली घरमा थिइन् । जन्मँदा उनी स्वस्थ थिए । चार महिनापछि मुखबाट र्‍यालको धारो बग्न थाल्यो । दूध चुस्न छोडे, रोइकराइ मात्र गरे । केही दिनपछि मुन्टो पछाडि गयो, आँखा आकाशतिर । ऋणपान गरेर पतिको साथमा सरिता काठमाडौँको कान्ति अस्पताल आइन् । ६ महिना ९ दिन राखिन् । यो अवधिमा दिदीको कोठाबाट पतिले ल्याउने एक छाक खानाबाहेक सरिताको मुखमा अरू अन्न परेन । तैपनि, छोरालाई निको हुने आशमा भोक सहिरहिन् । उपचारमा पैसा सकियो । तर, न रोग पत्ता लाग्यो, न रमेशलाई सन्चो नै भयो । बरू अस्पतालको बिल बढिरहेको थियो । “हामीसँग भएको सबै पैसा सकियो, ऋण पनि पाइएन,” सरिताले ती कठिन दिन सम्झँदै भनिन्, “अनि, एक साँझ हामी छोरा लिएर अस्पतालबाट भाग्यौँ ।” त्यसरी भाग्नु विकल्पहीन बाध्यता थियो उनीहरूको । 

रमेश न बोल्न सक्छन्, न हिँडडुल गर्न नै । न खाना खान सक्छन्, न शौचालय जान । पढ्ने, सिक्ने त कल्पनाबाहिरको कुरा । तर, केही चेत नै नभएको चाहिँ होइन । जब सरिता सफा कपडा लगाएर बाहिर निक्लन थाल्छिन्, रमेशको आँखा टिलपिलाउँछ । भन्छिन्, “बाहिर जानुपर्दा उसलाई पत्तै नदिई चोरझैँ लुसुक्क निक्लनु पर्छ, नत्र रुन थाल्छ ।” कोठामा एक्लै थुनेर जाँदा कहिले पानीको आहालमा डुब्छन्, कहिले भित्तामा टाउको ठोक्काएर रगतपच्छे भएका हुन्छन् । अघिल्लो साता घिस्रँदै पलङमुनि छिरेछन्, निस्कनै सकेनन् । ढोका खोल्दा भित्रै गुडुल्किएर रोइरहेका थिए । त्यसैले त पानीपुरी बेचिरहँदा पनि ध्यान रमेशतिरै हुन्छ । बाटोमा बच्चा खेले/हिँडेको देखिन भने झसंग हुन्छिन् । दर्गुदै कोठामा आउँछिन्, रमेशको मुखमा केही हालिदिन्छिन् अनि आँसु पुछ्दै फेरि चटपटे बेच्न पुग्छिन् । र, यो सबै दु:ख–पीडा भुल्ने एउटै बहाना छ उनीसँग, त्यो हो, रमेशको मुखबाट निस्कने एउटै शब्द ‘ममी’ । “उसले ममीभन्दा सारा संसारै पाएजस्तो हुन्छ,” सरिताको मुहार उजेलियो, “आफ्नो रगत, पसिना बगाएर भए पनि उसलाई सकेसम्म सुखी र खुसी राख्नु छ ।”

मानव जातिको सबैभन्दा सुन्दर सिर्जना हो सन्तान । त्यसैले त आमा/बाबु बन्नु जीवनकै उत्कृष्ट सफलता र सन्तुष्टि मानिन्छ । चोट लाग्छ छोराछोरीलाई, पीडा हुन्छ बाबुआमालाई । सन्तान प्रगति गर्छन्, फुरुंग पर्छन् अभिभावक । जन्माउने, हुर्काउने, पढाउने अनि बुढेसकालमा त्यही सन्तानको छहारी खोज्ने प्रकृतिको नियम बसिसकेको छ । तर, उमेर ढल्कँदै गएपछि टेको बन्न नसक्ने सन्तानको चाहिँ बाबुआमालाई माया नलाग्ला र ? हुँदै होइन रहेछ, त्यस्ता अशक्त सन्तानको स्नेहले अभिभावकलाई झन् गाँज्दो रहेछ । छोराको खुसीका लागि अहोरात्र पसिना बगाइरहेका तामाङ दम्पती मात्र होइन, हाम्रो समाजमा उनीहरूजस्ता अरू पनि महान् आमाबाबु छन्, जसले कहिल्यै प्रतिफलको सम्भावना नहुँदा पनि अपांगता भएका सन्तान दिलोज्यान लगाएर हुर्काइरहेका छन् । 

