Wednesday, April 6, 2016

देउवाले यतिधेरै मत कसरी ल्याए?


Mahendra
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा पनि जित्छन् भन्ने कुरा दलको नेताको परिणाम आउनु आगाडि नै पक्का थियो। तर पार्टी नेता रामचन्द्र पौडेललाई दोब्बर भन्दाबढी मतअन्तरले पराजित गरी देउवा दलको नेता बन्दैछन् भन्ने चाहिँ कसैले पनि सोचेका थिएनन्।
संसदीय दलको विधान संशोधनका लागि चैत २२ गते संसदीय दल र केन्द्रीय समिति बैठक बस्नु अगाडिको दिनसम्म पनि सभापति देउवा र उनी निकट नेताहरूले दलको नेताको निर्वाचनमा १ सय २० देखि १ सय २२ मतसम्म आउनसक्ने आँकलन गरेका थिए।
उता दलको नेताका आकांक्षी पौडेलले दुई वर्षअघि संसदीय दलको नेतामा पूर्व सभापति सुशील कोइरालाले प्राप्त गरेको १ सय ५ मतमा दुई, चार मत थपिन सक्ने तर त्योभन्दा कम नहुने विश्लेषण आफू निकट नेता तथा सांसदहरूसँग गरिरहेका थिए।
पौडेल र उनी निकट नेताहरूले पार्टीको १३ औं महाधिवेशनमा आफूहरूबीचको अन्तरद्वन्द्वका कारण प्राविधिक रुपमा पराजित भए पनि दलको नेतामा सफलता पाउने अपेक्षाका साथ आन्तरिक तयारी गरिरहेका थिए।
तर पछिल्लो तीन दिनभित्रमा पुरानो संस्थापन पक्षभित्र पहिरो नै गयो। देउवाको पक्षमा माहोल अनपेक्षित रुपमा सृजना हुँदै गयो, त्यसको अनुमान पौडेलेले गर्नै सकेनन्।
त्यो माहोलबाट हौसिएका देउवाले दलको नेताको निर्वाचन सुरू हुनुपूर्व बुधबार बिहान भेट्न पुगेका आफू निकट नेता–कार्यकर्तालाई आफूले १ सय ४० भन्दाबढी मत पाउने दाबी गरेर चकित बनाए। जुन दलको नेताको निर्वाचन परिणामले नै पुष्टि गर्यो।
कांग्रेसको २ सय ७ सदस्यमध्ये खसेको २ सय ६ मतमा देउवाले पौडेलको भन्दा दुई तिहाईभन्दा बढी अर्थात् १ सय ३९ मत (६८ प्रतिशत)ल्याएर दलको नेता बने। जबकि, पौडेलले ६७ मतमात्रै पाए। प्रतिशतका अाधारमा पाैडेलले पाएकाे उक्त मत ३२ प्रतिशतमात्र हाे। 
यतिधेरै मत कसरी ल्याए?
एक महिनाअघि सम्पन्न पार्टीको महाधिवेशनबाट सभापतिमा निर्वाचित हुदाँखेरि नै देउवाले संसदीय दलको नेतामा पनि जित्ने स्पष्ट संकेत देखिएको थियो।
खासगरी दुई वर्षअगाडि सम्पन्न संसदीय दलको नेताको निर्वाचनमा खसेको १ सय ९४ मतमध्ये तत्कालीन सभापति सुशील कोइरालाले १ सय ५ मत ल्याएर देउवालाई १६ मतको अन्तरले पराजित गरेका थिए।  
नेता पौडेलसँगकोे सहमतिअनुसार देउवालाई दलको नेतामा पराजित गर्दै २०७० माघको अन्तिम साता कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएर २०७२ असोजसम्म सरकार सञ्चालन पनि गरे।
