Friday, April 8, 2016

राडारबाट २५ हजार यात्रु बोकेका ८५ जहाज हराए

फोटो :एजेन्सी
कोलकाता: शुक्रबार बिहान कोलकाताको एयर ट्राफिक कन्ट्रोलसँग करिब २५ हजार यात्रु बोकेका ८५ वटा जहाजको सम्पर्क १० मिनेटसम्म टुट्न पुग्यो । 
 
जब ८५ जहाजको सम्पर्क १० मिनेटसम्म टुट्यो तब कोलकाता विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरदेखि प्रशासक र सुरक्षाकर्मीसम्मको श्वास रोकिन पुग्यो । 
 
एयर ट्राफिक कन्ट्रोल रुमसँग १० मिनेटसम्म सम्पर्क टुटेका बेला विमानस्थल प्रशासनले जहाज र जहाजमा सवार यात्रुको जीवन खतरामा परेको निचोड निकालिसकेका थिए । 
 
मल्टीपल रडार र भीएचएफ रेडियो करिब एक घन्टा ४० मिनेटका लागि ठप्प भए । यस्तो अवस्थामा ३५ जना कन्ट्रोलरले मोबाइल फोनमार्फत नजिकका विमानस्थलका एटीसीहरुसँग सम्पर्क गरे । 
 
उनीहरुले मोबाइल फोनबाट नजिकका एटीसीसँग सम्पर्क गरेर आकाशका  जहाज र उनीहरुबीचको सम्पर्कको अवस्थाबारे जानकारी लिए । 
 
बिहान साढे सात बजेको समयमा जहाजको लोकेशन बताउने एटीसीको स्क्रीन पूरै खाली भएको थियो । यसले हवाईजहाजसँगको सम्पर्क पूर्णरुपमा विच्छेद भएको थियो । 
 
कन्ट्रोलरले भीएचएफमार्फत सम्पर्क गर्ने कोशिस गरे तर त्यसबाट पनि उनीहरु जहाजसँग कुरा गर्न असफल रहे । 
 
समाचार स्रोतलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यले जनाए अनुसार कोलकाता विमानस्थलको बीएसएनएल नेट्वर्क ठप्प हुन पुग्दा यस्तो अवस्था आएको हो । 
 
इन्टरनेट प्रोटोकलमार्फत चल्ने लाइनबाट नै पाइलटलाई सम्पर्क गरिन्छ । यसमार्फत आकाशमा रहेका जहाजहरुबीचको दुरीबारे एटीसीले सूचना दिइ सावधानी अपनाउन निर्देशन दिन्छन् । 
 
'आज बिहान जे भयो, त्यो एक नराम्रो सपनासरह थियो । यहाँसम्म कि विमानस्थलमा ल्यान्डलाइन फोनले पनि काम गरेको थिएन', एक ट्राफिक कन्ट्रोलरले भने, 'तर हामीले नागपुर र वाराणसीका एटीसीसँग सम्पर्क गर्यौं, जसले पाइलटसम्म सूचना पुर्याउन मद्दत गर्यो।'
 
नागरिक उड्डयन र भारतीय हवाईअड्डा प्राधिकरणका डीजीले शुक्रबार बिहान साढे सात बजे आसपासको समयमा भएको यो घटनाको जाँच गरिने बताएका छन् ।

No comments:

Post a Comment