यसमै पर्छन्, ललितपुर, बुङमतीका सानुमाया डंगोल र सूर्यनारायण डंगोल, वनस्थलीका दुर्गा पाण्डे र तारानाथ ढकाल, वनस्थली, बोहराटारका रमा पौडेल र विन्दुकान्त घिमिरे, शंखमूलका सरस्वती ज्ञवाली र प्रदीप ज्ञवाली अनि काठमाडौँ–१६ का हरिशरण काफ्ले र राधिका काफ्ले । यी यस्ता प्रतिनिधि अभिभावक हुन्, जसले अशक्त सन्तानका लागि आफ्नो सुख, खुसी, चाह, अवसर र अभिलाषा तिलाञ्जली दिए । सन्तानको सानिध्य र हेरचाहलाई कहिल्यै दोस्रो प्राथमिकतामा राखेनन्, सधैँ पहिलो । जबकि, उनीहरू समाज र आफ्नै आफन्तले चलाउने दयारूपी तीरको सिकार हुनुपर्छ, पाइलैपिच्छे । र पनि, आफ्ना अशक्त सन्तानप्रतिको असिम प्रेम र हेरचाहलाई घट्न दिँदैनन् रौँ बराबर । उनीहरूको पीडाको स्वरूप र आयतन पनि समान छ ।
 
दशक लामो सकस 
१६ पुस ०६२ दुर्गा पाण्डे र तारानाथ ढकालका लागि सबैभन्दा खुसीको दिन । नहोस् पनि कसरी, पहिलो सन्तानका रूपमा छोरा जन्मिएपछि । छोरासँगै उनीहरूले सपना साँचे, नाम जुराइहाले अदित । तर, अदितको आगमनपश्चात् दुर्गा र तारानाथको मुहारमा देखिएको अद्वितीय मुस्कान लामो समय टिक्न पाएन । नौ महिना नपुग्दै अदित एकाएक बिरामी भए । ठूलो स्वरमा रुने, सुत्दै नसुत्ने, तर्सिरहने । दुर्गाले कान्ति अस्पताल पुर्‍याइन् । सिटी स्क्यान, एमआरआई, ईसीजी, भिडियो एक्सरे सबै गरियो तर डाक्टरले रोग पत्ता लगाउन सकेनन् । काखमा छोरा च्यापेर उनी जनमैत्री, इशान, एभरेस्ट आदि सबै अस्पताल चहारिन् । दुई महिनामै करिब ६ लाख रुपियाँ सकियो तर अदितको पीडा बीसको उन्नाइस भएन । ऋण तिर्न तारानाथ कतार हिँडे । उनले कतारबाट पैसा पठाउन थाले, दुर्गा उपचार गराउन लागिन् । यो क्रम निरन्तर छ । तर अहँ ! उनीहरूको पुकार र संघर्ष ज्यूँका त्यूँ छ । 

अदित १० वर्ष पुगिसके । हिँड्न त सक्छन् तर चेतना करिब शून्य । यसबीचमा छोराको उपचारका लागि दुर्गाले केचाहिँ गरिनन् ? मानसिक विकास होला, दुई–चार शब्द भए पनि बोल्लान् भन्ने आशमा काठमाडौँका कुनै थेरापी केन्द्र बाँकी राखिनन् । तर, खासै उपलब्धिमूलक भएन । अहिले त अदित ठूलो भइसके, बोकेर लैजान सक्दिनन् । सार्वजनिक बस चढाउन र थेग्नै मुस्किल हुन्छ । त्यसैले घरमै आफूले जानेजति थेरापी गराउँछिन् । अदितको समस्या के छ भने उनी एक मिनेट चुप बस्दैनन्, छटपटाइरहन्छन् । चिच्याइ रहन्छन् । नाकमा आफ्नै हातले हानेको हान्यै गर्छन् । राती लगातार दुई घन्टा पनि निदाउँदैनन्, उठेर हल्लाखल्ला सुरु गर्छन् । दुर्गाले मनको गाँठो फुकाइन्, “एक दशक हुन लागेछ, धीत मरुन्जेल सुत्न नपाएको । तर, अदित पनि त सुत्न सकेका छैनन्, उसलाई झन् भित्र कति पीडा होला भनेर चित्त बुझाउँछु ।”