त्योबीचको समयमा कोइराला र उनका सहयोगीको व्यवहारका कारण कतिपय पार्टी नेता र सांसदहरूसमेत रुष्ट बन्दै गएका थिए। जसको कारण पुरानो संस्थापन पक्षबाट पार्टी र संसदमा स्थापित नेताहरू मानबहादुर विश्वकर्मा, केशवकुमार बुढाथोकी, चन्द्र भण्डारीदेखि कोइराला परिवारको गृहजिल्ला मोरङका पार्टी सभापति एवम् सांसद अमृत अर्यालसम्मले कोइराला खेमाबाट नाता तोड्दै देउवासँगको सामीप्यता बढाए।
त्यतिमात्रै होइन, कोइरालाले केन्द्रीय समितिमा मनोनित गरेका महोत्तरीका नेता श्याम घिमिरेले पनि कोइरालाको साथ छोड्दै देउवासँग निकट बन्न पुगे।
त्यसको अलवा संविधान निर्माणको प्रक्रियामा कोइरालासँग चिढिएका सांसद अमरेशकुमार सिंहदेखि सुरेन्द्रप्रसाद चौधरीले कोइराला र पौडेलभन्दा बरु देउवा नै ठिक भन्दै देउवासँग सम्बन्ध सुधार गर्दै गए।
पार्टीको १२ औं महाधिवेशन यताको साढे पाँच वर्षको अवधिमा देउवा समूहबाट केन्द्रीय सदस्य बनेका नेता मिनेन्द्र रिजालबाहेक अरु कुनै नेताले देउवाको साथ छोडेनन्।
बरु, पार्टी महाधिवेशनको बीचमा माघ २५ गते सभापति सुशील कोइरालाको निधन भएपछि कोइराला पक्षभित्रै ठूलो विग्रह सुरू भयो।
कोइरालाका महामन्त्री कृष्णप्रसाद सिटौला र गगन थापासहितको समूहले विद्रोह गर्दै १३ औं महाधिवेशनमा उम्मेदवारी दिए भने अर्कोतर्फ नेता पौडेलले आफ्नो समूहको व्यवस्थापनमा एकपछि अर्को कमजोरी गर्दै गए।
त्यसबाट असन्तुष्ट बनेका पार्टी नेता कूलबहादुर गुरुङ, अर्जुननरसिंह केसीदेखि सूर्यमान गुरुङ, मीना सुब्बा, अर्जुन जोशीसमेत पार्टी सभापतिको उम्मेदवारी घोषणासभामा उपस्थित भएर देउवाको समूहबाट उम्मेदवार बने। सांसदहरू जगदिश्वरनरसिंह केसी, मीठू मल्लले पनि देउवालाई सभापतिमा सघाए।
विगत लामो समयदेखि पार्टी नेता गिरिजाप्रसाद कोइरालादेखि सुशील कोइरालासँग समेत अत्यन्त नजिक रहेर काम गरेका तराई–मधेसका चर्चित नेता फरमुल्लाह मन्सुरले पनि उम्मेदवारी दर्ता गर्नु केही समयअगाडि देउवासँग हात मिलाउँदै उनैको खेमाबाट केन्द्रीय सदस्य बने।
संविधान निर्माणको क्रममा मधेसीहरूको अधिकार र पहिचानसँगै सीमांकनको विषयलाई लिएर देउवासँग रुष्ट भएका दुई नम्बर प्रदेशका कतिपय सांसदहरु रामअयोध्याप्रसाद यादव, मधु शाही, रामचन्द्र यादव र दिनेश परसैला यादवसम्मलाई मन्सुरको पछिल्लो निर्णयले प्रभावित पार्यो।
पार्टीको सभापति पदमा दोस्रो चरणको निर्वाचनमा देउवालाई नेता सिटौला र उनको पक्षमा रहेका सांसददेखि महाधिवेशन प्रतिनिधिले सहयोग गरे र उनी सभापतिमा ठूलो मतअन्तरले विजयी बने।
देउवा सभापतिमा चुनिएपछि सिटौला र उनको साथमा रहेका सांसदहरू गगन थापा, भीमसेनदास श्रेष्ठ, उषा गुरुङ, तारामान गुरुङ, अमृतलाल राजवंशी, सुधीर शिवाकोटी, गणेश विमली पनि देउवालाई दलको नेतामा समर्थन गर्न तयार भए।
पार्टी सभापति र दलको नेताको चुनावबीचमा को–को गए देउवासँग?
