Thursday, April 7, 2016

बहुमतबाट वैद्यलाई कार्वाही गर्दै एकता गर्ने तयारी, एकता भाँडन भारत सक्रिय

resize_image
काठमाडौं, चैत २५ । नेकपा क्रान्तिकारी माओवादीभित्र चुलिएको विवादले नयाँ मोड लिएको छ । पार्टी अध्यक्ष मोहन वैद्य एकता गर्ने विषयमा झनै ‘रिजर्भ’ हुन पुगेपछि एकताका पक्षधरहरुले बहुमतबाट निर्णय गरेर भएपनि एकता गर्ने तयारी थालेका छन् ।
माओवादी घटकहरुबीच एकता अनिवार्य रहेको तर्क दिँदै अधिकांश केन्द्रीय सदस्यहरुले क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकमा धारणा राखेपनि पार्टी अध्यक्ष मोहन वैद्य भने एकता गर्न नहुने कुरामा झनै अडीग भएका हुन । बैठकको शुरुका दिनहरुमा कतिपय अडान छोडेर भएपनि एकता गर्न सकिने मनस्थितिमा पुगेका वैद्यमा केन्द्रीय समितिको बैठक लम्बिँदै जाँदा एकताविरोधी मनोविज्ञान विकास हुँदै गएको एक केन्द्रीय सदस्यले एभरेष्टदैनिकडटकमलाई बताए ।
“किरणजीसहितको एकताको पक्षमा सबै छौं, शुरुमा वहाँ पनि लचिलो नै देखिनुहुन्थ्यो तर अहिले त्यो सम्भावना कम छ ।” ती केन्द्रीय सदस्यले भने, “हरसम्भव प्रयास गर्छौं अझैपनि, मान्नै भएन भने बहुमतीय प्रक्रियाबाट अघि बढ्नुको विकल्प छैन ।” उनले बताए ।
मोहन वैद्यले शुरुदेखि नै विचारको प्रश्न अघि तेस्र्याउँदै एमाओवादीले आफूले भनेका कुराहरु नमानेमा एकता हुन नसक्ने बताउँदै आएका छन् । खासगरी नयाँ जनवादी क्रान्तिको कार्यभार पुरा नभएको उनको बलियो तर्क छ । तर अहिले आएर विचार भन्दा पनि वहाँको मनोविज्ञान नै एकताविरोध ीबनेको ती केन्द्रीय सदस्यले बताए । “विचारको हकमा त पहिला पछि संश्लेषण गर्ने गरी छलफल चलाउन समेत वहाँ राजी हुनुभएको थियो तर अहिले एकाएक वहाँमा एकता नै नगर्ने जबर्जस्त मनोविज्ञानको निर्माण भएको छ ।” उनले बताए ।
खासगरी एकताको चर्चा चुलिँदै जाँदा र बहुमत सदस्यहरु एकताको पक्षमा देखिएपछि यो मनोविज्ञानको विकास भएको उनको जिकिर छ । यस अतिरिक्त एकताको पक्षमा रहेका राम बहादुर थापा लगायतले एमाओवादी अध्यक्ष प्रचण्डसँग निरन्तर एकताका बारेमा छलफल गर्न शुरु गरेपछि वैद्यमा एकताविरोधी मानसिकताको विकास भएको उनले बताए । “वहाँको नेचर नै हो त्यो” उनले भने, “प्रचण्डसँग वहाँको पुरानो तिक्तता र अहिले एकता पक्षधरहरुको प्रचण्डसँग निरन्तर सम्पर्क, यो कुराले वहाँ विचलित हुनु भएको छ ।” उनले बताए ।
बहुमतीय प्रक्रिया अनुसार पार्टीले निर्णय गर्ने स्थितिमा रामबहादुर थापा बादलको नेतृत्वमा एकताको प्रस्ताव पार्टी अध्यक्षलाई बुझाइने छ । उक्त प्रस्तावमा बहुमत सदस्यको हस्ताक्षर भइसकेपछि बहुमतको निर्णय मान्ने अथवा बहुमतको निर्णय नमानेर पार्टी छोड्ने अधिकार वैद्यलाई हुने छ । “पार्टीभित्र बहुमतको निर्णय समेत मान्ने अवस्था नरहे वहाँहरुलाई कारवाही गरेर भएपनि एकता हुन्छ नै” उनले भने ।