अदितलाई अहिले पनि नियमित औषधि खुवाउनु पर्छ । कहिले राती बेस्मारी काम्छन्, उत्निखेरै अस्पताल पुर्‍याउनु पर्छ । एक निमेश छोड्न मिल्दैन, केही न केही बिगार गर्छन् । हेरचाह त गर्छिन् नि तर पटकपटक लड्छन्, शरीरभरि खतैखत छ । बाहिरबाट ताल्चा लगाएर कतै गयो भने भित्रबाट अदित चुकुल लगाइदिँदा रहेछन् रिसले । त्यसो हुँदा कतिपटक ढोका फुटाउनुपरेको छ । चैत तेस्रो साता नेपालसँग कुराकानी गरिरहँदा दुर्गालाई अदित सम्हाल्नै मुस्किल परिरहेको थियो । नयाँ मान्छे आउँदा उनी रमाउँदा रहेछन्, मादल बज्यो भने नाची पनि हाल्ने । टीभीमा समाचारको धुन र विज्ञापन आउँदा दंग पर्छन् । तर, समस्या उही, एकैछिनमा धैर्य भंग भइहाल्छ । उफ्रिन थालिहाल्छन् । 

पति बाहिर छन्, परिवारमा भएकै त्यही छोरो हो, ऊ पनि त्यस्तो । कति मन पोल्दो हो दुर्गाको । दिन, महिना र वर्ष फेरिए तर उनको दु:ख जस्ताको त्यस्तै । ‘कहिलेकाहीँ अपांग आश्रममा लगेर राखिदिउँ जस्तो लाग्दैन ?’ त्यसरी ममताको खोलो बगाइरहेकी दुर्गाका लागि यो प्रश्न न्यायोचित थिएन । र, पनि सोध्यौँ । अर्को सन्तान नजन्माएकी दुर्गाले निमेशभरमै जवाफ दिइन्, “म आमाले त उसलाई राम्रोसँग हेरचाह गर्न सकेकी छैन, झन् अरूले के गर्लान्, सोच्न पनि सक्दिनँ । जति दु:ख पाए नि सँगै राख्छु ।” यसो भनिरहँदा उनका आँखाका डिल छिचोल्दै आँसु तल झरिरहेका थिए । 
अस्पतालबाट प्राप्त अवसाद
अदितको घर नजिकै छ, आविष्कार घिमिरेको घर पनि । यदि स्वस्थ हुँदा हुन् भने उनीहरू सँगै खेल्थे, पढ्थे । तर, नियति कस्तो भने अदितजस्तै आविष्कार पनि न कोही साथी बनाउन सक्छन्, न खेल्न नै । १२ वर्ष घरको कोठा र बार्दलीमै सीमित भई बित्यो । त्यो घरजस्तै, उनका बाबु विन्दुकान्त घिमिरे र आमा रमा पौडेलले पनि कहिल्यै उनको साथ छोड्दैनन् । अझ रमाको दैनिकी त आविष्कारको वरपरै बित्छ । पेसाले पत्रकार विन्दुकान्त दिउँसो अफिस जान्छन्, साँझ–बिहान छोरासँगै । फेरि, घरबाहिर हुँदा पनि मन आविष्कारसँगै त हो नि !

अस्पतालको सानो लापरबाहीले आविष्कार मानसिक पक्षघातको सिकार भएका हुन्, जन्मँदै । डाक्टरले दिएको ‘डेलिभरी डेट’अगावै रमालाई पाटन अस्पताल लिएर गए विन्दुकान्तले । डाक्टरले अप्रेसन गर्नु पर्दैन, प्राकृतिक जन्म हुन्छ भने । ढुक्क हुँदै पहिलो सन्तानको मीठो प्रतीक्षामा थिए तर केही घन्टा टिक्न पाएन त्यो स्वर्णिम पर्खाइ । शिशु बीचमै अड्किएछ, जतिबेला अप्रेसन गर्न मिल्दैन्थ्यो । विन्दुकान्तले त्यो कठिन पल यसरी सम्झिए, “डाक्टरहरूले भ्याकुम लगाएर निकाले, त्यही बेला शिशुको टाउकोमा गम्भीर असर परेछ । श्वास प्रवास थिएन, शरीर नीलो थियो, अक्सिजन दिएपछि बल्ल रातो भयो अनि रोयो ।” छैटौँ दिनमा भेन्टिलेटरबाट निकालियो । कम्तीमा छोरो बाँच्यो, खुसी भए तर, त्यहीँबाट मानसिक दु:ख, पीडा र हैरानीको शृंखला सुरु भयो । 