कोइरालाको निधन र पौडेलको पराजयपश्चात् कतिपय पुरानो संस्थापन पक्षका सांसदहरू आफ्नो राजनीतिक भविश्यकोबारे चिन्तित बन्दै गएका थिए।
उनीहरूको चासो र चिन्तालाई निवारण गर्दै उनीहरूको राजनीतिक सुरक्षा दिने भरपर्दो आश्वासन नेता पौडेलदेखि महामन्त्री शशांक कोइराला वा प्रकाशमान सिंहबाट उनीहरूले पाउन सकेनन्।
त्यसको ठिक विपरीत सभापति पदमा निर्वाचित भएलगत्तै देउवाले आफ्ना सहयोगीहरूलाई दलको नेतामा समर्थन जुटाउन अर्को पक्षका सांसदहरुसँग कुरा गर्न खटाए।
फलस्वरुप, सुर्खेतका सांसद तप्त विष्टदेखि दाङका सांसद राजु खनालदेखि सिन्धुलीका सांसद मोहन बराल, कौशर शाहसम्मले सभापति देउवासँग प्रत्यक्ष कुराकानी गरी दलको नेतामा सहयोग गर्न तयार भए।
त्यतिमात्रै होइन, दलको नेतामा उम्मेदवारी दिनु अघिल्लो दिन सोमबार देउवा आफंैले तराई–मधेसमा बलियो पकड भएका कोइराला खेमाका नेता पद्मनारायण चौधरीलाई सहयोगका लागि आग्रह गरे।
पार्टी अधिवेशनमा झिनो मतअन्तरले पराजित थारु समुदायका नेता चौधरीलाई एकातिर महाधिवेशनमा पौडेलको कमजोर व्यवस्थापनले आजित बनाएको थियो भने अर्कोतर्फ सभापति देउवाले नै सहयोगका लागि आग्रह गरेपछि ‘नो’ भन्नसक्ने अवस्था रहेन।
अन्ततः चौधरीले मंगलबार बिहान संसदीय दलको कार्यालयमा पुगेर देउवाको समर्थक बस्न तयार हुँदै त्यहीँबाट पौडेल र अर्का नेता महेश आचार्यलाई फोनमार्फत आफूले दलको नेतामा देउवालाई समर्थन गर्ने जानकारी दिए।
चौधरीको उक्त निर्णयले तराई–मधेसको दुई नम्बर प्रदेशबाट आएका सांसदहरुबीच समेत हलचल ल्यायो। फलस्वरुप चौधरीसँगै सुरेन्द्र यादव, रामचन्द्र यादव, रामचन्द्र चौधरीलाई पनि देउवाको पक्षमा उभिने साहस दियो।
त्यसअलवा देउवाको उम्मेदवारी दर्ता हुनु अगाडि सुशील कोइरालाले आफ्नो गृहजिल्ला बाँकेबाट मनोनित गरेका पाँचजना सांसदहरु आशा विक, मैकुलाल बाल्मिकी, अब्दुल हमित सिद्धिकी, बादशाह कुर्मी, सरवत आरा खानम हलुवाईनी समेतले देउवालाई भेटी आफ्नो सर्मथन जनाए।
यसरी मनोनयन दर्ताकै क्रममा विजयको बलियो आधार बनाएका देउवाले मंगलबार साँझदेखि बुधबार बिहान मतदान हुनु अगाडिसम्म पनि अर्को पक्षमा रहेका सांसदहरुसँग सहयोगको लागि आग्रह गरे।
स्रोतका अनुसार बुधबार बिहानमात्रै देउवाले सांसद सीताराम भण्डारी, प्रकाश शर्मा पौडेल, शारदा पौडेल, लक्ष्मी राई र लालबाबु सिंहलाई भेटी सहयोग मागे।
कसले–कसले सहयोग गरे गोप्य रुपमा?
पछिल्लो समय विकसित घटनाक्रमले सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित हुने कुरामा कसैको शंका थिएन।
तर जब पुरानो संस्थापन पक्षका कतिपय केन्द्रीय सदस्यदेखि सांसदसम्मले देउवा पार्टी र दलको नेता बनेपछिको आफ्नो राजनीतिक भविश्यबारे सोच्न थाले। त्यसपछि दोधारमा परेका त्यी सांसदहरुसम्मले देउवालाई मत दिएको चर्चा बुधबार दिउँसो सिंहदरबारमा चलेको थियो।
यसरी देउवालाई गोप्य रुपमा मतदिने नेतामा पूर्वराष्ट्रपति रामवरण यादव पुत्र चन्द्रमोहन यादवदेखि अमियकुमार यादव, केन्द्रीय सदस्य र कतिपय कोइराला परिवार निकट नेताहरु समेत भएको दाबी देउवा र पौडेल पक्षकै सांसदहरुको रहेको छ।
उनीहरुले खुला रुपमा बाहिर केही नभने पनि भित्रभित्रै देउवालाई मत दिएकै कारण कोइरालासँग पाएको मत भन्दा ५० मत बढी देउवाले पाउन सकेको विश्लेषण सांसद अमरेशकुमार सिंहको रहेको छ।
 

No comments:

Post a Comment