क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकमा ६५ प्रतिशत भन्दा बढी सदस्य एकताको पक्षमा रहेका छन् । हालैमात्र वैद्य माओवादीसँग एकता गरेर आएका परिथापा समूहका ३० जना र वैद्य, गजुरेल, कँडेललगायतलाई समर्थन गर्ने २०, २५ जना केन्द्रीय सदस्यबाहेक अरु सबै एकताको पक्षमा रहेका छन् । बहुमतको प्रस्ताव स्वीकार नगर्ने अवस्थामा वैद्यलगायतको समूह अलग हुने निश्चित प्राय देखिएको छ ।
विप्लव र बाबुराम र भारतको सक्रियता
एमाओवादीसँग एकता हुने कुरा निश्चित हुँदै गएपछि एकता भाँड्न भारतले समेत विशेष भूमिका खेलेको खुलासा भएको छ । “भारतका लागि माओवादी विभाजन हुँदा नै फाइदा हुने र एकता हुँदा प्रचण्ड बलियो हुने भएकोले माओवादी घटकभित्रका आफ्ना ‘ब्रोकर’हरुमार्फत एकताविरोधी मनोविज्ञान निर्माण गर्न भारत लागिपरेको छ ।” क्रान्तिकारी माओवादीभित्रको उच्च श्रोतले भन्यो, “सोझै कुनै अमूक व्यक्ति भन्दा पनि बिभिन्न तहबाट त्यो किसिमको मनोविज्ञान निर्माण गर्न भारत सफल भएको छ ।” श्रोतले जानकारी दियो ।
विप्लव माओवादीले समेत क्रान्तिकारी माओवादीका केही नेता कार्यकर्तालाई आफ्नो पार्टीमा ल्याउन एकताविरोधी कसरत गरेको श्रोतले बतायो । विप्लव माओवादीको हालै पाल्पामा सम्पन्न केन्द्रीय समितिको बैठकले एकताविरोधी स्पिरिटको दस्तावेज समेत पारित गरेको छ । तर विप्लवले मोहन वैद्य किरणलाई भने बोक्ने अवस्था देखिँदैन । “विप्लवको कसरत वैद्यलाई एक्लो पारेर केही अन्य नेता, कार्यकर्तालाई लैजाने हो ।” श्रोतले भन्यो, “त्यसैले उनीहरु वैद्य र अन्य नेताहरुसँग निरन्तर सम्पर्कमा रहेका छन् ।”
यता बाबुराम भट्टराईले समेत एकताविरोधीहरुसँग निरन्तर सम्पर्क गरिरहेको उनले बताए । बाबुरामले माओवादलाई परित्याग गरेपनि प्रचण्डसँगको तिक्तता मेट्न उनले ‘एकता गर्नु प्रचण्डका अगाडि समर्पण गर्नुहो ।” भन्ने किसिमले एकताविरुद्ध खेलिरहेको श्रोतले बतायो । एकताकै बारेमा बाबुराम र भारतीय पक्षबीच समेत बेला बखत सम्पर्क भइरहेको समेत श्रोतले बतायो । केन्द्रीय समितिको बैठकपछि बाबुराम र तिनका अन्य केही नेता निरन्तर एकताविरोधीहरुसँग सम्पर्कमा छन् ।” श्रोतले भन्यो ।
स्थिति हेर्दा रामबहादुर थापा बादलको नेतृत्वमा दुई तिहाई पार्टी एमाओवादीसँग एकता हुने अवस्था देखिएको छ । यो अवस्थामा बैद्य, गजुरेल, थापालगायत भने कार्वाही पर्ने अवस्था देखिने छ ।

No comments:

Post a Comment