विन्दुकान्त अफिस जान्थे, परिवार पाल्नै पर्‍यो । रमालाई खाना खाएर अस्पताल पुग्नै हतार हुन्थ्यो, छोराको फिजियोथेरापी गर्न । त्यसरी दुई वर्ष बित्यो । त्यसपछि डेढ वर्ष बानेश्वरको एक फिजियोथेरापी सेन्टर धाइन् । तर, उनी न बोल्न सक्ने भए, न हिँड्न नै । चार वर्ष पुगेपछि धापाखेलस्थित अपांगता भएका बच्चा पढाउने विद्यालयमा आविष्कारलाई भर्ना गरियो । तर, वनस्थलीबाट धापाखेल पुर्‍याउनै मुस्किल पथ्र्याे । घरबाट निकाल्ने चाल पाउने बित्तिकै मुटु–कलेजो नै निक्लेला जसरी रुन्थे । रमाले सुनाइन्, “छोराकै राम्रो हुने आशामा स्कुल भर्ना गरिएको थियो । तर, उही खुसी भएन । त्यसैले स्कुल लानै छोडियो ।” त्यसपछि हरपल रमाले आफ्नै साथमा राख्न थालिन् । 

आविष्कारलाई बाहिर–भित्र गर्न आमाबाबुकै साथ चाहिन्छ । खान, लाउन पनि । दिसा–पिसाब आउने बेला कराउँछन्, तत्काल शौचालय पुर्‍याइएन भने जहाँको त्यहीँ । राती कोल्टे फेर्न सक्दैनन्, चिच्याउँछन् । विन्दुकान्त र रमाले मुस्किलले कुनै रात लगातार तीन घन्टा निदाउन पाउँछन् । विपनामा त आविष्कारको मुखबाट कुनै शब्द खसेको छैन तर विन्दुकान्त उनी हाँसेको, खेलेको, बोलेको सपना बरोबर देख्छन् । तर, त्यो खुसी क्षणभरमै भताभुंग हुन्छ, जब आविष्कार पिसाब आएर वा कोल्टे फर्कनु परेर चिच्याउँछन् । 

तर, आविष्कार मोबाइल कानमा लगेर सुन्छन् । टीभीमा कार्टुन आउँदा दंग पर्छन् । कहिले बहिनीसँग खेलेजस्तो गर्छन् । फुटबल आएको छ भने त रातभर सुत्दैनन् । विन्दुकान्त भन्छन्, “अचम्म त के भने गोल हान्दा रमाउँछ, उफ्रन खोज्छ । त्यसैले उसैको खुसीका लागि पनि रातभर फुटबल हेरिदिनु पर्छ ।” फुटबल हेरिदिन त के भयो र, आविष्कारकै खुसीका लागि घिमिरे दम्पतीले १२ वर्ष आफ्ना हर चाह दबाइरहेका छन् । तैपनि, कत्ति झर्को मान्दैनन्, बरू आत्मीयता अझै बढेको छ । रमाले सुस्केरा हाल्दै सुनाइन्, “हामीले जन्म दियौँ, हामीले नै झिँजो मान्यौँ भने कसले पाल्छ ? भ्याएसम्म खुसी राख्छौँ ।”
ज्वरोले लुटेको खुसी 
एउटा छोरी छँदै थिइन्, दोस्रो सन्तानको रूपमा छोरो जन्मिएपछि ललितपुर, बुङमतीका सानुमाया डंगोल र सूर्यनारायण डंगोलका भुइँमा खुट्टा थिएनन् । आयस्तर सामान्य भए पनि छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिएर ठूलो मान्छे बनाउने सपना साँच्न थाल्यो यो दम्पतीले । हसिलो मुहार र खाइलाग्दो ज्यानका छोरा सुवर्ण पढाइमा तेज थिए । चित्रकारितामा उस्तै अब्बल । पेन्टिङ प्रतियोगितामा जहाँ भाग लिन्थे, सधैँ प्रथम । २ बाट ३ कक्षामा जाँदा त स्कुल फस्ट । 

४ कक्षामा उक्लँदा पनि पहिलो हुन्थे होलान् तर तीन विषयको परीक्षा दिएपछि ज्वरो आयो । जाबो ज्वरो न हो भन्ने भयो । सानुमाया र सूर्यनारायण आत्तिएनन् किनभने त्यसअगाडि सुवर्ण बिरामी भएको उनीहरूलाई थाहै थिएन । त्यसैले खोकनाकै स्थानीय औषधि पसलबाट औषधि ल्याएर खुवाए । निको भएन । 

