Wednesday, April 6, 2016

के हो पानामा पेपर्स? यसले किन संसारभर हल्लीखल्ली मच्चाएको छ?

मध्य अमेरिकी देश पानामास्थित एउटा ल फर्म मोसाक फोन्सेकाबाट लिक भएका ११ करोड भन्दाबढी कागजातलाई 'पानामा पेपर्स'को नाम दिएको छ। यी काजातमा कर छली प्रयोजनका लागि विदेशमा छद्म नाममा कम्पनी खोलेको आशंका गरिएका शक्तिशाली राजनीतिज्ञ, तिनका परिवार र विभिन्न मुलुकका प्रतिष्ठित व्यक्तिहरुको नामावली र तिनको कारोबार संलग्न छ।
पनामास्थित फोन्सेका ल फर्मले कर छल्ने प्रयोजनका लागि विदेशमा खोलिएका कम्पनीहरुलाई कानुनी तथा प्रशासनिक सहयोग गर्छ। फ़ोन्सेकाले ४२ भन्दा बढी मुलुकमा आफ्नो कार्यालय रहेको र आफ्ना ६०० जना कर्मचारी रहेको जनाएको छ। फोन्सेकाका कागजातहरु गोप्य रुपमा जर्मनीको एउटा पत्रिकाले प्राप्त गरेको थियो। सो पत्रिकाले ति कागजातहरु खोजमूलक पत्रकारहरुको संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्टस (आइसिआइजे)लाई उपलब्ध गरायो।
आइसिआइजे खोजपत्रकारितामा साझेदारी गरिरहेका समाचार संस्था बेलायतका बीबीसी, गार्जियन तथा भारतको इण्डियन एक्सप्रेस लगायतसंगको सहकार्यमा अनुसन्धान सुरु गरे। संसारका विभिन्न ७८ मुलकका पत्रकारहरुले धेरै लामो अनुसन्धान गरेर ती कागजातमा नाम समेटिएका विभिन्न व्यक्ति उनीहरुसँग संग्लग्न कम्पनीको कारोबारको फेरहिस्त सार्वजनिक गर्ने काम सुरु गरेका छन्।
को-को मुछिएका छन् पनामा पेपर्समा?
विभिन्न देशका १४२ राजनीतिज्ञ पानामा पेपर्समा मुछिएका छन्। त्यसमध्ये १२ जना राष्ट्रिय नेताहरु छन्। रसियाका शक्तिशाली राष्ट्रपति भ्ल्यादिमिर पुटिन, पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफ, युक्रेनका राष्ट्रपति पेत्रो पोरोशेन्को, आइसल्याण्डका प्रधानमन्त्री सिग्मंदुर डेभिड गुनलौग्सन, इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकका छोरा अला मुबारक र ब्रिटिस प्रधानमन्त्री डेभिड क्यामरुनका बुबाको नाम पनि मुछिएको छ। 
भारतमा मात्रै ५०० राजनीतिज्ञ, उद्योगपति तथा फिल्मस्टार्सहरुको नाम पानामा पेपर्समा समेटिएको इण्डियन एक्प्रेसले जनाएको छ।  अहिलेसम्म सार्वजनिक भएका भारतीय नाममा अभिनेता अमिताभ बच्चन, अभिनेत्री ऐश्वर्या राय, उद्योगपति समिर गेलौट र केपी सिंहलगायतका छन्। पूर्ण विवरण क्रमश: इन्डियन एक्सप्रेसले छाप्दैछ। 
के पनामा पेपर्समा मुछिएका सबै दोषी हुन्?   
होइन। कर छुटका लागि स्वर्ग मानिने विभिन्न मुलुकमा कम्पनी खोलेर ती कम्पनीमार्फत अन्य मुलुकमा लगानी गर्नु पूर्ण रुपपा कानुनी कुरा हो। राजनीतिक स्थायित्व नभएका तथा कानुनी प्रक्रिया झन्झटिलो र अस्थिर भएका कतिपय मुलुकमा लगानी गर्न जाँदा स्थापित कम्पनीहरुले पनि 'अफसोर' कम्पनीमार्फत लगानी गर्ने गर्छन्। त्यसैले अहिले पानामा पेपर्समा मुछिएका सबै व्यक्तिहरु एकसमान रुपले दोषी भन्न मिल्दैन। 
तर यो पनि सत्य हो राजनीतिज्ञहरुले भ्रष्टाचार मार्फत आर्जित रकम तथा व्यापारीले कालोधन लुकाउन 'अफसोर' कम्पनीहरुको मनग्गे प्रयोग गर्ने गर्छन्। 'अफसोर' कम्पनीको सबैभन्दा धेरै प्रयोग भने कर छल्ने उदेश्यले नै हुनेगर्छ। अन्तर्राष्ट्रिय संचारमाध्यमले कतिपय राजनीतिज्ञले आफ्ना परिवार तथा नजिकका नातागोतामार्फत छद्म विदेशी कम्पनीमा लगानी गरेर सम्पति लुकाएको तथा कर छली गरेको आरोप लागाएका छन्। 
पनामा पेपर्स 'लिक' भएपछि सबैभन्दा विवादको केन्द्रमा छन् रसियाका राष्ट्रपति पुटिन। पुटिनका नजिकका मित्रले दुई अर्व डलर भन्दाबढी रकम रसिया ब्याङ्कबाट अफसोर कम्पनीमा लुकाएको आरोप लागेको छ। पुटिनले भने यो आरोपको खण्डन गरेका छन्।
संसारभर अनुसन्धानका लागि तीब्र दबाब
पनामा पेपर्स लिक भएपछि संसारका धेरै मुलुकका सरकारलाई अनुसन्धान अघि बढाउन दबाब परेको छ। फ्रान्स, स्विडेन, अष्टेलिया, भारत लगायतका मुलुकमा सरकारले अनुसन्धान अघि बढाउन आदेश दिएका छन्। पनामा पेपर्समा समेटिएका थप तथ्यहरु बाहिर आउँदै गर्दा यस्तो दबाब झनै बढ्ने विश्वास गरिएको छ।
एक महिनापछि बेलायतमा हुने भ्रष्टाचारबिरोधी अन्तर्राष्ट्रिय सम्मेलनमा पनि यो विषय उठ्ने पक्का छ। अफसोर लगानीमार्फत हुने अनियमितता रोक्न कडा कदम चल्नुपर्ने बेलायती प्रधानमन्त्री क्यामरुनले बताइसकेका छन्।
आइसिआइजेले अन्तर्राष्ट्रिय स्तरमा हुने वित्तीय भ्रष्टाचार र कर छली तथा अफसोर कम्पनीहरुमार्फत हुने आर्थिक अपराधको अनुसन्धानमा तीब्रता ल्याएपछि यस्ता गतिविधिहरु निरुत्साहित हुँदै जाने अपेक्षा विश्लेषकहरुले राखेका छन्।
विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यममा आएका सामग्रीमा आधारित रहेर तयार पारिएको रिपोर्ट।

No comments:

Post a Comment