Wednesday, April 6, 2016

गुन्डाका घरमा हतियारका डंगुर !

फोटो :फाइल फोटो
काठमाडौं: गुन्डागर्दीको आरोपमा ललितपुर प्रहरीले पक्राउ गरेका विश्वक्रान्ति सिंहबाट बरामद हतियारबारे प्रहरी आश्चर्यचकित बनेको छ । ललितपुरको सानेपामा २० वर्षदेखि बस्दै आएका सिंहलाई पक्राउ गर्न पुगेका प्रहरीले हतियारका डंगुर फेला पारेपछि लाइसेन्स लिएको हो वा होइन भन्नेबारे अनुसन्धान थालेको छ ।
 
ठेक्कापट्टामा असुली गर्ने, व्यवसायीलाई धम्की दिएर रकम असुली गर्ने, लेनदेनको रकम असुली गरी कमिसन लिने, गुन्डागर्दी, ग्याङफाइट, लागूऔषध कारोबारजस्ता अपराधमा मुछिएका सिंहको कोठा खानतलासी गर्दा प्रहरीले कोर्रासमेत बरामद गरेको छ ।
 
सिंहले हतियार राख्ने लाइसेन्स नै लिए पनि ठूलो परिमाणमा गोली र दुई वटा स्वचालित बन्दुक राखेको पाएपछि प्रहरीले उनीमाथि अनुसन्धानको दायरा फराकिलो पारेको छ ।
 
प्रहरीले सिंहको डेराबाट सर्ट गन र त्यसमा लाग्ने २८ राउन्ड गोली, ३७५ बोरको एक नाले बन्दुक र त्यसमा लाग्ने एक ३० राउन्ड गोली, खैरो हेरोइनजस्तो देखिने धुलो, केही चिनियाँ पैसा, सी हर्स, दुईवटा तमसुक, दुईवटा राहदानी बरामद गरेको छ ।
 
मकवानपुर घर भएर सानेपा बस्दै आएका सिंह यसअघि घूससहित पक्राउ परेका ललितपुर परिसरकै तत्कालीन मुद्दा शाखाका डीएसपी दयानिधि ज्ञवालीसँग समेत जोडिएका थिए । पेट्रोलपम्पको मुद्दा मिलाइदिने भन्दै पैसा लेनदेनमा मध्यस्थकर्ताको भूमिका खेलेका सिंहलाई अख्तियारले पक्राउ गरेर लगे पनि उनी छुटेका थिए । डीएसपी ज्ञवाली र अन्य दुई प्रहरी अधिकृत अख्तियारकै अनुसन्धानमा छन् ।
 
घटना सार्वजनिक गर्न बुधबार महानगरीय प्रहरी परिसर ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा एसपी अशोक सिंहले भने, ‘गत साता झम्सिखेलमा गुन्डागर्दी भएको उजुरी आएपछि घटना अनुसन्धान गर्दा सिंहको संलग्नता खुलेपछि पक्राउ गर्न डेरा पुग्दा हतियारका डंगुर भेटिए । यसबारे विस्तृत अनुसन्धान गर्छौं ।' सिंहले हतियारको लाइसेन्स देखाएका छैनन् ।
 
परिसरका प्रमुख एसएसपी पीताम्बर अधिकारीले सिंहले राखेका सबै हतियार लाइसेन्स लिए–नलिएको बारे जिल्ला प्रशासन कार्यालयमा बुझ्ने काम भइरहेको बताए । प्रहरीले बरामद गरेको तमसुकमा अम्बरबहादुर खड्काले लिएको २५ लाख रुपैयाँ समयमा नबुझाएपछि उनको गाडी सिंहका नाममा गरिदिन राजी भएको व्यहोरा उल्लेख छ ।

No comments:

Post a Comment