एक साँझ ज्वरोले निकै च्याप्यो, सुवर्ण लगलग काम्न थाले । अत्तालिँदै डाक्टरलाई फोन गरे । डाक्टरकै सुझाव अनुसार एक बिर्को खुवाइरहेको औषधि दुई बिर्को खुवाए । मिनेट बित्न पाएको थिएन, सुवर्णको शरीर फ्रिजमा राखेजस्तो चिसो भयो । उफ्रँदै ‘आकाशमा उड्छु’, ‘आकाशमा नाच्छु’ जस्ता बेसमझका कुरा गर्न थाले । थेग्नै नसकेपछि पाटन अस्पताल पुर्‍याइयो । अस्पतालभित्र छोरो बेहोस, बाहिर आमा सानुमाया । पछि थाहा भयो, मेनेन्जाइटिसले उनको मस्तिष्क पक्षघात भएछ । आखिरमा त्यही जाबो ज्वरोले सुवर्णको सर्वस्व हरण गर्‍यो । डंगोल दम्पतीलाई निष्पट अँध्यारोमा धकेलिदियो ।

आठ वर्षपछि सुवर्ण फेरि काखे बच्चाजस्तै पूर्ण रूपमा आमाबाबुमा आश्रित भए । मस्तिष्क मात्र होइन, शरीरका धेरै अंगले काम गर्दैनथे । खुवाउने, पियाउने, सुताउने, उठाउने सबै अभिभावकको काँधमा । नमीठो सपनाजस्तो लाग्ने कठोर यथार्थ थियो त्यो । “तेज र चञ्चल छोरा एकाएक त्यस्तो भयो । रुँदा रुँदा आँसु नै सकियो,” सानुमाया भन्छिन्, “तर, रोएर मात्र के गर्ने, बिस्तारै यही छोरासँग रमाउने बानी पर्‍यो ।” अहिले सुवर्ण २३ वर्ष पुगे, बुहारी भित्र्याउनुपर्ने उमेरको छोराको पालनपोषण र स्याहारसुसारमै बित्छ सानुमायाको दिन र रात । पहिले त बोकेर टाढाटाढासम्म लैजान्थिन्, अहिले त लाठे भए, घरभित्र–बाहिर गराउन पनि मुस्किल पर्छ उनलाई । तैपनि, सकिनसकी सुवर्णकै स्याहारमा जुटिरहेकी छन् । पति सूर्यनारायण गाडी चलाएर घरको गर्जो टार्छन् । 

अहिले सुवर्ण अरूले भनेको सबै कुरा बुझ्छन् तर प्रतिक्रिया व्यक्त गर्न सक्दैनन् । जस्तो : कसैले उनी बच्चा हुँदाको कुरा गर्‍यो भने एकोहोरो हुन्छन्, आँखामा आँसु छचल्किन्छ । सानुमाया सुनाउँछिन्, “घरव्यवहारका दु:खका कुरा सुन्यो भने रातभर निदाउँदैन, खाना पनि खाँदैन । मैले गर्दा बुबाआमा र दिदीले दु:ख पाएका छन् भन्ने हेक्का छ उसलाई ।” त्यसैले मन चहर्‍याए पनि सानुमाया सुवर्णका अगाडि दु:ख र आँसु लुकाउँछिन्, हाँसो–मजाक गर्छिन्, उसको पेट खाली पार्दिनन् । १५ वर्षदेखि यसरी नै बितिरहेको छ उनको दैनिकी । कहिलेसम्म चल्छ, थाहा छैन तर उनी छोरालाई आफूबाट पर कतै राख्ने कुरा सोच्नै सक्दिनन् । अर्को सन्तान नजन्माएबाट पनि सुवर्णप्रतिको उनको असिम प्रेम अन्दाज लगाउन काफी छ ।
आशा र आयुषा
काठमाडौँ–१६, नयाँवस्तीमा हरिशरण काफ्लेको घरको बैठक कोठामा छिर्नेबित्तिकै देखिन्छ, भित्तामा एउटी फुच्ची मुस्कुराएको तस्बिर । मुहार उज्यालो छ, आँखा शान्त र शौम्य, लरक्क फर्काइएको केश । तस्बिर यति सुन्दर छ कि आँखा त्यहाँबाट पर सर्नै मान्दैन । तर, तस्बिरमा राजकुमारीझैँ देखिने आयुषा जन्मँदा मानसिक पक्षघातको बीउ उनीसँगै आयो । चिकित्सा भाषामा यसलाई सेरिबल्स पाल्सी भन्छन्, जसले मस्तिष्कको वृद्धि विकासलाई रोक्छ । आमा राधिका काफ्लेले उनलाई काखमा राख्दै भनिन्, “१२ वर्षकी पुगी, ६ महिनाको बच्चाझैँ छे । सबै हेरचाह हामीले नै गर्नुपर्छ ।” खुसीको कुरा के छ भने लामो थेरापीपश्चात् उनी सामान्य हिँडडुल गर्न सक्नेचाहिँ भएकी छन् । 

बाराको डुमरवानामा जन्मिएकी हुन्, आयुषा । एकोहोरो रुवाइबाहेक अरू शारीरिक अवस्था सामान्य नै थियो । नौ महिना बित्दा पनि उनले ‘आई कन्ट्याक्ट’ गरिनन् अर्थात् आँखा जुधाइनन् । प्राकृतिक विकासक्रम अनुसार त्यतिबेलासम्म बामे सर्ने, तोते बोल्ने गर्नुपथ्र्यो । तर, आयुषामा केही परिवर्तन आएन । काफ्ले दम्पती उपचार गराउन वीरगन्ज पुगे । डाक्टरले बच्चाको मानसिक विकास हुन नसकेको बताउँदै सिकाउँदा केही प्रगति हुन सक्छ तर त्यो पनि भगवान्कै भरोसामा रहेको खुलस्त गरिदिए । तर, छोरीको हँसिलो मुहार देखेपछि काफ्ले दम्पतीले विश्वासै गरेनन् । बरू, काठमाडौँ ल्याएर जँचाए । यहाँ आएपछि पनि त्यही ताल । नियमित फिजियोथेरापी गर्दा केही प्रगति हुनसक्ने आश देखाए डाक्टरले । कानुन व्यवसायी हरिशरण सम्झन्छन्, “थेरापी गर्नका लागि हामीले काठमाडौँ बस्ने निर्णय गर्‍याँै । जतिबेला हाम्रो खल्तीमा केही हजार पनि थिएन ।” 

एकातिर छोरीको उपचार खर्च, अर्कोतिर दुई जनाको दैनिकी खर्च । कमाइ सुको थिएन । त्यसमाथि बच्चामा मानसिक अपांगता छ भन्ने थाहा पाएपछि डेरा पाउनै आपत् पर्‍यो । सुरुका केही महिना कहिले साथी त कहिले आफन्तकहाँ शरण लिएर नियमित थेरापी गराइरहे । आयुषा ११ महिना हुँदादेखि चलेको यो उपक्रम उनी छैटौँ वसन्त पार गरुन्जेल चलिरह्यो । सार्वजनिक यातायात चढाउन मुस्किल पर्ने भएकाले राधिका उनलाई बोकेरै अस्पताल पुर्‍याउँथिन् । परिणामत: आमाको ढाडमा समस्या देखियो । ढाडको समस्या यति बढेको छ कि डाक्टरहरूले गह्रौँ चीज बोक्न प्रतिबन्ध लगाएका छन्, नियमित चेकजाँच गर्नुपर्छ । तैपनि, सुर्ता छैन, “केही पाइला भए पनि छोरी हिँड्न सक्ने भइन् । त्यसैले मेरो दुखाइको पर्वाह लाग्दैन ।” सुरुआती दिनमा काफ्ले दम्पतीले मैनबत्ती बनाउने, भारी बोक्ने, तरकारी बेच्नेदेखि मसला प्याक गर्ने कुनै काम बाँकी राखेनन्, छोरीको उपचार गर्न र काठमाडाँैमा टिक्न ।

एक्लै भइन् भने आयुषा रुन्छिन्, त्यसैले हरिशरण अफिस गए पनि राधिका एकपल छोड् दिनन् । पछि छोरा जन्मिँदा पनि उनको ध्यान आयुषासँगै थियो । राती सुत्दा निकै ख्याल गर्नुपर्छ, दिसा–पिसाब ओछ्यानमै गर्छिन् । फकाइ–फकाइ खाना खुवाउँदा एक घन्टा लाग्छ । कहिल्यै तातो भात खान पाउँदैनन् । पहिले पहिले त बाहिर घुमाउन लैजान्थिन्, अहिले त बोक्न सक्दिनन्, त्यसैले पातलिएको छ । फेरि बाहिर लैजाँदा धेरैले मायाभन्दा दया र करुणा देखाउँछन्, फर्कीफर्की हेर्छन् । कोही नाक खुम्च्याउँछन् त कोही सान्त्वना दिएजस्तो गर्छन् । मन अमिलो हुन्छ । अघिल्लो वर्ष मनकामना मन्दिर जाँदा कसैले आयुषाको हातमा सय रुपियाँ राखिदियो । छोरी र आफ्नो पीडाभन्दा दयाको पात्रका रूपमा समाजले गर्ने यस्तो व्यवहारले मन बढी पोल्ने हरिशरण दुखेसो पोख्छन् । 

उनी मात्र होइन, अपांगता भएका सन्तानका आमअभिभावकको साझा भोगाइ हो यो । तर, बाहिरियाले जे भने पनि सन्तानको माया झन् उकालिन्छ, बेपर्वाह । राधिका आत्मविश्वासी सुनिइन्, “भोलि हामीलाई के होला, आयुषालाई के होला भनेर कहिल्यै सोच्दैनौँ । जे हुन्छ राम्रो हुन्छ । त्यसैले आज हामी आयुषासँग रमाइरहेका छौँ ।”
 
हेरचाहले जोगाएको जीवन
यदि क्षितिज ज्ञवाली स्वस्थ हुँदी हुन् त कसैकी दुलही बनिसक्थिन् । २९ वर्ष भनेको त आफैँ आमा भइसक्ने उमेर पनि हो । तर, नियतिको खेल कस्तो छ भने शारीरिक विकास भए पनि मानसिक रूपमा क्षितिज अझैँ काखे बच्चाजस्तै छिन् । आमा सरस्वती र बुबा प्रदीप ज्ञवालीको काखमा लुटपुटिरहन्छिन् । चेतना करिब शून्य छ । हातखुट्टा राम्रोसँग चल्दैन । सम्झायो भने मात्र दिसा–पिसाब गर्न शौचालय जान्छिन्, होइन भने जहाँको त्यहीँ । क्षितिजलाई देख्दा जति माया लाग्छ, त्यसभन्दा अथाह सम्मान पलाएर आउँछ, ज्ञवाली दम्पतीले छोरीका खातिर गरेको त्याग हेर्दा । सरस्वतीले त उनकै खातिर आफ्नो सामाजिक र वैयक्तिक चाहलाई बलिदान दिएको दुई दशक कटिसकेको छ । 

यो पीडाको कथा सुरु हुन्छ, ०४४ पुसबाट । अहिलेको सत्ताधारी दल नेकपा एमालेको सचिव रहेका प्रदीप त्यति बेला राजतन्त्रविरोधी आन्दोलनमा होमिएका थिए भूमिगत रूपमा । सरस्वती दुई जीउकी थिइन् । प्रहरी खानतलासी गर्न गाउँ आएको खबर पाउनासाथ सरस्वती आत्तिइन् । किनभने, अन्तरपार्टी निर्देशन नामक दस्तावेज र वर्गसंघर्ष नामको पुस्तिका घरमा थिए, प्रहरीले देखे दिनु दु:ख दिन्थे । त्यसैले सरस्वती हतारिँदै तिनलाई गोठमा लुुकाउन पुगिन् । फर्कंदा आँगनमा प्रहरीको बुट बजेजस्तो लाग्यो, मुटुको धड्कन बढ्यो, लिस्नाको माथिल्लो तहबाट डङरङै झरिन् । सात महिनाको गर्भ बोकेको पेट भैँसी बाँध्ने कीलोमा बजारियो । खासमा त्यहाँ उनको पेट होइन, जन्मनै नपाएको एउटा निर्दोष शिशुको भाग्य र ज्ञवाली दम्पतीको सपना बजारिएको थियो । सरस्वती बेहोस भइन् । पति प्रदीप घरमा थिएनन्, ससुरा र आफन्तले अस्पताल पुर्‍याए । सामान्य नै छ त भनियो तर समय नपुग्दै आठ महिनामै क्षितिज यो धर्तीमा आइन् । सरस्वती भक्कानिइन्, “तौल जम्मा डेढ किलो थियो, कसैले बाँच्छे भन्दैनथे ।” तर, भगवान्ले उनको मानसिक विकास रोके पनि विश्वासैचाहिँ लगेनन् । 

चार महिना बित्दा पनि बच्चाले आँखा नजुधाएपछि ज्ञवाली दम्पतीले भैरहवा आँखा अस्पताल पुर्‍याए । केही पत्तो लागेन । त्यतिबेला नाम चलेका बालविशेषज्ञ चिकित्सकहरू हेमाङ्गक्षितिज, रणेन्द्र श्रेष्ठ आदि सबैलाई देखाए । पछि डा रामेश्वर श्रेष्ठले भनिदिए, क्षितिजलाई मानसिक पक्षघात भएको छ, उपचार हुँदैन । टाउकोमा बज्र ठोक्किएको भन्दा कठोर पल थियो त्यो, ज्ञवाली दम्पतीका लागि । 
राजनीतिमा भएकाले स्वाभाविक थियो, प्रदीपको कमाइ थिएन । घरखर्च चलाउनै पर्‍यो, सरस्वती पढाउँथिन् । स्कुल गएको बेला सासूले हेर्थिन्, साँझ–बिहान आफैँले । दिनहरू बिती नै रहेका थिए । ०५३ मा सासू बितेपछि सरस्वतीमाथि अर्को बज्रपात आइलाग्यो । त्यहीँबाट अन्त्य भयो, उनको सामाजिक र व्यावसायिक जीवन । एकाध दिन सहयोगी राखेर उनी अफिस नगएकी पनि होइनन् तर फर्कंदा छोरी आलसतालस गरेर रोइरहेकी हुन्थिन् । न खानको टुंगो हुन्थ्यो, न दिसा–पिसाब । “अफिस जाँदा छोरीलाई यातना दिएजस्तो आभाष भयो, मन भतभती पोल्न थाल्यो, त्यसैले ६ महिनापछि स्थायी हुने बुटवल नगरपालिकाको जागिरबाट राजीनामा दिएँ,” क्षितिजको टाउको काखमा राख्दै सरस्वतीले सुनाइन्, “त्यसपछिका हरेक पल मैले छोरीसँगै बिताएकी छु ।” जति बेला उनी ३४ वर्षकी मात्र थिइन्, अखिल नेपाल महिला संघकी नेतृ सरस्वतीले राजनीतिक लाभ लिने धेरै मौका आयो तर छोरीको हेरचाहका खातिर लाभतिर कहिल्यै लालसा देखाइनन् । 

सरस्वतीलाई भने केही फिक्री छैन । किनभने, चिकित्सकहरूले १० वर्ष कट्दिनन् भनेकी क्षितिज अर्को वर्ष ३० पुग्छिन् । केही महिनाअघि डा रणेन्द्र श्रेष्ठले शंखमूलस्थित सरस्वतीको घर पुगेर भने, ‘तपाईंको माया र हेरचाह नभएको हुँदो हो त क्षितिज सायदै हामीसँग हुन्थिन् ।’ सरस्वतीका आँखा भरिए, “त्यसैले जीवनमा के गुमाएँ भनेर कहिल्यै हिसाब राख्दिनँ । क्षितिजको ओठको मुस्कानले सबथोक भुलाउँछ ।” प्रदीपको साथ र हौसलाले उनको आत्मविश्वास बढाएको छ । 

क्षितिजभन्दा पछि दुई छोरा जन्मिए । तर, क्षितिजलाई एक रात छोड् नुपर्दा सरस्वतीको मन भारी हुन्छ । ९२ वर्षीया आफ्नो बाबुसँग वर्षमा एक रात बिताउन पाउँदिनन् सरस्वती । आफूलाई जन्माउनेभन्दा आफूले जन्म दिएकाको बढी माया लाग्छ भनेको सायद यही हो । दिउँसो पनि सकेसम्म घरबाट निक्लिनन् । प्रदीप दुईपटक सांसद र एकपटक मन्त्री भए । चाहेको भए उनले धेरै ठाउँ घुम्न सक्थिन् तरक्षितिजको मायाले कहीँ जानै दिएन । मायाको सागर त कति गहिरो छ कति । दबेको स्वरमा उनले भनिन्, “अघिल्लो वर्ष क्षितिज बिरामी हुँदा रातभर आँखा झिमिक्क भएन, रसाइरहे । मेरो ज्यानको भन्दा उनको बढी माया लाग्छ ।” 

यति भनिसकेपछि सरस्वतीले घतलाग्दो कुरा सुनाइन् । जागिर छोडेर क्षितिजको सामीप्यमा रहन थालेपछि मन्दिर जान उतिसारो रुचाउँदिनन् । किनभने, उनको घरमै क्षितिजरूपी भगवान् छिन । दुई दशक अनवरत छोरीको स्याहारमा दत्तचित्त भएकी सरस्वतीको निष्कर्ष छ, “भगवान् हुन्छन् भने क्षितिजभन्दा पवित्र र निर्दोष हुन्छन् जस्तो लाग्दैन । त्यसैले ऊ मेरा लागि भगवान्सरह छे ।” 
सरस्वती मात्र होइन, अपांगता भएका सन्तान हुर्काइरहेका आमअभिभावकको पेटबोली हो यो । हुन पनि उनीहरूका लागि अशक्त सन्तान नियतिले जुराइदिएका भगवान् नै हुन् । अनि, ती भगवान्लाई हुर्काउने सरस्वतीजस्ता अभिभावकलाई चाहिँ जे विशेषण दिए पनि अपुग नै हुन्छ, सायद ।

(तस्बिरहरू : लक्ष्मीप्रसाद ङाखुसी)

No comments:

Post a Comment